मधुमेहबाट जोगिने १० उपाय

Dr-Joyti-Bhattrai2
डा. ज्योति भट्टराई, मधुमेहरोग विषेशज्ञ

 

१. नियमित शारीरिक व्यायाम गरौँ : मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ ।

२. मानसिक तनाव कम गराऔँ : तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ ।

३. सुर्तीजन्य/मदिराजन्य पदार्थ नखाऔँ : सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।

४. सन्तुलित र प्राकृतिक भोजन गरौँ : मधुमेहका लागि सन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गराँै । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।

५. रातो मासु/जंकफुड सकभर नखाऔँ : सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

६. आफ्नो तौल नियन्त्रणमा राखौँ : मधुमेहका लागि तौल नियन्त्रणमा राख्नु महत्त्वपूर्ण उपाय हो । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइअनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।

७. गर्भवतीलाई पोसिलो खाना खुवाऔँ : गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।shutterstock_74294383

८. जिब्रोमा गड्ने गुलिया पदार्थ नखाऔँ : खानासाथ जिब्रोमै गड्ने गुलिया पदार्थ नखाऔँ । जस्तै, चिनी, मिठाई, आइसक्रिम, कोक–फेन्टा नखाऔँ । यसले मधुमेह लगाउने र लागिसकेकालाई बढाउने काम गर्छ । तर, जमिनमुनि फलेका तरकारी, फलफूल र कन्दमूलहरू खान सकिन्छ ।

९. धेरैपटक तारेको खाद्यान्न नखाऔँ : धेरैपटक तारेको खाद्यान्नमा ट्रान्सफ्याट (विषाक्त चिल्लो पदार्थ) हुने र यसले मधुमेह रोगका लागि अनुकूल अवस्था गरिदिने भएकाले यस्तो खाद्यपदार्थ नखाएको राम्रो । होटेल तथा रेस्टुरेन्ट र फ्याक्ट्रीमा बनेका तयारी खाजा तथा खानामा ट्रान्सफ्याट बढी हुन्छ । त्यसैले मधुमेहबाट जोगिन यस्ता खाद्यान्नबाट जोगिनुपर्छ ।

१०. वर्षको एकपटक स्वास्थ्य परीक्षण गरौँ : मधुमेहबाट जोगिन वर्षको एकपटक स्वास्थ्य परीक्षण अनिवार्य हुन्छ । यो वंशाणुगतसमेत भएकाले बाबुआमा, बाजेबज्यैलाई यस्तो समस्या छ भने छोराछोरी, नातिनातिनीलाई पनि देखिन सक्छ । त्यसैले, परिवारमा रोग देखिएकोमा २५ वर्ष पुगेपछि र रोग नदेखिएको परिवारका सदस्यले ४० वर्षदेखि यो रोगको परीक्षण गर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *