युनिसेफको कार्यकारी बोर्डमा नेपाल
नेपाली हेल्थ /काठमाडौँ- नेपालले शनिबादेखि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को कार्यकारीको कार्यभार सम्हालेको छ । यसअघि, एसिया प्रशान्त क्षेत्रले आफ्नो समूहको तर्फबाट नेपाललाई सन् २०१६–१८ का लागि सर्वसम्मतिबाट कार्यकारी चयन गरेको थियो ।
उक्त क्षेत्रले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई कार्यकारी बोर्डको ब्युरो उपाध्यक्षमा शनिबार निर्विरोध निर्वाचित गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
१४ वर्षपछि नेपालले युनिसेफको कार्यकारी बोर्डमा काम गर्ने अवसर पाएको हो । यसअघि नेपालले सन् १९८२ देखि १९८५, सन् १९९२ देखि १९९५ तथा सन् २००२ देखि २००४ सम्म बोर्डमा रही काम गरिसकेको छ ।
विश्व शान्ति स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको राष्ट्रसंघीय विशेष कमिटीको स्थायी समिति सदस्य नेपालले हाल संयुक्त राष्ट्रसंघीय महासभाको प्रशासकीय तथा बजेट समितिको नेतृत्व पनि गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]