सरकारी स्वीकृतिविनै हेपाटाइटिसको औषधि परीक्षण

hepataitis c

पत्रिका – एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारी स्वीकृतिविना नै नेपालमा रहेका दुई सय लागुऔषध प्रयोगकर्तालाई हेपाटाइटिस सी विरुद्धको नयाँ औषधि परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जिआइजेडले ग्लोबल फन्डबाट औषधि झिकाई आफूखुसी लागुऔषध प्रयोगकर्तामा औषधिको परीक्षण गरेको हो ।

स्रोतका अनुसार सो संस्थाले ‘गामा इन्टरफेरोन’ र ‘रिभाभेरिन’ नामक औषधि लागुऔषध प्रयोगकर्तामाथि परीक्षण गरिएको हो । त्यसका लागि दुईवटा निजी अस्पताल, निजी क्षेत्रकै ल्याब र निजी क्षेत्रकै चिकित्सकलाई प्रयोग गरिएको छ । यस्ता नयाँ औषधि तथा खोपहरूको परीक्षण गर्दा वा प्रयोग गर्दा सरकारको स्वीकृति लिनुपर्छ ।

सरकारी अधिकारीले भने नेपालीमाथि आफूखुसी औषधिको परीक्षण गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कदमको विरोध गरेका छन् । हेपाटाइटिस रोगविरुद्ध सरकारले गठन गरेको स्टेरिङ कमिटीका सदस्यसचिव तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले नेपाल सरकारलाई सहयोग गर्छु भन्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासमेत आफूखुसी काम गर्न लागेको भन्दै विरोध जनाइन् । उनले जिआइजेडलाई त्यस्तो कार्य नगर्न चेतावनीसमेत दिएको जानकारी दिइन् । अबदेखि सरकारी स्वीकृतिविना आफूखुसी कुनै औषधि तथा खोपसम्बन्धी कार्यक्रम सञ्चालन गरे कारबाही गर्ने उनले बताइन् ।

यसअघि सरकारले हेपाटाइटिस सीविरुद्ध सोफोसोभिर नामको औषधि प्रयोगमा ल्याएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिट्याब्लेट करिब एक लाख रुपैयाँ लाग्ने भए पनि सरकारले अनुदानमा ल्याउँदा करिब ९ सय रुपैयाँमा नै ल्याएको थियो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार नेपालमा हेपाटाइटिस समूहबाट संक्रमितको संख्या ५ लाख रहेको अनुमान छ । त्यसमध्ये करिब १ लाख २० हजार हेपाटाइटिसबाट संक्रमित भएको अनुमान छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *