खोप केन्द्रबाटै अभिभावकलाई सरसफाईको प्रशिक्षण

subharampaनेपाली हेल्थ/काठमाडौं, ५ मंसिर-

सरसफाईमा ध्यान दिन नसक्दा मानव स्वास्थ्यमा हुने असर न्युनिकरण गर्न सरकारले खोप सेवा मार्फत सरसफाई प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बच्चालाई खोप लगाउन आउने अभिभावकलाई खोपकेन्द्रमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य कार्यकर्ताले सरसफाईको र यसको महत्वको बारेमा प्रशिक्षण दिनेछन् ।

महिनामा देशभर करीव १६ हजार खोप केन्द्रहरु सञ्चालन हुने गर्दछ । ती केन्द्रमा हरेक आमा बाबु वा अभिभावक आफ्नो बच्चालाई बर्ष भित्रै सबै खोप दिलाउन कम्तीमा ५ पटक खोप क्लिनिकमा पुग्नु पर्छ । त्यसरी बच्चा लिएर केन्द्रसम्म पुगेका अभिभावकलाई महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य कार्यकर्ताले प्रशिक्षण दिनेछन ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाद्धारा सञ्चालन हुने यस कार्यक्रमलाई अन्तराष्ट्रिय गैरसरकारी संस्था वाटर एडको सहयोग रहेको छ । यो कार्यक्रमले पहिलो चरणमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दी जिल्लालाई मात्रै समेटने महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए ।

उनका अनुसार कार्यक्रम लागू भएका जिल्लाका प्रत्येक खोप केन्द्रमा बच्चा लिएर पुग्ने अभिभावकलाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले ५ वटा स्वास्थ्य सन्देश बारे प्रशिक्षण दिनेछन् । ती सन्देशहरुमा ६ महिनाको उमेरसम्म शिशुलाई स्तनपान मात्रै गराउने, राम्ररी पकाएको र सुरक्षीत खाना खुवाउने, सावुनपानीले मिचिमिचि हात धुने रहेका छन् । त्यस्तै दुध र पानी उमालेको मात्र खुवाउने, सधै सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमै फाल्ने लगायतका सन्देशहरु पनि स्वयंसेविकाहरुले अभिभावकहरुलाई दिनेछन् ।

खोप लिन आउने अभिभावकहरुमा सरसफाईसम्वन्धी बानी व्यवहारमा सकारात्मक परिवर्तन भएमा बच्चाहरुमा देखिने सरसफाईसंग सम्वन्धीत रोगहरुमा कमी आउन सक्ने र बालमृत्युदरमा उल्लेखनीय कमी हुने निर्देशक पौडेलले बताए । देशमा अहिलेपनि बर्षेनी हजारौ बालबालिकाहरुको सरसफाई तथा पानीजन्य रोगबाट ज्यान जाने गरकेो छ ।

‘ जनस्वास्थ्यका लागि सरसफाई पहिलो कडि ‘

सावुनपानीले हात धोएर कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरी
सावुनपानीले हात धोएर कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले जनस्वास्थ्यका लागि सरसफाई पहिलो कडि भएको बताएका छन् । उनले सरसफाई प्रति गरिएको हेलचेक्राईले लाग्ने रोगबाट बर्षेनी हजारौ बालबालिकाको ज्यान गुमाउनु परेको भन्दै यसमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धन कार्यक्रमको शनिबार राजधानीमा उदघाटन गर्दै मन्त्री चौधरीले खोप केन्द्रमा आउने अभिभावकलाई सरसफाईबारे ज्ञान अभिबृद्धि गर्न सके स्वास्थ्य क्षेत्रमा ठूलो उपलव्धी हुने समेत बताए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ्य नै धन हो भन्दै यसलाई चरितार्थ बन्न आम मानिस निरोगी हुनुपर्ने र त्यसका लागि सरसफाई जरुरी रहेको बताए । उनले कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वनयमा लैजान सबैको सहयोग हुनुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले नेपालको बालमृत्यु दर मातृमृत्युदर घटाउन उल्लेख्य भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविकाले यस कार्यक्रमलाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरे ।सुरक्षीत पिउने पानी , बाताबरणीय तथा व्यक्तिगत सरसफाई, सुरक्षीत खाना बनाउने र खुवाउने कुरामा पर्याप्त ध्यान दिन सकेमा झाडा पखाला हैजा टाइफाइड जस्ता सरुवा रोगको रोकथाम गर्न सकिने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव बिष्णु नेपाल, शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल, वाटरएड युकेका टेक्निकल म्यानेजर डा ओमप्रसाद गौतम, वाटरएड नेपालका राष्ट्रिय प्रतिनिधि तृप्ती राई, खोपशाखा प्रमुख मुकुन्द गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *