क्षयरोगको औषधि पनि अब बालमैत्री स्वादमा !

केपटाउन / दक्षिण अफ्रिका –Banner-1200x550-01

क्षयरोग लागेका बालबालिकालाई औषधि खुवाउँदा हुने सास्ती अव स्वास्थ्यकर्मी तथा अभिभावकहरुले बेहोर्न नपर्ने भएको छ । औषधि उत्पादकहरुले बालबालिकालाई लक्षित गरी उनीहरुकै मनपर्ने स्वादमा क्षयरोग बिरुद्धको औषधि उत्पादन गरेपछि सास्ती हट्ने विश्वास गरिएको हो ।

केपटाउनमा जारी द युनियनको ४६ औँ विश्व सम्मेलनमा बुधबार आयोजित विशेष समारोहमा क्षयरोगको क्षेत्रमा काम गरेका टीबी एलाइन्स र यसका सहयोगी संस्थाले बालबालिकालाई लक्षित गरी उत्पादन गरिएको नयाँ बालमैत्री औषधि सार्वजनिक गरेका थिए ।

सजिलै घुलित हुने र स्वाद बालबालिकालाई मनपर्ने खालको भएकोले यो औषधि खान संक्रमित बालबालिकाहरु अनिच्छुक नहुने उत्पादकहरुको दावी छ । अहिलेसम्म टीबी लागेका बालबालिकाहरुलाई स्वास्थ्यकर्मी तथा अभिभावकहरुले ठूलो व्यक्तिले खाने औषधिलाई नै टुक्रा पारी मात्रा निर्धारण गरि खुवाउने चलन छ । यसरी खुवाउदा कहिलेकाही औषधिको डोजमा घटबढ हुन गई बालबालिकाको स्वास्थ्यमा झनै नकारात्मक असर पर्ने गरेको छ ।

सोही समस्याको समाधान गर्न क्षयरोगको क्षेत्रमा काम गर्ने संस्था र औषधि उत्पादकहरु मिलेर बालमैत्री औषधिको निमार्ण गरेका हुन् । सम्मेलनमा जानकारी गराइए अनुसार सार्वजनिक गरिएको औषधि कुनै नयाँ नभई टीबी उपचारमा प्रयोग हुने तीन वटा औषधिहरु ( रिफाम्पिसिन, आइसोनियजेड, पाइराजिनामाइड) को निश्चित डोज मिलाएर बनाइएको हो ।

यस्तो औषधि उत्पादन गर्न टीबी अलाइन्स र औषधि उत्पादकहरुले तीन बर्ष समय लगाएको उनीहरुले जनाएका छन् । औषधि उत्पादनको लागि खासगरी युएनआइटीएआइडी र युएसएआईडीका अतिरिक्त अन्य दाताहरुले समेत सहयोग पुरयाएका थिए । अहिले यो बालमैत्री औषधि विश्व स्वास्थ्य संगठन( डव्लुएचओ)बाट स्वीकृति लिने प्रक्रियामा रहेको छ । डव्लुएचओले स्वीकृति दिनासाथ यो विश्वभरका करोडौ बालबालिकाका लागि प्रयोग हुने र बरदान सावित हुने विज्ञहरुको बुझाई छ ।

क्षयरोगको विरुद्धको औषधि नखाँदा वा खुवाउन नसक्दा संसारभर बर्षेनी करीब १ लाख ४० हजार बालबालिकाको ज्यान जाने गरेको छ । भने करीव १० लाख बालबालिकाहरु यो रोगको संक्रमणमा पर्ने गरेको डव्लुएचओको तथ्यांकमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *