भूकम्पपीडितमा स्वाइन फ्लु देखियो

- नेपाली हेल्थ

पत्रिका / काठमाडौँ –

swinflu j
पालमा बस्दै आएका धादिङका भूकम्पपीडित एक युवामा स्वाइन फ्लु देखिएको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको परीक्षणमा ती युवामा स्वाइन फ्लु प्रमाणित भएको हो । प्रयोगशाला प्रमाणित स्वाइन फ्लुको उपचारपछि ती युवा शनिबार डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालमा करिब एक साताअघि भर्ना भएका २८ वर्षीय ती युवा केही महिनायता आफ्नो गाउँबाट कतै गएका थिएनन् । उनलाई खोकी, ज्वरो, घाँटीमा खसखस, जोर्नी दुखाइलगायतका लक्षण देखिएपछि अस्पताल ल्याइएको थियो । संक्रमणले सामान्य स्वस्थ व्यक्तिलाई खासै फरक नपारे पनि बालबालिका, वृद्घवृद्धा, गर्भवती, दम, श्वास रोगी, क्यान्सर भएका, अंग प्रत्यारोपण गराएका, एचआईभी/एडसलगायत रोग प्रतिरोधक क्षमता कम भएकाहरूका लागि जोखिमपूर्ण मानिन्छ ।
‘ती युवाको चिकित्सकीय इतिहासले पालमा बस्ने धादिङको भूकम्प प्रभावितमा स्वाइन फ्लु संक्रमण देखिन सक्ने संकेत गरेको छ,’ अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले भने, ‘राजधानी मात्र नभई भूकम्पपीडित क्षेत्रहरूमा समेत मौसमी रुघाखोकीसँगै स्वाइन फ्लुको सम्भावना छ ।’

भूकम्पबाट बढी प्रभावित १४ जिल्लाका पीडितहरूको स्वास्थ्य जोखिमपूर्ण रहेको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘पालमा सानो ठाउँमा, धेरै जना मिलेर बसेका छन् ।

चिसो र श्वास–प्रश्वासको रोगले सताउने सम्भावना अत्यधिक छ ।’ सरकारी तथ्यांकअनुसार भूकम्पले बेघर भएका करिब पाँच लाखभन्दा बढी परिवार पाल वा टिनको टहरामा बसिरहेका छन् । धादिङ सल्यानटारका भूकम्प प्रभावितको अवस्था औंल्याउँदै डा. मरासिनीले भने, ‘खाट छैन, भुइँमा सुतेका छन्, पर्याप्त ओढ्ने छैन, तलमाथि दुवै ठाउँबाट चिसो आउने, पालबाट शीत झर्ने अवस्था छ । पालभित्र आगो बाल्न मिल्दैन, कसरी बसेका छन् के भनौं ।’

अत्यन्त चिसोसँगै विषम् परिस्थिति झेलिरहेका भूकम्पपीडितमा पोषणको समेत कमी रहेकाले संक्रमणको जोखिम उच्च रहेको उनको भनाइ छ ।

डा. पुनका अनुसार ती क्षेत्रमा वृद्घ, बालबालिका, गर्भवती, दीर्घरोगी, दम, श्वास–प्रश्वासका रोगी, एचआईभी संक्रमित, रोग प्रतिरोधक क्षमता कम भएकालाई सम्भावित स्वाइन फ्लुलगायत अन्य श्वास–प्रश्वासको संक्रमणबाट जोगाउनु चुनौती बनेको छ । स्वाइनबाट बच्न खोक्दा वा हाच्छिउँ गर्दा नाकमुख सफा रुमालले छोप्नुपर्छ ।

जथाभावी, जहाँ–तहाँ थुक, सिँगान फ्याँक्नु हुन्न, अनावश्यक रूपमा आँखा, नाक, मुखमा हातले छुनु हुन्न । ‘हातलाई साबुन पानीले राम्ररी धुने, रुघाखोकीको बिरामीबाट कम्तीमा एक मिटर टाढा बस्नेजस्ता सामान्य सावधानी अपनाए यो संक्रमणबाट हदैसम्म बच्न सकिन्छ,’ उनले भने ।

एक सय एक डिग्रीभन्दा बढी ज्वरो तीन/चार दिनभन्दा बढी रहनु, सास लिन समस्या, छातीमा दुखाइ, रुघाखोकी र कफ, सुस्ती, थकाइ, बान्ता र भोक नलाग्नु स्वाइन फ्लुका मुख्य लक्षण हुन् । कडा खालको र थेग्न नसकिने रुघाखोकी देखिए जोसुकैले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । जोखिम समूहमा भएकामा स्वाइनको लक्षण देखिए समय खेर नफाली स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने डा. पुनले सुझाए ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार

थप समाचार


Facebook Comment