डाक्टरको लापरबाहीले शिशुको औंला गुम्यो

काठमाडौं- कान्ति बाल अस्पतालमा उपचारक्रममा भएको लापरबाहीले तीनमहिने शिशुले दाहिने हातका सबै औँला गुमाएका छन् । आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको दाहिने हातका पाँचवटै औँला काट्नुपरेको छ।

आन्द्रा बेरिएको अवस्थामा पुस १३ गते कान्तिमा भर्ना गरिएका बालकको त्यसको तीन दिनपछि आन्द्राको शल्यक्रिया गरिएको थियो। शल्यक्रियाका क्रममा शल्यकक्षमा रहेका चिकित्सकसहितको टोलीले लापरबाही गर्दा बालकको हात हिटरले पोलेको थियो।

हिटरले पोलेको विषयमा अस्पतालले बालकका आफन्तलाई तत्काल जानकारी दिएन, पछि त्यसको उपचारमा समेत ध्यान दिएन। आन्द्राको शल्यक्रिया गरेर अप्रेसन थियटरबाट निकालिएको बच्चाको हातमा पट्टी बाँधेको देखेपछि आफन्तले त्यसबारे जानकारी मागेका थिए। बालकका हजुरबुबा बुद्धिसागर अधिकारीका अनुसार त्यतिबेला अस्पतालले कोठा तताउन बालिएको हिटरको रापले बच्चाको हातमा सानो फोका उठेकाले पट्टी बाँधिएको जवाफ दिएको थियो।

‘सानो फोका हो, हामीले ड्रेसिङ गरिदिएका छौँ। नर्मल नै छ। बच्चालाई डिस्चार्ज गर्दा पनि फरक पर्दैन भनेका थिए,’ बुद्धिसागरले भने, ‘उनीहरुले पोखरामै स्वास्थ्य संस्थामा लगेर फेरि ड्रेसिङ गराउनू भनेका थिए।’

कान्तिले पुस २२ गते डिस्चार्ज गरिदियो। पोखरास्थित गण्डकी अस्पतालका चिकित्सकले डे्रसिङ गर्ने क्रममा देखे, हात त कालै हुनेगरी जलेको रहेछ। उनीहरुले बालकका आफन्तलाई औंलाको घाउ शल्यक्रिया नगरी निको नहुने अवस्थामा रहेको बताएपछि उनीहरु छाँगाबाट खसेझैं भए।

त्यसपछि उनीहरु बालकलाई लिएर माघ १ गते कान्तिमै आएका थिए। आन्द्राको शल्यक्रियामा संलग्न चिकित्सक डा. पुष्कर पोखरेललाई भेटेर उनीहरुले बालकको हातबारे जानकारी गराए। बुद्धिसागरका अनुसार शल्यक्रिया गर्ने डाक्टरले कान्तिमा पोलिएको उपचार गर्ने युनिट छैन भन्दै त्रिवि शिक्षण अस्पताल रेफर गरिदिए।

‘पहिले पोल्दा यहीँ उपचार गर्ने अनि हामीलाई कुनै जानकारी नदिने तर पछि अस्पतालमा युनिट नै छैन भनेपछि हामीले पहिले लापरबाही भएको चाल पायौँ,’ उनले भने, ‘त्यसपछि हामीले जुनसुकै हालतमा पनि नातिको उपचार यहीँ गर्नुपर्छ भन्यौँ अनि टिचिङबाट डाक्टर बोलाइयो।’उनका अनुसार जलेको हातका औँलाको समयमै उचित उपचार नहुँदा सबै औँला काट्नुपर्ने अवस्था भइसकेछ।

आफन्तका अनुसार हातका सबै औँला काट्नुपर्ने भएपछि अस्पतालले माघ ४ गते निःशुल्क शल्यक्रिया गरिदियो। त्यसयता बालक अस्पतालमै उपचाररत छन्। अस्पतालले लापरबाही गरी बालकको औँला काट्नुपर्ने अवस्था आएपछि आफन्तले छानबिन गर्न माग गरेका थिए।

अस्पतालले चिकित्सक डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनायो। श्रेष्ठले एक साताअघि नै प्रतिवेदन बुझाइसकेका छन् तर अस्पताल प्रशासनले उक्त प्रतिवेदन गोप्य राखेको छ। उपचारमा संलग्न चिकित्सक पनि एक सातादेखि बिदामा बसेका छन्।

अस्पतालस्रोतका अनुसार छानबिनका क्रममा पनि अस्पतालका तर्फबाट त्रुटि भएको पाइएपछि प्रतिवेदन गोप्य राखिएको हो। छानबिन समितिका संयोजक डा. श्रेष्ठलाई घटनाबारे जिज्ञासा राख्दा ‘छानबिनक्रममा भेटिएका सबै विवरण तयार पारी अस्पताल प्रशासनमा बुझाइएकाले प्रतिवेदनमा भएका कुरा अस्पतालबाटै लिनू’ भन्ने जवाफ दिए।

अस्पताल प्रशासनले प्रतिवेदनबारे प्रवक्ता डा. कैलाश झालाई जानकारी रहेको बतायो। प्रवक्ता झाले पनि आफूलाई यो विषयमा कुनै जानकारी नरहेको बताए। ‘यस विषयमा मलाई कुनै जानकारी छैन,’ उनले नागरिकसँग भने, ‘छानबिन समितिलाई नै सोध्नुहोला।’

अस्पतालका निर्देशक डा. चन्दे्रश्वर महासेठले समितिले प्रतिवेदन बुझाएको र प्रतिवेदनका विषयमा सबै विवरण स्मरण नभएको बताए। तर, उनले घुमाउरो हिसाबले उपचारक्रममा अस्पतालका तर्फबाट केही त्रुटि भएको भने स्विकारे।

‘बच्चाको उपचारक्रममा एक्सिडेन्ट्ली हात पोलिएको थियो,’ उनले भने, ‘छानबिनक्रममा पनि यो कुरा आएको छ। हामीले एक्सिडेन्ट्ली भएको उक्त घटनापछि बच्चाको सबै उपचार निःशुल्क गरिदिने भएका छौँ।’ उनले उपचारक्रममा यस्ता दुर्घटना कहिलेकाहीँ हुने गरेको दाबी पनि गरे।

अस्पताल निर्देशक डा. महाशेठले बच्चाको सबै उपचार निःशुल्क गरेको बताए पनि आफन्तले बच्चाको उपचारका क्रममा हालसम्म डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताएका छन्। आफन्तले घटनाको यथार्थ विवरण बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन्।

आफन्तले बच्चाको शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने र यसका लागि २ लाख रुपैयाँको कोष बनाउनुपर्ने माग गरेका छन्।

– आजको नागरिक दैनिकमा प्रबीण ढकालले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *