उपत्यकामा श्वासप्रश्वासका बिरामी बढे

- नेपाली हेल्थ

swine-flu_7काठमाडौं – उपत्यकामा बढ्दो चिसो र प्रदूषणका कारण श्वासप्रश्वास प्रणालीमा हुने संक्रमणका बिरामी बढेका छन् । विगतको तुलनामा यो वर्ष फैलिएको सिजनल फ्लु (एन २) संक्रमण पहिलाको भन्दा जटिल देखिएको भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन्।

वरिष्ठ फिजिसियन डा. डिपी सिंहले यो वर्ष सिजनल फ्लुले गराउने मध्येका फरक लक्षण एकैपटक देखिएको बताए। अस्पताल एवं क्लिनिकमा आउनेमध्ये अधिकांशमा जिउ र हातखुट्टा दुख्ने, रुघाखोकीसँगै पखालासमेत लाग्ने लक्षण देखिने इन्फ्लुएन्जा लाइक इलनेसका बिरामी छन्।

टेकु अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले पछिल्लो समयमा फैलिएको संक्रमण स्वाइनफ्लु नामले चिनिने (एच १ एन १) जस्तै कडा देखिएको बताए।

उनको अनुभवमा यसपटक रुखाखोकीले बढी सताउने र समस्या पार्ने जोखिमयुक्त वर्गबाहेकका समूहमा समेत असर बढी देखिएको छ। ‘रुघाखोकीको अवस्थामा श्वासप्रश्वासमा समस्या प्रत्यारोपण गरेका, मधुमेह र श्वासप्रश्वासका बिरामी बढी हुने गर्थ्यो,’ पुनले भने, ‘यो वर्ष सबै उमेरका मानिसमा कडा रुपमा देखिएको छ।’

पुनले नेपालमा भाइरसको स्वरुप परिवर्तन भए–नभएको र नयाँ प्रजाति देखिए नदेखिएको राम्रोसँग अध्ययन हुने भएकाले कुन टाइप हो भनेर यकिन भन्न नसकिने बताए। अस्पताल आउनेमा घाँटी दुख्ने, रुघाले ग्रस्त बनाउने श्वासप्रश्वासमा समेत कठिन हुने साझा समस्या देखिएको बताए।

नेपालको मौसमी भाइरसले केही चरित्रमा परिवर्तन गरेको हुनसक्ने अनुमान विज्ञहरुको छ। भाइरसको प्रकृतिअनुसार मृत्युदर हुन्छ। बर्डफ्लुले अन्य देशमा ६० प्रतिशत मृत्यु गरायो, इन्डोनेसियामा ८० प्रतिशत। त्यस आधारमा भाइरस यस्तै हुन्छ र भनेर ढुक्क बस्न नमिल्ने चिकित्सक बताउँछन्। भाइरसको अध्ययनबाटै यसले आक्रमणका आधारमा कुन उमेर समूह, कुन क्षेत्रमा बढी देखिन्छ र कुन समयमा फेरिरहन सक्छ भन्न सकिने चिकित्सकको भनाइ छ।

डा. सिंहले सामान्यतः भाइरसको समस्यामा आराम गर्न, पर्याप्त झोलिलो खानेकुरा खान सुझाव दिए। प्रतिरोधी क्षमता कमजोर भएकामा भने अवसरवादी संक्रमण नहोस् भनेर एन्टिबायोटिक्स नै चलाउनुपर्ने उनले बताए।

डा. सिंहका अनुसार भूकम्पपछिको भग्नावशेषको धुलो, सडक विस्तार र लामो समयसम्म हिउँदे वर्षा नहुँदा वायु नै दमका रोगीका लागि सकसपूर्ण बनेको छ। नयाँ खालको इन्फ्लुएन्जा इलनेसनसँगै दमका रोगीलाई समेत यसपटकको चिसो सकसपूर्ण बनेको चिकित्सकको भनाइ छ।

‘वातावरण परिवर्तन भएपछि भाइरसले पनि एडप्ट हुन परिवर्तन गर्छ र त्यसले रोगको ट्रेन पनि बदल्छ,’ सिंह भन्छन्। मौसमी रुघाखोकीको रुपमा देखिने यस्ता भाइरसले सुरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गरे पनि श्वासप्रश्वास प्रणालीको तल्लो भाग ९फोक्सो० मा सर्ने र निमोनिया गराएर ज्यानै लिनसक्छ।

समयमा पहिचान र व्यवस्थापन नगरे जटिल बन्छ। संसारमा स्वरुप परिवर्तन गरिरहने भाइरसका विशेष उपचार छैन। पछिल्ला दिनमा सिजनल फ्लुसँगै चिसोकै कारण जीर्ण प्रकारको श्वास नली साँघुरो हुने रोग सिओपिडी जाडोयाममा बल्झेर क्लिनिक धाउनेको संख्या अधिक देखिएको सिंह बताउँछन्। चिकित्सकका अनुसार चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ, कम तापक्रमले प्रतिरोध शक्ति क्षय गर्छ।

अस्पताल आउनेमा घाँटी दुख्ने, हाच्छिउँ आउने, नाकबाट पानी बग्ने, आँखा रसाउने समस्या देखिएको चिकित्सकले जनाए। यस्ता लक्षण प्रत्यक्ष रुपमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित हुन्छन्।

मन्त्रालयको तथ्यांकअनुसार धुलोको चाप नबढेको अवस्थामा पनि अस्पताल भर्ना हुनुका प्रमुख आठ कारणमध्ये चिसोसँग सम्बन्धित रोग निमोनिया चौथो नम्बरमा र दम तथा खोकी छैटौं नम्बरमा छ।

अस्पताल भर्ना भएरपछि हुने मृत्युका प्रमुख तीन कारणमध्ये बच्चामा रुघाखोकी र वयष्कमा श्वासप्रश्वास संक्रमण प्रमुख छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा. बाबुराम मरासिनीले चिसो र प्रदूषणका कारण बिरामी बढेको भन्दै पानी नपर्दासम्म संक्रमण नघट्ने बताए।

चिकित्सकहरुका अनुसार अनुसार जाडोमा बढी देखिने श्वासप्रश्वाससम्बन्धी समस्या अन्तर्गत दम, ब्रोङकाइटिस र निमोनिया पर्छन्। अन्य मौसममा पनि भइरहे पनि चिसोपना, धुँवाको कारण श्वास नली अझ बढी खुम्चिने हुनाले दमको समस्याले जाडोमा बढी असर गर्छ।

बच्ने कसरी ?

– सिजनल फ्लुको संक्रमण देखिएपछि घरमै बस्ने अन्य संक्रमणबाट बच्ने

– आराम गर्ने

– सबैभन्दा बढी सडक र हिँड्दा घरभित्रै बस्दा पनि माक्स लगाउने

– सामान्य अवस्थामा पनि यो मौसममा चिसो खानेकुरा, पेय प्रयोग नगर्ने, तातो लुगा लगाउने,

– बिहान र साँझको समयमा सकेसम्म खुला हावामा ननिस्किन धूमपान, धुलो र अन्य प्रकारका धुवाँमा नबस्ने

– सिजनफ्लुको खोप लगाउने

 

– आजको नागरिक दैनिकमा प्रकाशित समाचार


Facebook Comment


थप समाचार