ठूला अस्पतालको आम्दानी सुक्दै

काठमाडौँ, २४ कात्तिक-TU hospital

भारतीय नाकाबन्दीका कारण गरिब बिरामी अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला मुलुककै ठूला अस्पतालको आम्दानी आधा घटेको छ।

रिफरल अस्पताल वीर, त्रिवि शिक्षण, पाटनलगायत ठूला अस्पतालको गत वर्षको तुलनामा पछिल्लो तीन महिनाको आम्दानी करोडौं रुपैयाँले कमी भएको हो। तराईमा सवारीसाधन ठप्प हुनु र अन्य क्षेत्रमा पेट्रोलियम पदार्थ अभाव हुँदा स्थानीय स्वास्थ्य संस्थाबाट रिफर गरिएका बिरामीसमेत उपचारका लागि काठमाडौं आउन नसक्दा अस्पतालले एकातिर सेवा दिन पाएका छैनन् भने अर्कोतिर आन्तरिक स्रोतबाट जुट्ने आम्दानी ह्वात्तै घटेको छ।

नियमितजसो उपचारका लागि आउने बिरामीको संख्या आधा घट्नु, टेन्डरबाट नियमित रूपमा आउने औषधि सीमानाका र विभिन्न मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किँदा तत्कालका लागि महँगो मूल्यमा अत्यावश्यक औषधि खरिद गर्नु, चिकित्सक, कर्मचारीलगायतलाई अस्पताल आवतजावतमा अस्पतालकै सवारीसाधन प्रयोग गर्नु, ग्यास अभावमा हिटर र दाउरामा क्यान्टिन सञ्चालन गर्नु, बिजुली र पानीका लागि दोब्बर खर्च गर्नुपर्ने जस्ता कारणले अस्पतालको आम्दानी सुक्दै गएको हो।

शिक्षण अस्पतालको मात्रै गत वर्षको तुलनामा पछिल्लो तीन महिनामा पाँच करोड रुपैयाँको आम्दानीमा कमी आएको छ। अस्पतालका लेखा प्रमुख शशि थापाका अनुसार गत वर्ष भदौ, असोज र कार्तिकमा दैनिक २६ देखि ३० लाख आम्दानी जुट्ने गरेकोमा अहिले आठदेखि १० लाखमात्र आम्दानी भएको छ।

सबैभन्दा बढी आम्दानीको स्रोत मानिएको ओपीडी सेवाका लागि दुई हजारभन्दा बढी बिरामी आउने गरेकोमा अहिले एक हजार पनि बिरामी आउने गरेका छैनन्। अस्पतालमा आकस्मिक भर्ना हुने बिरामीको संख्या पनि ३५ प्रतिशत घटेको छ।

छ सय शय्या रहेको अस्पतालमा करिब दुई सय बिरामीमात्र भर्ना हुने गरेका छन्। ‘अचानक उत्पन्न भएको असहज परिस्थिततिले एकातिर अत्याश्यक सेवा दिन सकिएको छैन भने अर्कोतिर अस्पतालको आम्दानीको स्रोत सुक्दै गएको छ,’थापाले अन्नपूर्णसँग भने, ‘इन्धन अभावले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ।’

थापाका अनुसार अत्यावश्यक औषधिसमेत केही साताका लागि मात्र छ। अस्पतालले भूकम्पका बेला राहतस्वरूप आएको औषधिले काम चलाउन थालेको छ। शल्यक्रियाका लागि आवश्यक पर्ने सिउने धागो, कैंची, पन्जा, ब्लड ब्याग, प्रिस्टलाइन सोलुसनलगायतको पनि अभाव हुन थालेको छ।

इन्धन अभावले स्वास्थ्य सेवा अस्तव्यस्त

धेरैजसो गरिब बिरामीलाई निःशुल्क उपचार गर्दै आएको वीर अस्पतालको आम्दानीमा समेत आधाले गिरावट आएको छ । अस्पतालका निर्देशक डा. स्वयम्प्रकाश पण्डितले पछिल्लो तीन महिनामा एक करोड २३ लाख रुपैयाँ कम आम्दानी भएको बताए।

‘ओपीडी सेवा लिने बिरामीको संख्या ५० प्रतिशत घटेको छ। आकस्मिक सेवा लिने आउन सकेका छैनन्’, पण्डितले भने, ‘इन्धन अभावले अस्पतालको आन्तरिक खर्च बढेको छ।’ आम्दानीको स्रोतमा आत्मनिर्भर बन्दै गएको पाटन अस्पतालको पनि पछिल्लो तीन महिनामा ३६ लाख ५० हजार रुपैयाँ कम आम्दानी भएको छ।

अस्पतालका प्रशासन प्रमुख लीलाराज आचार्यका अुनसार अस्पतालमा नियमित उपचारका लागि आउने बिरामीको संख्या आधा घटेको छ भने विस्तारित सेवा प्रभावित भएको छ। क्यान्टिन सञ्चालन, यातायात, बिजुली, पानीलगायतमा दोब्बर खर्च गर्नुपर्दा अस्पतालको आन्तरिक आम्दानी कम भएको छ।

सहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. जोतेन्द्र शर्माले नाकाबन्दीले आम्दानीमा ठूलो गिरावट नआए पनि अप्रत्यक्ष रूपमा अस्पताललाई घाटा भएको बताए। बन्द र नाकाबन्दीका कारण सरकारीसँगै निजी अस्पतालको आम्दानीमा पनि आधा गिरावट आएको छ।

बिरामीको उपचारबाट उठ्न रकमबाट चल्ने अस्पताललाई झन् ठूलो मार परेको पश्चिमाञ्चल उपाध्यक्ष डा. पदम खड्काले बताए। ‘२४ सै घन्टा सेवा दिनुपर्ने अस्पताललाई सरकारले असहज परिस्थितिमा कुनै सहुलियत नदिँदा समस्या आएको छ,’ खड्काले भने, ‘बिरामी सेवा नपाएर छटपटाइरहेका छन् भने निजी अस्पतालालाई टिक्न गाह्रो भएको छ।’

आजको अन्नपूर्णपोष्ट दैनिकमा दीपा दाहालले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *