रोग निवारण भएको देश नेपालमा बर्षेनी भेटिन्छन् तीन हजार नयाँ कुष्ठप्रभावित व्यक्ति

नेपाली हेल्थ / काठमाडौँ – नेपालबाट कुष्ठरोग निवारण भयो भनेर घोषणा भएको ६ बर्ष पुगेको छ तर कुष्ठप्रभावितहरुको संख्यामा भने कमि आएको छैन । नेपालमा निवारण घोषणा गरिए यताको ६ बर्षमा प्रतिवर्ष औषत तीन हजारका दरले नयाँ कुष्ठप्रभावित व्यक्ति भेटिने गरेको छ ।kust

स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक बर्ष २०६६/०६७ मा निवारण भएको घोषणा गर्दा देशभर ३ हजार १५७ जना नयाँ विरामी भेटिएका थिए । त्यसयता बर्षेनी तीन हजारका हाराहारीमा नयाँ कुष्ठप्रभावित विरामी भेटिने गरेका छन् ।

महाशाखाका अनुसार आव ०६७/०६८ मा ३ हजार १४१ जना, आव ०६८/६९मा ३ हजार ४८१ जना, आव ०६९ /७०मा ३ हजार २५३ जना, आव ०७०/७१ मा ३ हजार २२३ जना र चालु आव ०७१/ ७२ मा २ हजार ९५३ नयाँ कुष्ठप्रभावित व्यक्ति भेटिएका छन् ।

महाशाखाले पछिल्लो पटक कुष्ठरोगको प्रभाव बच्चा र महिलाहरुमा बढी भएको जनाएको छ । देशमा कुष्ठरोग निवारण भएपनि अहिले पनि तराईका १६ जिल्लामा कुष्ठप्रभावित व्यक्तिको संख्या मापदण्ड भन्दा बढी छ ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बच्चा र महिलाहरुमा संक्रमण भेटिनुले कुष्टरोग स्थानीय स्तरमै जरागाडेर बसेको स्पष्ट भएको बताए । उनले समयमै कुष्ठरोगको पहिचान गरी उचित उपचार गरेको खण्डमा रोग निको हुने बताए ।

प्रति दश हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भेटिएमा त्यो देश रोग निवारणको अवस्थामा पुगेको मानिन्छ । नेपालमा हालसम्म १ लाख ७८ हजारबढी विरामीले बहु औषधिबाट उपचार पुरा गरेका छन भने ३० हजार बढी अपाङग बनेका छन् ।

सरकारले कुष्ठ प्रभावित व्यक्तिलाई सम्पूर्ण उपचार निशुल्क र उपचार पछि एक हजार रुपैया यातायात खर्च दिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *