डेढ अर्बको औषधि ५ महिनादेखि विमानस्थलमै

नेपाली हेल्थ / काठमाडौं, ४ मंसिर-Nepal_aid_from_CHi_3281888b-300x187

भूकम्पका घाइतेको उपचारमा सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले हवाई कार्गो गरी पठाएका करिब डेढ अर्ब मूल्यबराबरको औषधि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा थन्किएको छ । एक प्रतिशत भन्सार महसुल तिर्न नसक्दा ठूलो परिमाणको औषधि भन्सारमा थन्किएको हो । त्यसमध्ये करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको नाकाबन्दीले बजार र अस्पतालमा अभाव हुन थालेपछि मन्त्रालयले औषधिको मौज्दात खोजी गर्ने क्रममा विमानस्थलमा रोकिएको औषधिबारे पुन: चासो देखाएको छ । रोकिएको औषधि शून्य भन्सार दरमा छुटाउने वा शुल्क तिर्ने भन्नेबारेमा अर्थ मन्त्रालयसँग छलफल गर्न लागेको उसले जनाएको छ ।

गत असार तेस्रो सातापछि भूकम्पपीडितलाई सहयोग पुर्‍याउन भन्दै अमेरिकी गैरसकारी संस्था होप प्रोजेक्ट युएसए र अन्य चारवटा संस्थाका नामबाट डेढ अर्बबराबरका महँगा औषधि नेपाल भित्रिएको थियो । त्यतिवेला भूकम्पकै लागि भनिए पनि २० असारपछि प्राप्त औषधिलाई सरकारले एक प्रतिशत भन्सार लिने निर्णय गरेको थियो । ढिलोगरी प्राप्त ती औषधि महसुल एक प्रतिशतको दरले डेढ करोड बढी तिर्नुपर्ने भएपछि मन्त्रालयको आपूर्ति महाशाखाले औषधि ल्याएको थिएन ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित बैठकमा विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको पुनर्चर्चा चलेपछि उपसचिव राजीव पोखरेलसहित दुईजनालाई अवस्था बुझ्न पठाइएको थियो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले विमानस्थलमा ठूलो परिमाणमा औषधि रहेको बुझिएपछि अवस्थाबारे जानकारी लिन प्रतिनिधि पठाएको बताए । उनले औषधिको अवस्था बुझेपछि त्यसलाई कसरी भन्सार छुटाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए ।

उपसचिव पोखरेलले भन्सारको गोदाममा महँगो दरका औषधि तथा उपकरण भएको र त्यहाँ अहिले अभाव भएको भनिएका कतिपय औषधि पनि रहेको जानकारी दिए । उनका अनुसार भूकम्पमा तत्काल प्रयोगमा आउने भन्दै पठाइएका कतिपय औषधि तथा मल्हम भने म्याद गुज्रिसकेको छ । ‘हामीसँग भएको औषधिको विवरण हेर्दा करिब १० प्रतिशत औषधिको म्याद गुज्रिसकेको होजस्तो लाग्छ । अब बाँकी औषधिलाई कसरी प्रयोगमा ल्याउने भन्ने तयारी हुँदै छ,’ उनले भने ।

३० हजार सलाइन आपूर्तिको गोदाममा

ठूला सरकारी अस्पतालका प्रमुखहरूले औषधिसहित सलाइनको समेत अभाव भएको बताउँदै आएका छन् । तर, स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले आफ्नो गोदाममा अहिले पनि झन्डै तीस हजार बोतल नर्मल सलाइन सुरक्षित रहेको जनाएको छ । त्यस्तै, भिटामिन र ग्लुकोजसमेत १२ हजारभन्दा बढी गोदाममा मौज्दात छ ।

महाशाखाका निर्देशक डा. भीम टिंकरीले भूकम्पका वेला प्राप्त सहयोगबाट संकलित सलाइन, ग्लुकोजजस्ता अत्यावश्यक औषधिजन्य पदार्थ गोदाममा थन्किएको बताए । उनले ती औषधि आवश्यकताका आधारमा उपत्यकाका केन्द्रीय अस्पतालमा पठाउन सकिने जानकारी दिए । ‘टेकुमै रहेको हाम्रो अस्थायी गोदाममा भूकम्पपछि सहयोगमा आएका धेरै औषधि छन् । त्यसमध्ये अहिले बजारमा सर्टेज भएको भनिएका सलाइन तथा ग्लुकोजसमेत छ । अभाव भएका ठाउँमा यी औषधिले काम चलाउन सकिन्छ,’ टिंकरीले नयाँ पत्रिकासँग भने ।

भूकम्पका वेला राष्ट्रसंघीय निकायहरू युनिसेफ, डब्लुएचओले आपूर्ति व्यवस्था महाशाखाको पार्किङ क्षेत्रमा अस्थायी गोदाम निर्माण गरी विभिन्न राष्ट्र, संस्था तथा व्यक्तिबाट प्राप्त सहयोगको औषधि भण्डारण गरी राखेको छ । ती गोदाममा औषधिसहित उपचारका लागि प्रयोग हुने उपकरणसमेत रहेको महाशाखाले जनाएको छ ।

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *