औषधि निरीक्षणका लागि चार महिनाको अवधी शून्य प्रगति

काठमाडौँ-dda

औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय बीरगञ्जको पहिलो चार महिनाको फार्मेसी निरीक्षण प्रगति बिबरण शून्य देखिएको छ । क्षेत्रीय कार्यालयले चालु आर्थिक बर्षमा ३६० वटा औषधि पसल निरीक्षण गर्ने लक्ष्य लिएको थियो ।

विभागको सोमबार बसेको पहिलो चौमासिक समिक्षा गोष्ठीमा क्षेत्रीय कार्यालय बीरगञ्जका प्रमुख भाग्यनारायण सिंहले पछिल्लो चार महिनाको प्रगति विबरण बुझाउनै सकेनन् । उनले मधेसमा जारी आन्दोलनका कारण एउटै फार्मेसी पनि निरीक्षण गर्न नसकिएको बताए ।

क्षेत्रीय कार्यालय बीरगञ्जको नेतृत्व गर्दै समिक्षा गोष्ठीमा भाग लिन राजधानी आएका सिंहले आन्दोलन सकिएपछि मात्रै निरीक्षणको काम हुन सक्ने बताए । निरीक्षणकै लागि बीरगञ्ज कार्यालयमा दुई जना निरीक्षक तोकिएको छ । उनीहरुले जनकपुर र नारायणी अञ्चलका तराई र भित्री मधेशका गरी १० जिल्लाका औषधि पसल तथा उद्योगहरुको निरीक्षण गर्ने तोकिएको छ ।

विभागका प्रवक्ता नारायण ढकालले क्षेत्रीय कार्यालय विराटनगरले ३६० लक्ष्यमा ६० वटा अर्थात १६.६६ प्रतिशत, नेपालगञ्जले ३६० लक्ष्यमा ४८ वटा अर्थात १३.३३ प्रतिशत र केन्द्रले १९२० लक्ष्यमा ३३६ अर्थात १७.५ प्रतिशत पुरा गरेको बताए । समग्रमा पहिलो चौमासिकको प्रगति भने मात्रै ११.८७ प्रतिशत रहेको छ । उनले बीरगञ्जमा सून्य भएपनि अन्यत्र केही काम भएको बताउदै बाकी अवधीमा कामले तिव्रता लिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *