१२ पटक फेल भएकाको परीक्षा दिँदै थिए नक्कली परीक्षार्थीले

नेपालीहेल्थ /काठमाडौँ, १२ मंसिर-

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा पक्राउ परेका दुई नक्कली परीक्षार्थीले लाइसेन्स परीक्षामा १२ औ पटक सम्म अनुतीर्ण भएका व्यक्तिको परीक्षा दिदै थिए । यद्धपी उनीहरुको योजना सफल हुन सकेन ।

काउन्सिल उच्च स्रोतका अनुसार खेसरिया – ७ रौतहटका सरोज साहले दिलदयाल उपाध्याय मेमोरियल कलेज सितामणी भारतबाट सन् २००० मा प्लस टु सिध्याएका थिए । त्यसलगत्तै चिकित्साविज्ञान अध्ययन गर्न चीन तर्फ हान्निएका उनी सिचुवान युनिभर्सिर्टीबाट सन २००७ मा एमविविएस उत्तीर्ण गरेका विद्यार्थी हुन् । त्यसलगत्तै नेपाल फर्केर लाइसेन्स परीक्षामा सहभागी भएका साहले १२ पटक सम्म त परीक्षा दिए तर सफल हुन सकेनन । यसपटक तेह्रौ पटकको परीक्षाका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान( आइओएम)  महाराजगञ्ज क्याम्पसमा एमविविएस अध्ययनरत इन्टर्न विद्यार्थी नीरज शर्मालाई खेताला खोजेका थिए ।

अर्का विद्यार्थी नविन कुमार यादव पनि काउन्सिलले लिएको परीक्षामा ८ पटक सम्म फेल भएका विद्यार्थी हुन् । सनहेडा १ सिरहाका यादवले सन् २०००मा विहार इन्टरमिडियट कलेज भारतबाट आइएस्सी गरेका थिए । त्यसलगत्तै चिकित्सा विज्ञान अध्ययनका लागि चीन तर्फ हानिएका उनले सन २०१२ मा एमविविएस सकेका थिए । त्यसयता ८ पटक सम्म उनले काउन्सिलको परीक्षामा लगातार सहभागी हुन खोजे तर सफल हुन सकेनन् । यसपटक उनले आफ्नो लाइसेन्स परीक्षाका लागि डा. सुशील मण्डललाई खेताला खोजेका थिए । तर उनको योजना सफल हुन सकेन । डा. मण्डल त्रिभुनव विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान( आइओएम) महाराजगञ्ज क्याम्पसबाट एमविविएस उत्तीर्ण गरी सन् २०१३ मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सक हुन् ।

स्वयम्भू सानोभर्याङ स्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार विहान ९ बजे देखी सुरु हुने परीक्षाका लागिआइओएमका विद्यार्थी शर्मा र डा. मण्डलले क्रमस साह र यादवको प्रवेशपत्रमा आ आफ्नो फोटो टासेर हल भित्र छिरेका थिए । परीक्षाका लागि खटिएका कर्मचारीले प्रवेशपत्र संकास्पद मानेपछि थप छानवीन गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले नक्कली परीक्षार्थीलाई स्वयम्भू प्रहरीको जिम्मा लगाइएको र प्रहरीले छानवीन गरिरहेको बताए । उनले नक्कली परीक्षार्थीको बारेमा भने केही खुलाउन चाहेनन् । ‘अहिले छानवीनकै क्रममा छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *