चुरोटले लग्यो ‘सुशील दा’ को ज्यान : निजी चिकित्सक डा. योगी

डा. करबीरनाथ योगी ( बरिष्ठ फिजिसियन)
डा. करबीरनाथ योगी ( बरिष्ठ फिजिसियन)

काठमाडौँ- ‘सुशील दा’ पहिले चुरोटको अम्मली नै हुनुहुन्थ्यो । सोही कारण चुरोटबाट लाग्ने प्राय सबै रोग उहाँमा थियो । पहिला चुरोट खाएकै कारण उहाँमा ५-६ बर्ष देखी क्रोनिक ब्रोङ्काइटिस (सिओपिडी) भन्ने रोग थियो । त्यसको लागि उहाँले ५-६ बर्ष देखी औषधि प्रयोग गर्नुहुन्थ्यो ।

पछिल्लो तीन चार बर्ष देखी उहाँलाई अर्को क्रोनिक रोग इन्ट्रेस्टिसियल लङ्स डिजिज (आइएलडी) भयो । यसको कारण पनि धुम्रपान नै हो ।
सीओपीडी र आइएलडी दुबै फोक्सोको रोग हो ।

सीओपीडीमा फोक्सो फुल्ने गर्छ वा साइज ठूलो हुन्छ । आइएलडीमा फोक्सो खुम्चिन्छ । कतै फुल्ने र कतै खुम्चिने कारणले उहाँमा स्वाँ स्वाँ भइरहने हुन्थ्यो ।

पौने दुई बर्ष अघि उहाँलाई फोक्सोमा क्यान्सर देखा परयो त्यो पनि चुरोट खाएका कारणले हो । त्यो भन्दा निक्कै अघि जिब्रोमा क्यान्सर थियो र जिब्रो काट्नु परयो । त्यो पनि धुम्रपानकै कारण थियो ।

भन्न त त्यतिवेला दुर्घटनामा परेर जिब्रो काटिएको भन्ने हल्ला छ । तर त्यो त्यतिवेला हामीले नै गराएको हल्ला हो । खासगरी मैले नै दिएको आइडिया हो ।

क्यान्सर भयो भन्नु भन्दा दुर्घटनामा परेकोले हस्पिटलमा भर्ना भएको भन्ने हल्ला गरौँ भन्ने सल्लाह मै त्यो हल्ला बाहिर आएको थियो । उहाँ दुर्घटनामा पर्नु अघि नै जिब्रोमा घाउ थियो ।

dr ka
कोइरालासंग डा.योगी

दुर्घटनामा परेको खबर सुनेर हतारिदै भेटन पुग्दा उहाँलाई केही भएको रहेनछ तर त्यतिबेलै उहाँले मलाई पुरानो घाउ जति गरेपनि निको भएको छैन बरु बढ्दै गएको छ भनेर देखाउनु भएको थियो । त्यो देख्ने वित्तिकै शंका लाग्यो र जाँच पडताल गर्दा क्यान्सर भएको पुष्टि भएको थियो । यद्धपी जिब्रो र फोक्सोको क्यान्सर निको भएको थियो ।

गतवर्ष क्यान्सरको उपचार पूर्ण रुपमा निको नहुँदै उहाँमा क्षयरोग देखा परेको थियो । त्यसपछि उहाँलाई क्षयरोग विरुद्धको औषधि चलाइएको थियो । चार महिना जति भयो उहाँले सो औषधिको कोर्ष पुरा गरेको । क्षयरोगको कारण पनि भन्नु पर्दैन । प्रमुख कारण उहाँले पहिले गरेको धुम्रपान वा चुरोट सेवन नै थियो ।

उहाँ मुटुको पनि विरामी हो । उहाँमा उच्चरक्तचाप थियो । उच्चरक्तचापको औषधि नियमित सेवन गर्नुहुन्थ्यो । उच्चरक्तचाप बढ्नुको एउटा प्रमुख कारण पनि धुम्रपान सेवन नै थियो ।

पछिल्लो स्वास्थ्य अवस्था :

जाडो सुरु भए देखिनै अर्थात मंसिर तिरबाट क्रोनिक रोगहरु जस्तै क्रोनिक ब्रोङकाइटिस र आइएलडी जस्ता रोगहरुले बढी सताउछ ।
पोहोर साल क्यान्सरको उपचार गरि पूर्ण स्वस्थ नहुँदै उहाँलाई क्षयरोग देखियो र त्यसको औषधि पनि खानु भएको थियो । औषधिको कोर्ष सकिएको भर्खर चार महिना जति भयो ।

यो पछिल्लो रोगहरुले पनि फोक्सोलाई क्रोनिक रुपमा असर गर्ने हो । क्यान्सरको उपचार गर्दा प्रयोग भएको रेडियसन थेरापीले पनि पनि फोक्सो खुम्च्याउँछ ।

पछिल्लो पाँच छ हप्ता देखी बेलाबेलामा एन्टीबायोटिक कोर्ष हामीले दिइराखेका थियौँ । बीचमा रगत जाँच र एक्सरे पनि गर्यौँ ।

दुई हप्ता देखी उहाँको खुट्टा सुन्निन् थाल्यो । दमका व्यथा लागेकालाई पनि यस्तो हुन्छ र मुटुको कारणले पनि हुन्छ । व्लड प्रेसर पनि थियो र उहाँले त्यसको औषधि पनि खानु भएको थियो ।

हामीले प्रेसरका कारणले पनि गोडा सुन्निएको हो कि भनेर दुई हप्ता अघि डा. मनबहादुर केसीलाई देखायौँ । उहाँले इसिजी इको गरेर हेर्नु भयो । तर त्यस्तो केही देखिएन । डा. केसीले पनि मुटुको कारणले फोक्सोकै कारणले सुन्निएको हुनुपर्छ भन्ने अडकल गर्नुभयो ।

पछिल्लो घटना :

 गत शुक्रबार उहाँ आफैले अलि असहज महसुस गर्नु भएको थियो । मसंग उहाँले आफूलाई खोकी लाग्यो ज्वरो आउला जस्तो भएको सुनाउनु भएको थियो । त्यसपछि फेरी रगत जाँच गरियो । अलिकति इन्फेक्सन भएको थाह भयो ।

शनिबार बेलुका पनि उहाँले आफूलाई साह्रै थकित भएको फुर्ति घट्को र जीउ गलेको महसुस भएको बताउनु भएको थियो । ज्वरो आउला जस्तो छ समेत भन्नु भयो ।

मलाई लाग्यो ‘रिस्क किन लिने हामीले ?”  एउटा एन्टीबायोटिक त सधै नै दिने गर्दथ्यौँ इन्फेक्सन रोकथामका लागि । अनि शनिबार देखी थप एउटा एन्टिबायोटिक सुरु गरेँ ।

आइतबार विहान छ बजे तिर फेरी बोलाउनुभयो । मैले गएर हेर्दा ज्वरो नाप्दा १०१.५ डिग्री थियो । त्यसपछि फेरी दुईवटा एन्टिबायोटिक थपियो । आइतबार देखी तीन वटा एन्टीबायोटिक दिइएको थियो । आइतबार दिनभर खाना खानुभएन दिनभर आराम नै गर्नुभयो । फाट्फुट भेटघाट त भएकै थियो ।

सोमबारको अवस्था :

सोमबार विहान चारैबजे गाह्रो भयो भनेर फोन आयो । म साढे चार बजेसम्म पुगिसकेको थिएँ । सबै भाइटलहरु हेर्दा एकदमै ‘स्टेवल’ हुनुहुन्थ्यो । प्रेसर ठिक थियो अरु बेला भन्दा ठिक थियो ।

मैले तपाईँलाई ठिक छ । नखाएका कारण कमजोर भएको हो खानुपर्छ ठिक हुन्छ भनेँ । खानालाई ‘इन्करेज’ गरेँ । तर उहाँले बारम्बार कमजोर अनुभव गरेको बताएकोले अरुसंग समेत सल्लाह नगरी मैले टिचिङ हस्पिटलको ६०१ भिआईपी बेड बुक गरेँ । टिचिङमा मेरै टिमको डा. पंकज पन्तलाई फोन गरेर बुक गर्न लगाएको थिएँ ।

सो दिन विहान अलिकति जाउलो खानुभयो, दिउसो जाँचगर्दा ‘भाइटल्स मेन्टेन’ थियो । दिउसो पनि फेरी दुई कचौरा जाउलो खानुभयो । पछिल्लो केही दिन यता सबैभन्दा बढी जाउलो सोही दिन दिउसो खानु भएको थियो । थपेरै जाउलो खाएको अन्य परीक्षणमा पनि नर्मल जस्तै भएपछि हामीले सल्लाह गरयौँ र तीन चारबजे बुक गरेको बेड क्यान्सिल गरिदिएँ ।

सोमबार राती नौ बजे पनि म पुगेको थिएँ । त्यतिखेर दिउसोको जस्तै अबस्था थियो । कुनै गाह्रो थिएन । मेरै निगरानीमा बेलुका सवा नौ बजे तिर अलिकति जाउलो समेत खानुभयो । त्यसपछि पौने १० बजे तिर म घरतिर लागेँ ।

घर पुगेर खान मात्रै भ्याएको थिएँ, भतिजा अतुलको फोन आयो । उहाँलाई सास लिन गाह्रो भएको छ स्याचुरेसन ७५ छ भन्नुभयो ।
‘म आईहाल्छु अक्सिजन बढाउनुस’ भने ।म जाँदैतस टिचिङ अघिका औषधि पसलबाट एक दुईवटा इन्जेक्सन पनि लिएन गएँ । 

जाँदा चाहि अवस्था विग्रेकै थियो । अक्सिजन बढाएँ । निलोपन बढी सकेको थियो । तीनवटा अक्सिजन लगाएँ । इन्जेक्सन लगाउदा लगाउदै आधी घण्टा-पौने घण्टा भयो होला । त्यसपछि अतुल जीलाई यता उता फोन गर्नुस है उस्तैपरे हस्पिटल पनि लैजानुपर्छ भने । तर उहाँ पनि आत्तिनु भयो क्यारे केहगर्न सक्नु भएन ।

अतुल जी, म र कृष्ण भाईमात्रै थियौँ । त्यो पछिल्लो डेढ घण्टाको अवधीमा । कतिपयले गाडीहरु दुई दुई वटा थियो । किन हस्पिटल लगिएन भन्ने गरेका छन् तर विना अक्सिजनका गाडी दम खोकीका विरामीका लागि महत्व राख्दैन । किनकी अक्सिजन हुनै पर्छ । अक्सिजन नभए कोल्याप्स हुन्छ ।

sushil

टिचिङको फोन उठेन
अबस्था एकदमै क्रिटिकल हुदै गएको थियो । सिपिआर दिनुपर्ने अवस्था थियो । मैले दिदै थिए । टिचिङको एम्वुलेन्सका लागि १३ पटक फोन गरेँ तर उठेन । पेप्सीकोलामा मेरै हस्पिटल छ त्यहाँ एम्वुलेन्स पनि थियो तर उहाँबाट आउन टाढा पर्छ । तर यहाँ फोन नउठदा लैजान नसकिएको हो ।

– कोइरालाका निजी चिकित्सक डा. योगीसंगको कुराकानीमा आधारित

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *