कहिलेकाहीँ कल्पिन्छु ‘आफैँ आँखा नदेख्ने भएँ भने’-डा. सन्दुक रुइत

पत्रिका-

sundik-1024x681
बरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत

आफ्नो सीप, श्रम र प्रेम अरूका निम्ति खर्चिनेहरू वास्तवमा धेरै रोएका हुन्छन्, दु:खमा पनि, दु:ख छिचोलेपछिको सुखमा पनि । हजारौँका आँखाको आँसुसँगै ऊ आफ्ना आँखामा मूल फुटाउन बाध्य हुन्छ र फेरि उजेलिएका हजारौँका मुहार हेर्दै ऊ अश्रुधारामै मुस्कुराउन तयार हुन्छ । तर, हाँस्दाहाँस्दै रुनुपर्ने र रुँदारुँदै हाँस्न पाइने जीवन कमैले मात्र भोग्न पाएका हुन्छन् । यस्तै दुर्लभ एक पात्र हुन्, डा. सन्दुक रुइत, जसले लाखौँ मानिसको अँध्यारो जीवनलाई उज्यालो बनाइदिएका छन्, गुमेका आँखाका ज्योति फर्काइदिएर ।

रुइतले सन् २००६ मा ‘रमन म्याग्सेसे’ अवार्ड पाए । एसियाकै नोबल पुरस्कार मानिने यो अवार्ड उनको हातमा थामिएसँगै पूरा एसियामा उनी चर्चित बने । सायद, उनको जीवनको सबैभन्दा सफलता र गर्वको दिन नै त्यही थियो, धेरैलाई लाग्न सक्छ । तर, रुइतको नजरमा दुनियाँको यो अनुमान शतप्रतिशत सही होइन । उनी त्यतिवेला सबैभन्दा धेरै गर्वको अनुभूति गर्छन्, जब आँखा गुमेका व्यक्तिले उपचारपछि नयाँ ज्योति उपहार पाएको महसुस गर्छन् । उनका आँखामा आँसु र मुहारमा खुसी त्यतिखेर एकैसाथ पैदा हुन्छ, जब कोही व्यक्ति अँध्यारो संसारलाई जितेर उज्यालो संसार हेर्दै दंग पर्न थाल्छन् । उनी त्यतिखेर आफैँले आफैँलाई पुरस्कृत घोषित गर्छन्, जतिवेला कोही अन्धो व्यक्ति एकाएक नजर जुधाउँदै ‘मेरो डाक्टर’ भनेर आँखाबाट मोती झार्न थाल्छन् । एक दशकअघिको म्याग्सेसे पुरस्कार पाउँदाको प्रसंगलाई बिट मार्दै डा. रुइत एकैचोटि तीन दशकअघिको महाखुसीमा डुब्न पुगे ।

सम्झिए त्यो खुसीको तस्बिर, तर भन्ने वाक्य नै छान्न सकिरहेका थिएनन् । एकैछिन रोकिएर स्मरण ओकल्न सुरु गरे, घटना धनकुटाको पाख्रिबासमा गरिएको आँखा शिविरको थियो । उनको शिविरमा एउटी महिला आइन्, २५–२६ वर्षकी । सात वर्षदेखि महिलाका दुवै आँखाका ज्योति कामविहीन भएका थिए । ती महिलासँगै थिए उनका श्रीमान् र झन्डै तीन वर्ष उमेरका एक सन्तान पनि । श्रीमान् लठेब्रोजस्ता देखिन्थे । ‘उनी संखुवासभाको निकै विकट गाउँ नुमबाट आएकी थिइन्,’ रुइतले सम्झिँदै गए, ‘विकट बाटो हुँदै शिविरसम्म आइपुग्न ती नेत्रज्योतिविहीन महिलालाई एक साता समय लागेछ ।’ रुइतले शल्यक्रियाकै दिन ती महिलालाई राम्रोसँग ‘नोटिस’ गरेका थिए । लाउँला र खाउँलाको उमेरमा संसार देख्न नपाउनु र लोग्नेको अवस्था पनि असहज देखिनुले रुइतको मनमा उनीप्रति चिन्ता जन्मिसकेको थियो । अझ सानो बच्चाको निर्दोष हेराइले रुइतको मनमा तितो गडेको थियो । ‘कम्तीमा निर्दोष बच्चाकै भविष्यका लागि भए पनि यिनले आँखा देख्नुपर्छ’ भन्दै रुइतले भगवान् सम्झिँदै महिलाका दुवै आँखाको शल्यक्रिया गरे ।

भोलिपल्ट खुल्दुलीसाथ रुइत महिला बसेको पालभित्र पुगे । उनले बिस्तारै आँखाको पट्टी खोलिदिए । ‘पट्टी खोलेपछि मैले सोधेँ– मलाई देख्नुभयो ?’ रुइतले सम्झिए, ‘उनले देखेँ भनेपछि मलाई निकै खुसी लाग्यो ।’ रुइत पालमै थिए, महिलाको आडैमा । अर्को छेउतिर उनको सन्तान लिटो खाइरहेको थियो, बुबाको हातबाट । अचानक बच्चा खै के कारणले चिच्यायो । आमाले आँखा टाठो पारेर बच्चातिर हेरिन् । त्यसपछि उनले बच्चालाई यसरी झम्टिइन् कि त्यो तस्बिरलाई शब्दमा उतार्नै सक्दैनन् रुइत । ‘उनले बच्चालाई काखमा लिइन् । एकछिनसम्म टुलटुल्ती बच्चाको अनुहार हेरिरहिन्, हात छामिन् । उनका आँखाबाट तपतपी आँसु चुहिन थाले । अन्धोपनमै जन्माएको आफ्नो सन्तानलाई उनी पहिलोपटक देख्दै थिइन् । उनले त्यतिखेर देखाएको ‘एक्स्प्रेसन’को व्याख्या गर्ने कुनै शब्द नै छैन मसँग,’ रुइतले भने, ‘मेरो जिन्दगीमै त्यो दृश्य सबैभन्दा ‘टच्ची मोमेन्ट’ हो ।’

लाखौँको उपचार गरेका रुइतसँग भुल्न नसक्ने घटना त धेरै छन् । तर, जीवन कति मूल्यवान् छ र आँखाको शक्ति के हो भन्ने कुरा ती महिलाको उपचारबाट थप बुझ्ने मौका पाए । डिप्रेसनको सिकार भइसकेकी ती महिला एकै दिनमा उज्याली देखिँदा रुइतले सोच्न थाले, आँखाको तनावले यस्ती सुन्दरीलाई पनि कस्तो कुरूप बनाइदिँदो रहेछ । त्यसो त रुइतले गिरिजाप्रसाद कोइराला, हुलासचन्द्र गोल्छा, अमर गुरुङलगायत धेरै प्रतिष्ठित व्यक्तिका आँखाको शल्यक्रिया पनि गरे, तर ती महिलाको सफल शल्यक्रियापछि मिलेकोजस्तो ऊर्जा कहिल्यै मिलेन । उनी सम्झिन्छन्, ‘मलाई त ती महिलाको खुसी देखेर अचम्मले शारीरिक ऊर्जा प्राप्त भएको थियो, डिस्चार्ज भएको ब्याट्री रिचार्ज भएजस्तो ।’

 देश–विदेशका कुना–काप्चासम्मका बिरामीको आँखाको ज्योति फर्काउन दौडिरहेका हुन्छन्, डा. रुइत । गुमेको ज्योति फर्किएपछि कैयौँले भन्छन् उनलाई, मेरा सूर्य देवता । कोही उनका हात मुसार्न थाल्छन्, कोही अंकमाल गर्न आइपुग्छन् । आँखा गुमाएका एकजना बौलाहा व्यक्तिलाई चारजनाले समातेर आँखाको सफल शल्यक्रिया गरेदेखि चीनमा एक सय सात वर्षकी वृद्धालाई उज्यालो संसार देखाउन सफल भएसम्मका अनगिन्ती खुसी रुइतको मनमा सँगालिएका छन् । एक भियतनामी डाक्टरले बिरामीबाट पाएको उपहार आफूलाई पठाइदिएको घटनाले पनि उनलाई आफ्नो कर्मप्रति उद्वेलित पार्छ । ‘मैले ट्रेनिङ दिएका एकजना भियतनामका डाक्टर थिए । उनले एउटा अन्धो मूर्तिकारलाई आँखा देख्ने बनाइदिएबापत मूर्तिकारबाट घोडाको मूर्ति उपहार पाएका रहेछन् । मार्बलबाट बनाइएको घोडाको त्यो मूर्ति मलाई पठाइदिएछन्, गुरु मानेर । मलाई उपहार पाउनुमा भन्दा पनि आफूले पढाएको विद्यार्थीको सफल काम देखेर गर्व लाग्यो,’ रुइतले सुनाए ।

केही व्यक्तिसँग सहयोग जुटाएर तिलगंगा आँखा अस्पताल सञ्चालनमा ल्याएका रुइत उमेरले ६० वर्षका भए । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएर आजका दिनसम्म आउँदा उनका जीवनमा सँगालिएका उतार–चढाबको कथा लामो छ । जीवनको यही लामो कथाबाट एउटा वाक्य झिक्नुपर्दा उनी रोज्छन्, ‘मलाई भगवान्ले ठूलो अवसर दिनुभएको छ ।’ धेरैका गुमेका ज्योति फर्काएर उज्यालो संसार देखाउन सक्ने क्षमता पाएकोमा प्राय: खुसी रहने उनी कहिलेकाहीँ भने आफ्नै आँखाबारे कल्पनामा डुब्छन् । आँखाको सम्बन्ध शरीरका अन्य अंगसँग पनि जोडिने भएकाले अरू रोगको असर आँखामा पर्छ । ब्लड प्रेसरको मात्रा केही बढी भएका डा. रुइतको आँखामा अहिले धेरै नजिकको देख्न असहज हुने समस्या छ । ठूलै समस्या भने होइन । आँखा जोगाउन उनी शरीरलाई सन्तुलनमा राख्ने विषयमा निकै सजग छन् । तर पनि, ‘आँखाको ज्योति गुम्यो भने ?’ भन्ने डरले उनलाई पनि वेला–वेला सताउँछ । ‘स्वयम्भूतिर घुम्न जाँदा कहिल्यै ज्योति फर्काउन नसकिने अन्धा मान्छेहरू देख्दा लाग्छ, यदि मेरो पनि हालत यस्तै भयो भने ?’ डा. रुइतले अगाडि सुनाए, ‘खाँदबारीकी २५ वर्षीया युवतीको उपचारअघिको अवस्था पनि सम्झनामा आउँछ । आफ्नै आँखाबारे कल्पिँदा–कल्पिँदै म निराश हुन थाल्छु । जिन्दगी कसरी बित्ला भन्ने चिन्ता बढ्छ । उकुसमुकुस हुन थाल्छ । असहज हुन थालेपछि म आँखाबारे सोच्नै छाडिदिन्छु । त्यो कल्पनाबाट जोड गरेर उम्किने प्रयास गर्छु ।’ कामना गरौँ, दुनियाँका गुमेका आँखाको ज्योति फर्काएर सुन्दर संसार देखाउने डाक्टर सन्दुकको कल्पना कल्पनामै सीमित रहोस् ।

आजको नयाँ पत्रिका प्रकाशित डा. रुइतको जीवन भोगाई प्रबीण देवकोटाले तयार पारेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *