दश हजार जना हाइड्रोसिल पिडीतको नि:शुल्क अप्रेसन गर्दै सरकार !

OLYMPUS DIGITAL CAMERA

 नेपाली हेल्थ/काठमाडौँ – सरकारले देशभरका हाइड्रोसिल ( अण्डकोषमा पानी जन्मे अवस्था ) पिडीत पुरुषको निशुल्क अप्रेसन गरिदिने भएको छ । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत हाइड्रोसिलको निशुल्क अप्रेसन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसबर्ष १० हजार बढीको निशुल्क अप्रेसन गर्ने तयारी भएको छ । महाशाखाले यसैबर्ष देखी विगतमा हात्तीपाइले रोग देखिएका उच्च हिमाली क्षेत्रमा पर्ने १२ जिल्ला बाहेकका ६३ जिल्लामा यो अभियान सुरु गर्ने तयारी गरेको हो ।

त्यसो त महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यतिबेला तीन जिल्लामा ६४१ जना हाइड्रोसिल पिडीतको निशुल्क अप्रेसन भएको थियो । सो नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले अभियानका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, केन्द्रीय अस्पताल सहित प्रतिष्ठान, मेडिकल कलेज तथा मिसन अस्पतालहरु छनौट गरिएको बताए । उनले ती अस्पतालहरुलाई प्रति अप्रेसन ५ हजारको दरले रकम उपलव्ध गराउन लागिएको जानकारी दिए । ६३ जिल्लामा अभियान सुरु गरेपनि देशभरका जुनसुकै जिल्लाका पिडीतले तोकिएका जुनसुकै अस्पतालमा गएर पनि हाइड्रोसिलको निशुल्क अप्रेसन गर्न सकिने बताए ।

विश्व स्वास्थ्य संगठनको तर्फबाट महाशाखामा प्रावधिक सहयोग पु¥याइरहेका डा. केशव कुमार योगीले हात्तीपाइले रोगकै समूहमा पर्ने हाइड्रोसिलको समस्या पनि उत्तिकै देखिएपछि निशुल्क उपचार सुरु गरिन लाएिको बताए । उनले हात्तिपाइले रोगको समस्या देखिनुको प्रमुख कारण हाइड्रोसिल समेत भएको भन्दै यसको उपचारलाई विशेष व्यवस्था गरिएको बताए ।

वर्षको १ पटक सेवन गर्ने हात्तिपाइले रोग विरुद्धको औषधि लगातार ६ वर्ष खाएपछि निवारण हुने तर्फ गएको मानिन्छ । हात्तिपाइले रोगको जोखिम मानिएका ६१ जिल्लामा सरकारले सन् २००१ देखी औषधि खुवाउने अभियान सुरु गरेको हो । चरणचरणमा औषधि खुवाउने अभियान सुरु गरेको महाशाखाले अहिलेसम्म २५ जिल्लामा ६ चरणको औषधि खुवाईसकेको छ ।

हात्तिपाइले रोग निवारण अभियानका फोकल पर्सन तुलसी अधिकारीले यसबर्ष ३६ जिल्लामा औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।

झण्डै चार हजार बर्ष पुरानो मानिने यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने विज्ञहरु बताउछन । उच्च हिमाली जिल्लामा भने यो लामखुट्टे रहन नसक्ने भएकोले रोगबाट सुरक्षीत रहेको भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *