दाँत उपचारका क्रममा भेटिएका केही तिता अनुभव

- नेपाली हेल्थ
dr bisal
– डा. विशाल बाबु बस्नेत, (बि.डी.एस., एम.डी.एस.) कन्सल्ट्यान्ट डेन्टिस्ट, प्रोस्थोडोन्टिस्ट,

तेह्रथुम जिल्लाको दाँगपा गाउँमा एकचोटि दन्तचिकित्सा पढ्दै गरेका हामी दुई साथीहरू सानो अनुसन्धानात्मक कामको लागि गएका थियौँ । उक्त कार्यक्रमको दौरानमा एकजना व्यक्तिसँग भेट भयो । उनको मुख जाँच्ने क्रममा अनौठो कुरा देखियो । उनको गिजा पाकेको, दुखिरहेको र सुन्निएको थियो । उनले उनकै भनाइअनुसार कृत्रिम दाँत राखेका थिए । त्यो थियो साधारणतय छोटो समयको लागि भनेर राखिनुपर्ने ‘अक्रिलिक रेजिन’को दाँत ।

यसखालको दाँतलाई हरेक चोटि खाना खाएपछि झिकेर सफा गर्नुपर्ने हुन्छ भने राति लगाएर सुत्नु पनि हुँदैन, तर त्यसलाई तारले बाँधेर मुखमै अड्काइएको थियो । यो गरेका थिए चीनबाट आएका घुमन्ते व्यक्तिले । त्यो दुर्गम गाउँमा पुगेर भाषासमेत राम्ररी नबुझ्ने व्यक्तिले हाम्रो स्वास्थ्यमाथि यो स्तरको खेलबाड गरेको देख्दा हामी दन्तस्वास्थ्यमा जीवनको लामो कालखण्ड व्यतीत गर्दै रहेका चिकित्सकलाई नमिठो पिडाबोध भएको थियो ।

……………………………………………………………………

काठमाडौँ आई अत्याधुनिक भनिएको अस्पतालमा उपचार गराईँ फर्किएका एक बिरामी धरानमा भेटिए जसले मलाई नराम्रो महसुस गराएको थियो । मेरो स्नातकोत्तरको अध्ययन चल्दै गर्दा पूर्वेली एक बिरामी दाँतको दुखाईको कारण हाम्रो विभाग आइपुगे । उनको माथिका ६ वटा दाँतमा हाम्रो भाषामा “ब्रिज” राखिएको थियो । तर उनको मुखमा कुनै दाँत फुकालिएको वा नभएको अवस्थामा त्यो गरिएको थिएन ।

“ब्रिज” भनेको त दाँत नभएको खाली भागमा कृत्रिम दाँत राख्नुपर्दा अरु भएका दाँतको सहायतामा राखिने उपचार साधन हो । सबै दाँत हुँदाहुँदै किन राखियो त ? मैले जिज्ञासा राखेँ,  उनले भने, “मेरो यी अगाडिका दाँतहरू एकदम बाङ्गोटिङ्गो र उछिट्टिएका थिए, मिलाउन जाँदा चिकित्सकको सल्लाहमा यस्तो गरेको हो ।”

उनले सो उपचारका लागि करीब करीब ५० ६० हजार खर्चेका थिए । उनको लागि ‘अर्थोडोन्टिक’ (जुन यस्तै नमिलेका दाँत मिलाउने विधा हो )उपचारको जरुरत पर्दथ्यो न कि ‘प्रोस्थोडोन्टिक’ (जुन विशेषत दाँत नहुँदा गरिन्छ) । सायद सुविधासम्पन्न स्वास्थ्यालयमा सम्भवतः तालिम प्राप्त व्यक्तिले नै यस्तो अनुपयुक्त र अनैतिक उपचार गरेर विरामीलाई पठाईदिए र उनको प्राकृतिक दाँतका तन्तुहरूमा पुगेको चोटले उनमा दुखाई सुरु भयो ।

………………………………………………………………………………

कामको सिलसिलामा पाँचथर जिल्लाको फिदिम पुगेको थिएँ म एकचोटि । एकजना अधबैंसे पुरुष मैले काम गर्ने क्लिनिकमा आए । उनका मुखमा भएका सबै दाँतमा सिरिंगसिरिंग गर्ने झनझनाहट थियो । उनी यो समस्याबाट आजित थिए । समस्याको जड खोतल्दै जाँदा अलि समय अगाडि त्यहिं खोलिएको एउटा पारम्पारिक स्वास्थ्यालयमा उनले दाँतको सफाई ‘स्केलिंग’ गरेका रहेछन् । त्यस बेलादेखि यो समस्या सुरु भएको रहेछ र निवारणका लागि उनले यत्रतत्र धाएछन् पनि, तर समस्या उस्तै ।

उनी क्लिनिक समयपश्चात् म बस्ने डेरासम्म आइपुगे र फेरी उनको सबै कहानी सुनाए । उनको ‘स्केलिंग’ गर्न गलत औजारको प्रयोग भएको रहेछ । पानीको बल र औजारको सुस्त कम्पनबाट गरिनुपर्ने ‘स्केलिंग’ कडा वस्तु घोट्ने औजारमार्फत् गरिएको मैले पत्तो लगाएँ । तर उनको अबको उपचार जटिल र महँगो हुने देखियो किनकि दाँतको ‘इनामेल’ र ‘डेन्टिन’मा अपूरणीय क्षति भैसकेको थियो ।

‘स्केलिंग’ भन्ने वित्तिकै डराउने धेरै बिरामी मैले फेला पारेको छु । किन त ? समय-समयमा नियमित गरिने सफाइको एउटा प्राविधिक तरिकालाई ‘स्केलिंग’ भनिन्छ । र, उपयुक्त तरिका र दक्ष व्यक्तिबाट गरिने उपचारबाट डराउनुपर्ने कुनै आवश्यकता हुँदैन ।

…………………………………………………………………………………..

धरानमा पढाइको क्रममा अरु प्रशस्त यस्ता उदाहरणहरू भेटिएका थिए । कतिपय विरामीहरूले जरादेखि उपचार गरेको भनेर बताउँछन् तर एक्सरे गर्दा जरामा भरिने कृत्रिम नसा देखिदैन । यस्तै दाँतमा सडन (जनजिब्रोमा किरा लागेको भनिन्छ)को उपचारमा उच्च सामर्थ्य भएका सिमेन्टको सट्टामा ‘अक्रिलिक’ भर्ने गरेको पनि भेटेको छु । यसबाट एक त दाँतको कार्यक्षमता घट्छ भने अर्कोतर्फ ‘अक्रिलिक’मा हुने कतिपय पदार्थले एलर्जी गराउने, दाँतको ‘पल्प’ नामक कोमल तन्तुलाई हानी पुर्याउने समेत हुन जान्छ ।

मुखमा एउटै पनि दाँत नभएका विरामीहरूमा पूर्ण कृत्रिम दाँत अर्थात् ‘कम्प्लिट डेन्चर’ राखिन्छ । माथिल्लो च्यापुमा यसलाई अड्याउन साधारण ज्ञानप्राप्त व्यक्तिलाई हम्मे पर्ने गर्दछ । त्यसैले उनीहरू तालुमा टाँसिने गरी ‘भ्याकुम डिस्क’को प्रयोग गर्दछन् । कहिलेकाँही विशेष अवस्थामा यो नै विकल्पको रूपमा रहेको हुन्छ तर सबै विरामीमा भने यसको प्रयोग नितान्त अवैज्ञानिक मानिन्छ ।

यसको निरन्तर प्रयोगले कालान्तरमा तालुमा प्वाल पर्ने सम्म हुन सक्दछ । अन्यत्र यस्तो वस्तुको प्रयोग भएर तालुमा प्वाल परेपछि बल्ल ठूलो चिकित्सालय आएका थुप्रै विरामी धरानमा भेटेको मेरो अनुभव छ ।

यी अनुभवहरूमा नेपालमा दन्तस्वास्थ्यमा रहेको विकराल रूपको उदाङ्गो चित्रण भेटिन्छ । हुन त विकसित देशहरूमा पनि अवैधानिक तवरले हुने गरेका दाँतको स्वास्थ्यसम्बन्धी हेलचेक्र्याइँका समाचार नआउने भने होइन ।

अमेरिकाको फ्लोरिडा राज्यमा आप्रवासी अवैधानिक दन्त स्वास्थ्यकर्मीको समस्या रहेको ओर्लान्दो सेन्टीनेल पत्रिकाले केही समय अघि उल्लेख गरेको थियो । भारतमा पनि यस्तो समस्या रहेको खबर बेला बेलामा आइरहेका हुन्छन । त्यस्तै अति विकसित मानिएका देशका कतिपय शहरमा समेत समेत अयोग्य व्यक्तिहरूले सडकमै डेन्टल उपचार व्यवसाय संचालन गरेको अवस्था देख्न पाइन्छ ।

नेपाल मेडिकल काउन्सिलको दर्ताको तथ्यांकलाई हेर्दा २०१२को अन्त्यसम्ममा ११,३५९ मेडिकल मध्ये(७८१५ पुरुष र ३५४४ महिला) अनि १,२२२ डेन्टलमध्ये (५०७ पुरुष र ७१५ महिला) चिकित्सकहरू दर्तावाला रहेको पाइन्छ र हालसम्म यो संख्या बढे तापनि जनशक्ति सहरकेन्द्रित मात्रै हुनाले ग्रामीण भेगमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलबाड हुन सक्ने कुरालाई नकार्न सकिदैन ।

नेपालको मुख स्वास्थ्य नीति २०७० का अनुसार राजधानीमा प्रति ९,००० जनसंख्यामा एक दन्त विशेषज्ञ रहेको भेटिन्छ भने राजधानीबाहिर यो अनुपात प्रति ५६ हजारमा एक दन्त विशेषज्ञको रूपमा रहेको छ ।

यस्तो असमान अनुपातको कारण समेत गैरजिम्मेवार र अनैतिक स्वास्थ्योपचारको क्रम मौलाएको हुन सक्दछ । सरकारीस्तर र निजीस्तरबाट सहकार्य गरेर जनचेतनाको विस्तार, स्वास्थ्यकर्मीको गुणस्तरमा सुपरिवेक्षण र निगरानी अनि उपभोक्तास्तरबाट पनि यथेष्ट जागरुकता भयो भने बल्ल मानवस्वास्थ्यको आधारभूत उपलव्धिलाई सुनिश्चित गर्न सकिनेछ ।

यसैले कुनै पनि उपचार सुरु गर्नु अघि यी प्रश्नहरूबारे सोच्नु जरुरी छ , के म र मेरो परिवार दाँतको उपचारमा सावधान छौँ ? कतै हामी बुझ्दै नबुझी गलत उपचार र गलत संस्कारको भुक्तभोगी भएका त छैनौँ ? के हामी चिकित्सालयको राम्रो आँकलन गरिरहेका छौँ ? कतै हामी चिकित्सकको शिक्षा, मेडिकल काउन्सिल दर्ता, चिकित्सकको तालिम आदिबारे अनभिज्ञ भएर पनि हाम्रो मुख र दाँतमा मनोमानी उपचार गर्न दिईरहेका पो छौं कि ?

(डा. बस्नेतलाई  समाज डेन्टल अस्पताल, नयाँ बानेश्वर र मेरिडियन हेल्थ केयर सेन्टर, महाराजगंजमा भेट्न सकिन्छ ।)


Facebook Comment


थप समाचार