अज्ञात रोगको संक्रमण : चिकित्सकलाई थाह छैन, गाँउले भन्छन ‘देउता रिसाए’

rubella_342x198_M2100375

नेपाली हेल्थ /कपिलवस्तु – छ जनाको ज्यान जाने र अढाई सय बढी विरामी परेको सोमडिह गाविसको ७ र ८ वडा पर्ने इटवा गाँउमा के रोग फैलिएको हो भन्ने चिकित्सकहरुले अझै भन्न सकेका छैनन तर गाँउलेहरुले भने बच्चा विरामी हुनु र मृत्यु हुनुको एक मात्रै कारण देउता रिसाएको ठोकुवा गरेका छन् ।

हिन्दु मुस्लिम झण्डै बराबर बसोबास रहेको सो गाँउमा दुई साता अघि देखि नै बालबालिकाहरु विरामी हुन थालेका थिए । तर अभिभावकहरु उपचारको खोजी गर्नुको साटो भगवान पुकार्ने प्रक्रियामा लागे । झारफुक गरे लामाधामी गरे नभएपछि देउता रिसाएको भन्दै जल चडाउन सीमावर्ती भारतीय गाँउ खुनुवामा रहेको लेहडामाई मन्दिरमा पुगे।

जिल्ला सदरमुकाम तौलिहवामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयलाई करीब ७ किलोमिटर दक्षिण पश्चिमको सीमावर्ती गाँउ इटवामा अज्ञात रोग फैलिएको कुरा दुई साता पछि मात्रै थाह भयो जतिवेला ५ जना बालबालिकाको ज्यान गईसकेको थियो , झण्डै दुई सय बढी बालबालिका विरामी परिसकेका थिए ।

तर खबर पाएको एक घण्टा भित्रै स्वास्थ्यकर्मीको टोली सो गाँउ पुग्दा सबै महिला काखे बालक च्यापेर देउतालाई जल चडाउन लेहडामाई मन्दिर गएका थिए । ‘महिलाहरुले काखे सन्तानलाई आफूसंगै लगेका थिए अलि ठूला सन्तान संक्रमणका कारण घरमै थलिएका थिए । उनीहरुको देखभाल गर्ने अभिभावक नै देखिदैनथ्यो’ गत सोमबार जिल्ला जनस्वास्थ्य कार्यालयबाट इटवा गाँउमा खटिएको टोलीका एक सदस्य सिअहेव माधव अर्यालले नेपाली हेल्थलाई बताए ।

अर्याल भन्छन् , ‘गाँउमा रोग फैलिएर ज्यानै समेत गएपछि हिन्दु जति भगवान रिसाएको निस्कर्स निकालेर जलचडाउन ५ किलोमिटर पर भारतीय भूमीमा रहेको मन्दिरमा पुगका रहेछन हाम्रो भेट नै भएन । हिजो र आज चाँहि भेटेर स्वास्थ्य परीक्षण र उपचारका काम भइरहेको छ ।’ उनले मुस्लिम समुदायहरु पनि औषधि उपचार प्रति त्यति चासो नदिएको बताए ।

खोप लगाएका छैनन इटवाका बालबालिकाले

अर्यालका अनुसार इटवा गाँउमा एक आध बालबालिका बाहेक कसैले पनि खोप लगाएका छैन । विगत देखिका भिटामिन तथा पोलियो थोपा खुवाउने राष्ट्रिय कार्यक्रम पनि त्यति प्रभावकारी भएको देखिएन ।

पुरानो रुडीबादी चलनमा बढी विश्वास गर्ने भएका कारण उपचारमा समस्या भएको उनको दावी छ । ‘केही बालबालिकामा दादुराको लक्षण देखिन्छ , केही निमोनियाको छ । केही झाडा पखलालले ग्रस्त छन केही शिघ्र कुपोषणले ग्रस्त छन् । तर के भएको हो भन्ने एकिन भइसकेको छैन । हामीले थ्रोट र रगतका नमूना परीक्षणका लागि काठमाडौँ पठाएका छौँ । त्यसको रिपोर्टको आधारमा मात्रै भन्न सकिएला’  नेपाली हेल्थसंग भने ।

ग्रासका र महिला स्वास्थ्य स्वयंसेविका पनि जल चडाउन गए

गाँउमा रोग फैलिएको कुरा जानकारी दिनकै लागि खटाइएका ग्रासका तथा महिला स्वास्थ्य स्वयंसेविका पनि जिल्लामा जानकारी दिन उचित ठानिनन् । स्रोत भन्छ, ‘बालबालिकाहरु ज्यानै जाने गरी विरामी पर्न थालेपछि उनी पनि गाँउका महिलाहरुको पछि लागेर जल चडाउन मन्दिर पुगिन् ।’

पियनका भरमा स्वास्थ्यचौकी

सोमडिह स्वास्थ्य चौकीमा करारमा रहेका अहेवको गत पुस मसान्तमा म्याद सकिएपछि नयाँ अहेव गएका थिएनन् । त्यहाँ न अनमी थिइन न त ग्रासका नै । अहेवको अवधी पुस मसान्तमा सकिएको भएपनि उनी त्यसअघि केही महिना देखी नै अनुपस्थित रहेको गाँउलेहरु बताउछन । स्वास्थ्य चौकी पियनको भरमा थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *