इन्फुलेन्जा फैलने डरले विद्यालय बन्द

पाल्पा – गोरखनाथ माध्यमिक विद्यालय मित्यालमा  अध्ययनरत विद्यार्थीमा भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण देखापरेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक हप्ताअघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापरेपछि पठनपाठन प्रभावित भएको शिक्षक भुवन थापाले बताए ।

विद्यार्थी र शिक्षकमा समस्या थपिँदै गएपछि जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सिनियर अहेब ईश्वरीप्रसाद न्यौपानेसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।

स्वास्थ्य परीक्षणबाट १२४ जना विद्यार्थी र २० जना शिक्षक कर्मचारीमा भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण देखिएको अर्चले स्वास्थ्य चौकीका प्रमुख मीनबहादुर रानाले बताए । भाइरल इन्फ्लुयन्जा देखिएका विद्यार्थी र शिक्षकलाई जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क औषधि उपचार गरेको छ ।

भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण अन्य व्यक्तिमा सर्ने र सङ्क्रमण सर्ने डरले तीनदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक पूर्णबहादुर सोमैले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *