आयुर्वेदिक औषधिमा जनविश्वास जगाऔँ
काठमाडौँ, २३ कात्तिक
स्वास्थ्य राज्यमन्त्री मोहमद मुस्ताक आलमले आयुर्वेदिक औषधिमा जनताको विश्वास जगाउनुपर्ने बताएका छन् । उनले गुणस्तरमा ध्यान दिई उत्पादन गर्न र उत्पादित औषधिलाई बजार प्रबर्दन गर्नुपर्नेमा जोड दिएका छन् ।
धन्वन्तरी दिवस तथा आरोग्य दिवस एवं आफ्नो २१ औँ बार्षिकोत्सव समारोहको अवसरमा सोमबार सिंहदरबार बैद्यखाना विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री आलमले सोकुरा बताएका हुन् । उनले देशका विभिन्न भागमा पाइने बहुमूल्य जडिबुटीहरुको अध्ययन अनुसन्धान गरी नयाँ नयाँ उत्पादन तथा आविस्कारहरु समेत गर्दै लैजानुपर्ने बताएका छन् ।
सोही अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बैद्यखानाले उत्पादन र व्यापार बढाउनुपर्नेमा जोड दिए । उनले आयुर्वेदप्रति जनताको चासो रहेपनि एलोपेथिक औषधिले विश्वास जितेको भन्दै आयुर्वेदका विज्ञहरुले औषधिको प्रवर्धनका लागि थप क्रियाशिल हुनुपर्ने बताए । उनले उत्पादन र विक्री गरी व्यापारघाटा क मगर्न सुझाव समेत दिए ।
कार्यक्रममा बैद्यखानाका प्रवन्ध निर्देशक डा राजेन्द्र गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि योजना र चुनौतीको बारेमा समेत जानकारी गराएका थिए । आयुर्वेद विभागका महानिर्देशक डा देवकला भण्डारीले आयुर्वेदिक औषधि र उपचारको बारेमा जानकारी गराएकी थिइन ।
यसैबीच बार्षिकोत्सको अवसर पारी बैद्यखानाका कर्मचारीहरुले सोमबार नै बृहत रक्तदान कार्यक्रम आयोजना गरेका थिए । सो क्रममा ४० युनिट रगत संकलन भएको थियो ।
सम्पर्क इमेल : [email protected]