भूकम्पले क्षतिग्रस्त ब्लड बैंक सारिँदै

बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक
बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक

काठमाडौं, ३ मंसिर-

नेपाल रेडक्रस सोसाइटीद्वारा भृकुटीमण्डपमा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ललितपुरको बालकुमारीमा सर्ने भएको छ । आगामी १५ मंसिरदेखि सो ब्लड बैंकको सेवा ललितपुर रेडक्रसको भवनसँगै रहेको इमरजेन्सी ब्लड बैंकबाट हुने बताइएको छ । यद्यपि, रगतको वितरण तथा रिप्लेसमेन्ट सेवा भने पुल्चोकस्थित नेपाल हार्ट फाउन्डेसको कार्यालयबाटसमेत हुनेछ ।

रेडक्रसले गत १२ वैशाखको भूकम्पले मुख्य भवनमा क्षति पुर्‍याएको र सो भवनलाई भत्काएर नयाँ बनाउनुपर्ने भएकाले कम्तीमा दुई वर्षका लागि ब्लड बैंक सेवा सार्न लागेको जनाएको छ । गत वैशाखको भूकम्पले भृकुटीमण्डपको भवनमा क्षति पुगेपछि थाई रेडक्रसले नयाँ भवन निर्माणका लागि २० करोड रकम उपलब्ध गराइसकेको छ । त्यसबाहेक रेडक्रस तथा रेडक्रिसियन सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी), डेनिस रेडक्रस तथा अन्य देशका रेडक्रसले चाहिएको आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताएका छन् ।

नयाँ ब्लड बैंक अन्डरग्राउन्ड पार्किङ सुविधासहित कम्तीमा तीनतले हुने बताइएको छ । यद्यपि, नक्सा तयार भइनसकेको ब्लड बैंकका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार कम्तीमा एक तला सपिङ कम्लेक्सको रूपमा सञ्चालन गर्ने र दुई तला ब्लड बैंकमा प्रयोग गर्ने तयारी भएको छ ।

बालकुमारीको इमरजेन्सी ब्लड बैंक गत वर्ष मात्रै निर्माण भएको हो । ललितपुर रेडक्रसको छेवैमा रहेको ब्लड बैंक ९ रेक्टर स्केलको भूकम्प तथा प्राकृतिक विपत्तिका वेलासमेत सञ्चालनमा ल्याउन मिल्ने गरी बनाइएको छ । सो भवन ब्रिटिस रेडक्रसले बनाइदिएको हो । सो ब्लड बैंकमा एक हजार ६ सय युनिट रगत भण्डारण गर्न सकिन्छ । कम्तीमा तीन दिनसम्म विद्युत् अवरोध हुँदासम्म थेग्ने गरी सोलार प्यानलको व्यवस्था गरिएको छ ।

ब्लड बैंकका कार्यकारी निर्देशक डा. मनिता राजकर्णिकारले भृकुटीमण्डमै नयाँ अत्याधुनिक भवन बनाउने योजनाअनुरूप ब्लड बैंकको सेवा स्थानान्तरण गर्न लागिएको बताइन् । उनले अन्तर्राष्ट्रियस्तरको भवन बनिसकेपछि बालकुमारी लगिएको सेवा पुन: भृकुटीमण्डपबाटै प्रदान हुने बताइन् । बालकुमारीको ब्लड बैंकमा शिविरबाट जम्मा भएको रगत लगेर टेस्ट गर्ने, क्रस म्याच, तथा रगत तत्त्व बनाउनेजस्ता कार्य हुनेछन् । त्यहाँ तयारी भएको रगत आवश्यकताका आधारमा पुल्चोक पठाई हार्ट फाउन्डेसनको भवनबाट वितरण गर्ने तयारी ब्लड बैंकको छ । त्यसबाहेक रिप्लेसमेन्ट सेवा पनि पुल्चोकबाटै हुने व्यवस्था मिलाइएको ब्लड बैंकले जनाएको छ ।

ब्लड बैंकका अधिकृत ईश्वरी पन्त भन्छन्, ‘पायक पर्ने हिसाबले बालकुमारी अलि टाढा हुने भएपछि वितरण र रिप्लेसमेन्टको व्यवस्था पुल्चोकबाट गर्न लागिएको हो ।’

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेकोे समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *