नौ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था युनिसेफले बनाइदिने
नेपाली हेल्थ / काठमाडौँ-
गत १२ बैशाखको भूकम्पमा ध्वस्त भएका मध्ये ९ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बनाई दिने भएको छ । करीव २३ करोड ५० लाख लागतमा उसले बनाईदिन लागेको सबै स्वास्थ्य संस्था भवनहरु फ्रि फ्याव पद्धतीबाट निर्माण हुनेछन् । निर्माणपछि युनिसेफले ती संस्थाका लागि आवश्यक पर्ने उपकरण सहित सरकारलाई हस्तान्तरण गर्नेछ ।
स्वास्थ्य संस्था निर्माण गर्ने विषयमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठ र युनिसेफका तर्फबाट डा रौनक खानबीच समझदारीपत्रमा हस्ताक्षर भयो ।
आगामी जुन महिनासम्ममा सबै भवनहरु निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको युनिसेफले स्वास्थ्य संस्थाका लागि सबै फ्रिफ्याव सामग्री चीनबाट ल्याउने तयारी भएको जनाएको छ ।
युनिसेफका सञ्चारअधिकृत सरमिना मानन्धरका अनुसार गोर्खामा १२, धादिङमा ७, नुवाकोटमा ४, ललितपुरमा २, काभ्रेमा १० वटा स्वास्थ्य संस्था बन्ने छन् । त्यसैगरी दोलखामा ११, रामेछापमा १३, सोलुखुम्बुमा ९ र ओखलढुङ्गामा ६ वटा संस्था निर्माण हुनेछन् ।
युनिसेफका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा १ हजार २ सय भन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ । त्यसमध्ये करीव ८० प्रतिशत संस्था पूर्णरुमपा क्षति पुगेको छ ।
सम्पर्क इमेल : [email protected]