सुत्केरी गराउन चाहिने औषधि देशैभर अभाव

नेपालीहेल्थ / काठमाडौँ , १२ मंसिर-pregnant-523193488f9ed_exl

सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने औषधि ‘अक्सिटोसिन’को देशैभर अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ ।

देशभर दैनिक करिब दुई हजार महिला सुत्केरी हुने गर्छन् । ती सबैलाई अक्सिटोसिन औषधि दिनैपर्ने हुन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल अक्सिटोसिन विभिन्न जिल्लामा वितरण भएको छ । तर, त्यो औषधिको परिमाण निक्कै कम भएको महाशाखाको भनाइ छ ।

‘त्यो औषधिले केही दिनलाई काम चल्छ, धेरै दिन पुग्दैन,’ महाशाखाका निर्देशक डा. भीम टिंकरीले भने । उनले भारतबाट औषधि आउन नसकेको र अन्य देशबाटै ल्याउनुपर्ने अवस्था भएकाले फेरि पनि दातृ निकायलाई गुहार्नुको विकल्प नभएको बताए । ‘सरकारसँग भएको पनि सकिँदै गएको अवस्था छ । बजारमा पनि खास पाइएको छैन,’ नयाँ पत्रिकासँग उनले भने, ‘तत्काल ल्याउने पहल गरिरहेका छौँ ।’
डा. टिंकरीले सबै सुत्केरीलाई चलाउनुनपर्ने भएकाले युएनएफपिएसँग लिएको औषधिले केही दिन काम चल्ने बताए ।

तर, प्रसूतिगृह अस्पतालका निर्देशक एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले सबै सुत्केरीलाई कम्तीमा एक भाइल अक्सिटोसिन दिनैपर्ने बताए । उनले भने, ‘यो औषधिको दोहोरो काम हुन्छ । सुत्केरी नहुँदै व्यथा लगाउन पनि प्रयोग हुन्छ र सुत्केरी भइसकेपछि धेरै रक्तश्राव नहोस् भन्नका लागि साल नझर्दै सुत्केरीलाई दिइन्छ ।’

उनले औषधिको अभाव भए देशभर दैनिक हुने हजारौँ सुत्केरीका लागि समस्या हुने बताए । ‘प्रसूतिगृहमा मात्रै दैनिक कम्तीमा १२० जना सुत्केरी हुन्छन् । ती सबैलाई अक्सिटोसिन एक–एक भाइल अनिवार्य रूपमा दिइन्छ । यहाँ मात्रै होइन देशैभर सुत्केरी गराउने अस्पतालमा यो औषधिको प्रयोग हुन्छ । भएन भने त गाह्रो हुन्छ ।’ डा. गौतमले प्रसूतिगृहमा भने सो औषधिको अभाव हालसम्म नदेखिएको बताए ।

महाशाखाका निर्देशक डा. टिंकरीले आएका बिरामीलाई प्रयोग गर्ने औषधि मेनिनाडाजोल, आँखाको रोग सिप्रोफोक्लासासिन, आइड्रप, घाउको मलमलगायतका १० वटाभन्दा बढी औषधि पनि अभाव हुँदै गएको बताए । उनले बजारमा सुगरको औषधि पनि अभाव भएको बजार हल्ला चले पनि समस्या नरहेको जानकारी दिए ।

उनले केन्द्रीय अस्पतालका लागि प्रयोग हुने अप्रेसन तथा इमरजेन्सीका औषधि गैरआवासीय नेपालीहरूको संगठन एनआरएनले उपलब्ध गराएको भन्दै अब जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थाका लागि मात्रै समस्या भएको बताए ।

छोटो विधिबाट औषधि खरिद गरिँदै

भारतको अघोषित नाकाबन्दीले देशैभर औषधि अभाव भएपछि सरकारले छोटो विधिबाट औषधि खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्र औषधि आपूर्ति गर्ने गरी सात दिनको सूचना निकालेर औषधि खरिदको तयारी गरेको छ ।

सामान्य अवस्थामा औषधि खरिद प्रक्रिया सुरु गरेको ६ महिनापछि मात्रै औषधि आउँछ । निर्देशक डा. टिंकरीले आगामी सोमबार मन्त्रिपरिषद्को बैठममा औषधि खरिदसम्बन्धी व्यवस्था मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

‘अहिले अवस्था असहज छ,’ महाशाखाका निर्देशक डा. टिंकरीले भने, ‘गत वर्ष नै निर्णय भएको ७० प्रकारका नि:शुल्क औषधि पनि स्वास्थ्य चौकीसम्म पुर्‍याउनु छ । अरू औषधि पनि अभाव भइरहेको छ । त्यसैले पनि छिटो खरिद गरी वितरण गर्नुपर्छ ।’

आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *