दादुराले नौ बालबालिकाको मृत्यु

काठमाडौं- सरकारले खोप खरिदमा गरेको लापरबाही र पाँच महिनादेखि जारी मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ। यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको छ।Injecson

पछिल्ला दिनमा कपिलवस्तुमा मात्र ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। पाँच  दर्जनभन्दा बढी बालबालिका बिरामी छन्।

डेढ दशकको नियमित खोप र विशेष प्रयासपछि सन् २०१६ मा निवारण गर्ने तयारीमा रहेको दादुरा फेरि देखिएको हो। बाल मृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ।

यो वर्ष कपिलवस्तुमा ६, बाँकेमा १, बर्दियामा १ र सल्यानमा १ जनाको मृत्यु भइसकेको छ। सिन्धुपाल्चोक, सुनसरी सुर्खेतमा समेत ठूलो संख्यामा बालबालिका दादुराका कारण बिरामी छन्। कपिलवस्तुमा ६ दर्जनभन्दा बढी बालबालिका बिरामी छन्। तराई मधेसका जिल्लामा अवरोध जारी रहे प्रकोप अझै फैलिन सक्ने विज्ञले औंल्याएका छन्।

खरिद प्रक्रियामा भएको कमिसन चक्करका कारण तीन वर्षसम्म खोप खरिद गर्न नसक्दा गत वर्ष भएको हाहाकार र यो वर्ष जारी मधेस आन्दोलनका कारण नियमित कार्यक्रमसमेत प्रभावित छ। अघिल्लो वर्ष दुई महिना देशभरकै खोप कार्यक्रम बन्द भयो। त्यसबीच जन्मिएका बालबालिकाले खोप लगाउन पाएनन्। बेलाबेला हुने खोप अभाव र मधेस आन्दोलनको प्रभावको असर अहिले देखिएको विज्ञ बताउँछन।

सरकारले चालु पञ्चवर्षीय योजनामा सन् २०१६ मा दादुरा निवारण सुरु गर्ने घोषणा गरेको छ। १ लाखमा ५ भन्दा कम बिरामी फेला पर्नुलाई निवारणको अवस्था भनिन्छ। निवारण घोषणासहित सरकारले सन् २०१७ पूर्ण खोप क्षेत्र घोषणासमेत अगाडि बढाइरहँदा निवारणको अवस्थामा रहेको दादुरा बल्भि्कएको हो।

दादुराका लागि सन् २०१२ मा विशेष अभियानसहित सरकारले दादुरा र उस्तै लक्षण हुने रुबेलाका लागि नयाँ भ्याक्सिन सुरुआत गरेको थियो। तर खोप खरिदमा अन्तर्राष्ट्रिय दातृ निकाय, कम्पनी र सरकारी अधिकारीको त्रिपक्षीय चलखेलले अभाव बनाउने र महँगोमा किन्ने खेल चल्दै आएको छ। यो क्रममा विभिन्न स्थानमा खोप अभाव हुने र कार्यक्रमसमेत प्रभावित हुने गरेको छ।

  • आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *