यसरी लागेँ मिर्गौला प्रत्यारोपणमा

नेपालमा मिर्गौला प्रत्यारोपणको इतिहास त्यति लामो छैन । पहिलोपटक नेपालमा मिर्गौला प्रत्यारोपण सन् २००८ मा भएको थियो । त्यतिवेला वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालले प्रत्यारोपण सुरु गरे । त्यसयता अहिलेसम्म नेपालमा पााच सय ६५ जनाको मात्र प्रत्यारोपण भएको छ । वीर अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा डा. पुकारचन्द्र श्रेष्ठ पनि अभियानमा थिए । अहिले उनी भक्तपुरस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक छन् । मिर्गौला प्रत्यारोपण, सुरुवाती अवस्था र यो क्षेत्रमा आउनुको कारणबारे डा श्रेष्ठसंग गरिएको कुराकानी उनकै शव्दमा :

डा. पुकारचन्द्र श्रेष्ठ
डा. पुकारचन्द्र श्रेष्ठ

यसरी भएँ डाक्टर

विद्यालय तहको शिक्षा पुख्र्यौली थलो बागलुङस्थित विद्यामन्दिर विद्यालयबाट पूरा गरेँ । ०३६ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि आइएस्सी पढ्न काठमाडौं आएँ । लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट मैले ०३८ सालमा आइएस्सी सकेँ । त्यसपछि कुन विषय रोज्ने भन्ने अन्योल भयो ।

बुबा (कुलबहादुर श्रेष्ठ) न्याय क्षेत्रमा हुनुहुन्थ्यो । हामी तीन दाजुभाइ । जेठो दाजु इन्जिनियरिङ विषयमा लाग्नुभयो, माइलो दाजुले (प्रधानन्यायाधीश कल्याण श्रेष्ठ) बुबाकै बाटो समात्नुभयो । त्यसकारण मैले फरक विषय रोजेँ, चिकित्सा क्षेत्रलाई आफ्नो भविष्य ठानेँ ।

चिकित्सा अध्ययनका लागि बंगलादेश गएँ । सन् १९९० मा एमबिबिएस सकेपछि दुई वर्ष वीर अस्पतालमा काम गरेँ । त्यसपछि पोस्ट ग्रयाजुएसन (एमडी) गर्न मन लाग्यो । सुरुमा त के विषयमा एमडी गर्ने होला भन्ने कुनै ‘आइडिया’ थिएन । पछि सर्जरी उपयुक्त ठानेँ, रोजेँ । सर्जरी रोज्नुको पछाडि एउटै कारण थियो– तत्काल नतिजा देखिने । ‘फिजिसियन’ भए लामो समयसम्म औषधि चलाउनुपर्ने हुन्छ । ‘रिजल्ट’ देखिन पनि लामै समय लाग्छ । मलाई तत्काल रिजल्ट आउने कुरा मन पर्‍यो । गोली लागेर मर्ने अवस्थामा पुगेको एउटा व्यक्तिलाई अप्रेसन गरेर बचाउन सर्जरी पढे मात्र सकिन्छ भन्ने भयो ।

एमडीपछि मलाई काठमाडौंमा होइन, उपत्यकाबाहिर काम गर्न मन लाग्यो । तुलनात्मक रूपमा त्यतिवेला उपत्यकामा चिकित्सकको संख्या धेरै थियो । उपत्यकाबाहिर खासै धेरै चिकित्सक हुनुहुन्थेन । त्यसैले मैले लुम्बिनी अञ्चल अस्पताल बुटवल जाने निर्णय गरेँ ।

पहाड र तराईका ग्रामीण क्षेत्रका धेरै बिरामीको चाप थियो बुटवलमा । कोही ‘सिरियस’ बिरामी आउँथे, कोही तत्काल अप्रेसन गर्नुपर्ने । मैले सबैलाई सकेसम्म त्यहीँ बुटवलमै उपचार गर्ने प्रयास गरेँ । त्यसअघि त्यहाँबाट काठमाडौं ‘रिफर’ गर्ने चलन बढी थियो । त्यसरी रिफर गर्दा कतिले त काठमाडौं नपुग्दै ज्यान गुमाउनुपथ्र्यो । मैले त्यस्तो प्रचलन रोक्ने प्रयास गरेँ ।

यसरी आकर्षित भएँ प्रत्यारोपणमा :

दुई वर्ष बुटवल बस्दा अंग ‘फेल’ भएका बिरामीको चाप निकै थियो । यसले मलाई चिन्तित बनायो । विशेष गरी मिर्गौला र कलेजो फेल भएर आउनेको संख्या दिनानुदिन बढिरहेको थियो । त्यसमा पनि मिर्गौला र कलेजोसम्बन्धी रोग लागेका बिरामीको चाप बढी थियो । कतिको त मिर्गौला र कलेजो प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पुगिसकेको हुन्थ्यो ।

अत्यधिक मदिरा सेवनका कारण धेरैको कलेजो ‘फेलियर’ भइसकेको हुन्थ्यो । हेपाटाइटिस बी र सीका बिरामीको संख्या पनि ठूलो थियो । तीमध्ये एक–दुईजनाबाहेक अधिकांशको मृत्यु शतप्रतिशत छ भन्ने पनि थाहा थियो ।त्यसका अनेक कारणमध्ये नेपालमा अंग प्रत्यारोपण नहुनु पनि थियो । कोही अत्यन्त धनी व्यक्तिहरू विदेश गएर अंग प्रत्यारोपण गर्न सक्थे, अन्य सर्वसाधारणको पहुँचमा प्रत्यारोपण सम्भव थिएन ।

आन्द्राको अप्रेसन, पित्तथैली वा पत्थरीको अप्रेसनजस्ता सानातिना अप्रेसन गरेको मलाई खास काम त प्रत्यारोपण पो रहेछ भन्ने लाग्यो । यो चिन्ताले मलाई छोप्यो । मैले ‘गुगल’मा यसबारे अध्ययन गरेँ । अध्ययन गर्न कहाँ ठीक होला भन्ने खोजेँ । बेलायतको एक विश्वविद्यालयमा अंग प्रत्यारोपणसम्बन्धी छात्रवृत्तिमा भर्ना लिने जानकारी थाहा पाएँ । त्यसमा मैले पनि प्रतिस्पर्धा गरेँ । र, अन्तत: कलेजो प्रत्यारोपणका लागि छानिएँ ।

मैले त्यहाँ छोटो अवधिका लागि छात्रवृत्ति पाएको थिएँ, तर सो अवधिमा निकै मन लगाएर सिकेँ । उहाँहरूको कामको अनुसन्धान पनि गर्न सहभागी भएँ । पछि पुन: कलेजो प्रत्यारोपणका लागि फेलोसिप गर्न बोलाइयो । त्यसपछि मेरो दैनिकी विभिन्न ठाउँमा अंग निकाल्न जाने या त दिनभर प्रत्यारोपण गर्नेमै बित्न थाल्यो । तर, म पूर्ण रूपमा खुसी भइनँ ।

नेपालमा कलेजो प्रत्यारोपणभन्दा बढी आवश्यकता मिर्गौला प्रत्यारोपणको छ भन्ने मलाई थाहा थियो । तर, मैले कलेजो प्रत्यारोपण सिकिरहेको थिएँ । मलाई लाग्यो, मिर्गौला प्रत्यारोपण सिक्नु जरुरी छ । नेपालमा कलेजोभन्दा मिर्गौला फेल भएका धेरै ‘केस’ आउँछन् । खर्चको हिसाबले पनि कलेजोको तुलनामा मिर्गौला प्रत्यारोपण गर्न सहज हुन्छ, प्राविधिक रूपमा पनि त्यस्तै । मलाई त्यतिवेला लाग्यो, मिर्गौला प्रत्यारोपण नहुने ठाउँमा कलेजो प्रत्यारोपण गर्न व्यावहारिक नहोला । अनि, मैले मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने न्युक्यासलको फ्रिम्यान हस्पिटलबारे बुझेँ । त्यहाँ प्याङक्रियाज, फोक्सो, मुटुजस्ता सबै अंगको प्रत्यारोपण हुन्छ । मैले पनि त्यही अस्पतालमा काम गर्ने मौका पाएँ ।

बेलायतको ६ वर्षे बसाइ (सन् २००२ देखि २००८ सम्म)मा मैले मिर्गौला, कलेजो र प्याङक्रियाजको प्रत्यारोपणमा गर्नमै बिताएँ । त्यहाँ मैले प्रत्यारोपणको प्रारम्भिक अवस्था पनि सिकेँ, यही विषयमा आफूलाई अगाडि पनि बढाएँ ।

म त्यहाँ काम गर्दा शनिबार र आइतबार सार्वजनिक बिदा हुन्थ्यो । बिदामा घुम्न जाने चलन थियो । अरू साथीहरू छुट्टीका दिन टाढा–टाढा घुम्न जान्थे, रमाइलोमा व्यस्त हुन्थे । तर, मचाहिँ बिदाका ती दिनमा पनि हस्पिटलमै जान्थँे । त्यहाँ प्रत्यारोपण भएको छ कि छैन ? छ भने अप्रेसन थिएटरमा घुसिहाल्थँे । मेरो आवश्यकता छ भने काम पनि गर्थेँ । छैन भने हेरेर बस्थेँ । अपरेसन नहुँदा राउन्डमा जान्थेँ । मेरो यस्तो स्वभावले त्यहाँका साथीले जिस्क्याउँथे, ‘आज तिम्रो बिदाको दिन, बाहिर यस्तो घाम लागेको छ ‘बिच’मा नगएर किन अस्पताल आएको ?’ मैले जवाफ दिन्थेँ, ‘यस्तो घाम त नेपालमा कति लाग्छ–लाग्छ, मलाई मतलब छैन ।’

काम सिक्दै जाँदा नै म गुरुहरूको पहिलो रोजाइमा परिसकेको थिएँ । किनकि, म सहज उपलब्ध थिएँ । मेरो काम देखेर प्रभावित भएका गुरुहरूले पछिल्लो समय पूरै जिम्मेवारी मेरो नेतृत्वमा सुम्पिदिन थाल्नुभयो ।

यसकारण नेपाल फर्किएँ :

मेरो कामबाट अति प्रभावित गुरुहरूले बेलायतमा नै बसेर काम गर्न आग्रह गर्नुभएको थियो । तर, नेपाल फर्किएर त्यहाँ सिकेको सीप स्वदेशको सेवामा खर्च गर्ने बताएँ । उहाँहरूले ‘तिम्रो देशमा सीपको प्रयोग गर्ने स्रोतसाधन नै छैन, कसरी गर्छौै’ भन्नुहुन्थ्यो । मैले जवाफ दिन्थेँ, ‘यो काम म गएर नै स्थापना गर्ने हो । बरु, त्यसका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ ।’

म नेपाल आएँ । त्यतिवेला मैले गरेको अनुरोधअनुसार नै म नेपाल आएपछि काम सुरु गरेँ । पछि मेरा गुरुहरू पनि आउनुभयो, दुईपटक । उहाँहरूले प्रत्यारोपणका लागि सहयोग पनि गर्नुभयो । नेपालमा मैले वीर अस्पतालबाट सन् २००८ डिसेम्बर १२ मा पहिलो प्रत्यारोपण गरेँ । त्यसयता वीर अस्पताल र मानव अंग प्रत्यारोपण भक्तपुरमा गरी दुई सय १५ जनाको प्रत्यारोपण गरिसकेको छु । जसमा ९८ प्रतिशत सफल भएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रको नेतृत्व :

तीन वर्ष भयो, यो मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएको । यहाँ अहिले एक इन्च स्थान खाली छैन । सरकारले ट्रमा सेन्टर र यो एउटै समयमा सुरु गर्ने निर्णय गरेको हो । हामीले यो केन्द्रलाई पूर्ण रूपमा नमुना केन्द्रका रूपमा सञ्चालन गर्न खोजिरहेका छौँ ।

यो केन्द्रमा अहिलेसम्म एक सय १५ जनाको प्रत्यारोपण सम्पन्न गरिसकेका छौँ । ९८ प्रतिशत सफल छ । यहाँ ठूलो परिमाणमा मिर्गौलासम्बन्धी समस्या भएका मानिस आउनुहुन्छ । हामी सेवा दिइरहेका छौँ ।

संसारमा जे–जस्तो उपचार हुन्छ, यहाँ पनि त्यही गुणस्तरको हुन्छ । प्रत्येक दिन सयजनाको डायलसिस हुन्छ । सरकारी संस्था हो, तर ४० वटा मेसिन बिहान ७ देखि बेलुका ११ बजेसम्म चल्छन् । इमर्जेन्सी डायलसिसका लागि ६ वटा मेसिन चौबिसै घन्टा चालू अवस्थामा हुन्छन् । पछिल्लो समय साताको तीनदेखि चारवटासम्म प्रत्यारोपण गरिरहेका छौँ ।

मिर्गौला चोरेको आरोपसम्म लाग्यो :

हामीले प्रत्यारोपण सुरु गरेको केही समयमा नै संखुवासभाका एकजना बिरामी आउनुभयो । उहाँको मिर्गौला प्रत्यारोपण गर्नैपर्ने अवस्थामा पुगिसकेको थियो । हामीले सबै परीक्षणपछि प्रत्यारोपण गरिदियौँ ।

सुरुमा सफल भएको थियो, तर पछि अचानक प्रेसर बढ्यो । हामीले अनेक प्रयासपछि नियन्त्रणमा त ल्यायौँ, तर प्रत्यारोपण गरेको मिर्गौला फेल भयो । प्रत्यारोपण गरेको मिर्गौला फेल भइसकेपछि त्यो शरीरमा राख्नु अत्यन्त खतरनाक हुन्छ । त्यसकारण त्यो मिर्गौला झिक्नैपर्ने थियो ।

हामीले बिरामी र तिनका आफन्तसँग सबै कुरा बताएर कागज गरेर त्यो मिर्गौला झिक्यौँ । तर पछि, बिरामी र तिनका आफन्तले आफूहरूको मिर्गौला झिकेर अन्य व्यक्तिलाई हालिदिएको भन्दै उजुरी हालेछन् । उनीहरूले मिडियाबाजी गरे । प्रधानमन्त्री कार्यालय, प्रहरी, मानवअधिकार आयोगदेखि दर्जनाँै निकायमा उजुरी हाले ।

दर्जनौँ ठाउँबाट छानबिन गरियो, तर त्यसको निष्कर्ष उही हुन्थ्यो, ‘बिरामीले तपाईंलाई फसाउन खोजेको रहेछ ।’ मैले त्यो मिर्गौला अहिलेसम्म सुरक्षित राखेको छु । संसारमा पाँचदेखि १० प्रतिशत मानिसको प्रत्यारोपण फेल हुन्छ, संखुवासभाका ती बिरामीको पनि प्रत्यारोपण फेल भएकै हो । तर, यसलाई नबुझेर आरोप लगाइयो ।

संसारमै सबैभन्दा कम मूल्यमा प्रत्यारोपण :

हाम्रो केन्द्र संसारमै सबैभन्दा कम शुल्कमा मिर्गौला प्रत्यारोपण गर्ने केन्द्र हो । यस केन्द्रमा प्रत्यारोपणका लागि अढाइ लाखदेखि तीन लाखको प्याकेज राखिएको छ ।

अझ महिलाको प्रत्यारोपणका लागि पुरुषले अंगदान गरेमा ५० हजार छुटको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था महिलाका लागि पुरुषले पनि अंगदान गरोस् भनी प्रोत्साहित गर्न ल्याइएको योजना हो ।

महिलाले पुरुषलाई अंगदान गर्छन् । जस्तै, आमाले छोरालाई गर्छिन्, श्रीमान्लाई श्रीमतीले, बाबुलाई छोरीले, तर त्यसको उल्टो खोइ ? श्रीमतीलाई भएमा श्रीमान्ले दिएको खै ? छोरीलाई बाबुले दिएको खै ? आमालाई छोराले दिएको खै ? यस्तो लैंगिक विभेद हटाउनका लागि हामीले यस्तो व्यवस्था सुरु गरेका हौँ ।

यो केन्द्र र आरोग्य प्रतिष्ठान मिलेर यस्तो व्यवस्था गरेको हो । डायलसिसका लागि पनि यो सबैभन्दा सस्तो केन्द्र हो । इमर्जेन्सी डाइलसिसको हामीले पाँच सय रुपैयाँ र नियमित डायलसिस गर्न दुई सय ५० रुपैयाँ सेवाशुल्क तोकेका छौँ । त्यसबाहेक करिब एक हजारजतिको औषधि सामग्री किन्नुपर्छ । तसर्थ, कुल डायलसिस खर्च करिब एक हजार तीन सयदेखि पाँच सयसम्म पुग्छ । त्यसबाहेक विपन्न नागरिकका लागि सरकारले तोकेअनुसार दुई वर्षसम्म नि:शुल्क सेवा दिइँदै आएको छ ।

कसरी जोगाउने मिर्गौला ?

मिर्गौला रोग बढिरहेको छ । नेपालमा यसको दर झन् बढी छ । बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीले रोग बढी देखिएको हो । उच्च रक्तचाप र मधुमेहको समस्या अत्यधिक रूपमा बढेको छ ।

मिर्गौला फेल हुने प्रमुख कारण उच्च रक्तचाप र मधुमेह नै हो । तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम र खानामा सावधानी अपनाए मिर्गौला फेल हुनबाट रोकिन्छ । मिर्गौला फेल हुने मात्रै होइन, सावधानी अपनाउन सकियो भने रतन्धो, हृदयाघात र मस्तिष्कघात हुनबाट पनि जोगिन्छ । त्यसकारण वर्षमा कम्तीमा एकपटक नियमित रूपमा शारीरिक परीक्षण गर्नैपर्छ ।

  • रामप्रसाद न्यौपानेले तयार पारेको यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *