भूकम्पले क्षतिग्रस्त बीर र प्रसूति गृह अस्पतालका भवन अत्याधुनिक बन्दै

भवन बनाउने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै बीर र प्रसुतिगृहका निर्देशक सहित जाईकाका प्रतिनिधीहरु
भवन बनाउने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै बीर र प्रसुतिगृहका निर्देशक सहित जाईकाका प्रतिनिधीहरु

काठमाडौँ, २९ कात्तिक-

भूकम्पबाट क्षतिग्रस्त भएका बीर अस्पताल र परोपकार प्रसूति गृहका दुईवटा भवन अत्याधुनिक जापानी प्रविधिबाट बनाइने भएको छ ।जापानी सहयोग नियोग ‘जाइका’को आर्थिक सहयोगमा दुवै अस्पतालमा अत्याधुनिक भवन बनाइने भएको हो ।

१२ वैशाखमा आएको विनाशकारी भूकम्पले वीर अस्पतालको नयाँ आइसियू भवन र प्रसूति गृह अस्पतालको मुख्य भवनमा क्षति पुर्‍याएको थियो । जाइकाले क्षतिग्रस्त भवन भत्काएर खाली भएको जग्गामा तीन तले अत्याधुनिक भवन बनाउनेछ ।

आगामी जेठ महिनादेखि निर्माण कार्य सुरु गर्नेगरी गत बुधबार जाइका र दुवै अस्तपालका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा उल्लेख भएअनुसार जाइकाले काम सुरु गरेको १४ महिनाभित्र निर्माण सम्पन्न गरी अस्पताललाई भवन हस्तान्तरण गर्नेछ । वीरमा ९४ शय्या र प्रसूति गृहमा एक सय ८० शय्याको भवन निर्माण गर्न लागिएको हो ।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जाइकाले बनाइदिने भवनमा मुटु, मृगौला र पेट रोग विभागहरू रहने जानकारी दिए । उनले अप्रेसन थिएटर, आइसियू, भेन्टिलेटर, हेमो डाइलासिसलगायतका सेवा पनि सो भवनमै राख्ने तयारी भएको जानकारी दिए । ती सेवाका लागि आवश्यक उपकरण पनि जाइकाले नै उपलब्ध गराउने भएको छ ।

प्रसूति गृहमा बन्ने भवनमा आइसियू, एनआइसियू, एमआइसियू, ब्लड बैंक, इमरजेन्सी ल्याब, अप्रेसन गरी प्रसूति गराउने कक्षलगायतका विभाग राखिनेछन् । वीरका निर्देशक डा. पण्डितले भूकम्पले ध्वस्त भवन भत्काउने जिम्मेवारी भने वीर प्रशासनकै हुने जानकारी दिए ।

प्रसूति गृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले जापानी मोडलमा बन्ने अस्पताल भवनमा रहने विभागका लागि आवश्यक पर्ने उपकरणसमेत जाइकाले प्रदान गर्ने समझदारी भएको बताए । उनले भवन निर्माणमा एक अर्ब ५० करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।

-आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *