औषधि पाउनै मुस्किल

काठमाडौँ, २४ कात्तिकNepal_aid_from_CHi_3281888b

सरकारले हवाई मार्गबाट आपूर्ति गर्ने प्रतिबद्धता कार्यान्वयन नगर्दा गम्भीर खालका बिरामीलाई अत्यावश्यक जीवनदायी औषधि ‘लाइफसेभिङ ड्रग’को चरम अभाव भएको छ। औषधि व्यवसायी संघले समेत सोमबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक र जीवनरक्षक औषधि अभाव भएको जनाएको छ। आपतकालीन औषधि नपाएर बिरामीका अभिभावकले हैरानी बेहोर्नुपरेको घटना सामाजिक सञ्जालमा पनि सार्वजनिक हुन थालेका छन्।

अस्पतालका चिकित्सकले मात्रै होइन, सर्वसाधारणले समेत अत्यावश्यकीय औषधि नपाएर पाएका हन्डरबारे सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। पत्रकार शिरोमणि ढुंगानाले एक सिकिस्त बिरामीका लागि ५० वटा औषधि पसलमा खोज्दा पनि एड्रिनालिन नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

गोविन्द उपाध्यायले पनि समेत १०४ डिग्री ज्वरो आएका तीनवर्षे बालकको उपचारका लागि १० एमजी आइभी एन्टिबायोटिक्स खोज्दा नभेटेको उल्लेख गरेका छन्। अर्का एक व्यक्तिले ट्विटरमा टामोसुलिन र डेफ्लाजकर नपाएर बिरामी नै रेफर गर्नुपरेको लेखेका छन्।

अकस्मात मुटु चल्न बन्द भए नभई नहुने औषधि एड्रिनालिनको चरम अभाव भएको छ। ठूला सरकारी अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीका आफन्तले दर्जनांै पसल चहार्दा पनि औषधि नपाएको गुनासो गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा.सुभाष आचार्यले जीवनदायी औषधि र अत्यावश्यकीय सामग्री र शल्यक्रियामा प्रयोग हुने एनेस्थेसियाका औषधि समेत अभाव भएको बताए।

डा. आचार्यका अनुसार गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने भासोप्रेसिन, मुटुले काम गर्न छाडेको अवस्थामा रक्तचाप बढाउन प्रयोग गरिने औषधि नन–रेड्रेनलाइन र रक्तचाप घटाउन प्रयोग गरिने औषधि एस्मोलोलको पनि अभाव भएको छ। आइसियुमा राखिएका बिरामीका लागि यी दुवै औषधि जीवनदायी हुन्। रक्तचाप निकै घट्दै गए मुटुको चाल बन्द हुने र बढे पनि हृदयघात र मस्तिष्कघात लगायतका समस्या निम्तिने हुन्छ।

डा. आचार्यले भेन्टिलेटरमै राख्नुपर्ने बिरामीका लागि ट्युब, पाइपलगायतका सामानसमेत अभाव हुन थालेको बताए। उनले पछिल्ला दिनमा अक्सिजनको आपूर्तिसमेत सहज नभएको जानकारी दिए। नेपालमा केही ठूला अस्पतालमा बाहेक आफ्नै अक्सिजन प्लान्ट नभएको र निजी प्लान्टले समेत इन्धन अभाव देखाएर आपूर्ति गर्न नसकेपछि निजी अस्पतालले आइसियु बन्द गरेका छन्। ‘अहिले गम्भीर मानवीय संकटको अवस्था आइसकेको छ,’उनले भने, ‘धेरै मानिसको मृत्युको कारण औषधि अभाव बन्ने सम्भावना छ।’

चिकित्सकहरूका अनुसार अकस्मात पिसाब रोकिए खुलाउन प्रयोग गरिने ट्यासुलोसिन, सलाइन र इन्सुलिनसमेत अभाव भएको छ। आचार्यले तत्काल नभई नहुने औषधिको सूची बनाएर अस्पताल प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा पठाइसके पनि मन्त्रालयले गम्भीर रूपमा नलिएको आरोप लगाए।

चिकित्सकहरू अस्पतालका अनुसार सलाइन, एन्टिबायोटिक, सोडा बायोकार्बोनेट, पोटासियम क्लोराइड तथा सुईजन्य औषधिको स्टक निकै कम छ। केही अस्पताल र केही होलसेलरकोमा भए पनि सहज उपलब्ध नहुँदा बिरामीका आफन्तले पाउन निकै कठिनाइ भोग्नुपरेको छ।

त्रिवि शिक्षण अस्पतालमा मेमोग्राम र सिटी स्क्यान मर्मतका लागि आवश्यक पर्ने सामग्री भन्सारमा अड्एिकाले पनि अप्ठेरो परेको प्रशासनको भनाइ छ। औषधि उत्पादकहरूले केमिकलसमेत नाकामै अड्किएको जनाएका छन्।

वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सातामा औषधि व्यवस्था नभए गम्भीर मानवीय संकट आउने बताए। ‘शल्यक्रिया पनि रोकिन्छ भनेर एनेस्थेसियाले समेत चेतावनी दिइसकेको छ,’ पण्डितले भने, ‘औषधि नपाएर मर्ने अवस्था नदिने गम्भीर रूपमा समन्वय र व्यवस्थापन गर्नुपर्छ।’

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले केही औषधि सरकारसँग स्टक भए पनि जीवनदायी औषधि तत्काल व्यवस्थापन गर्नुपर्ने बताए। उनले केही औषधि क्षेत्रीय मेडिकल स्टोरबाट मगाएर भए पनि काठमाडांैका अस्पताल दिन सक्ने भन्दै अन्य औषधि तत्काल ढुवानी गर्न अर्थमन्त्रालयमार्फत हवाई ढुवानीका लागि पत्राचार गरेको बताए। ‘हामीले अर्थलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अर्थको जवाफ आउनासाथ ढुवानी व्यवस्था हुन्छ।’

दसंै अगाडि नै ठूला ९ सरकारी अस्पतालका निर्देशकले संयुक्त रूपमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। तर मन्त्रालयले औषधि व्यवस्था गर्न ध्यान नदिएको उनीहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले भने गत शुक्रबार आपूर्तिकर्ता, विक्रेता उत्पादकहरूको बैठक बोलाएर अत्यावश्यक औषधि अभाव हुन नदिने र आवश्यक परे हवाईमार्गबाटै ढुवानी गर्ने प्रतिबद्धता गरेको थियो।

सरकारले चासो दिएन संघ

नेपाल औषधि व्यवसायी संघले असोज पहिलो सातादेखि भारतले गरेको नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक औषधि अभाव देखिएको जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै यस्तै अवस्था रहे केही दिनभित्रै औषधिको चरम अभाव हुने सम्भावना रहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनले समेत अति आवश्यकीय वस्तुमा राखेको औषधिको चरम अभाव सिर्जना हुँदा सरोकारवालाको चासो पर्याप्त मात्रामा नदेखिएको संघको ठम्याइ छ। व्यवसायी मात्रैको एकल प्रयासले औषधि आपूर्ति, वितरण र उपलब्धतामा प्रभावकारी बनाउन कठिनाइ भएको संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘मानवजीवनसँग प्रत्यक्ष जोडिएको औषधिजस्तो अत्यावश्यक एवं संवेदनशील वस्तुको अभावमा रोगी, बिरामी र घाइतेको जीवनमाथि खेलवाड गर्न कदापि मिल्दैन,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले औषधि वितरणका लागि बिक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि स्वास्थ्य संस्थासम्म पुग्न सकेका छैनन्। तसर्थ, इन्धन वितरणमा सहजता अपनाउन पनि सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्दछौं।’

जीवनरक्षक औषधिसमेत कम हुँदै गएको अवस्थामा सरकार र आन्दोलनरत पक्षले आपूर्ति सहज बनाउन तथा मौज्दात ढुवानीको वातावरण बनाउन र आपूर्तिका अन्य विकल्पमा तत्कालै ठोस योजना बनाउने अग्रसरता लिन संघले आग्रह गरेको छ।

आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *