औषधि हवाई मार्गबाट ल्याइने

काठमाडौं, २२ कात्तिक –Nepal_aid_from_CHi_3281888b-300x187

सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग ठूला अस्पतालले आग्रह गरेपछि सरकारले हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले यसका लागि आपूर्तिकर्ता निकाय तथा सरकारका विभिन्न निकायका प्रनिनिधि सम्मिलित कार्यदल नै बनाएको छ । ‘कार्यदलले शुक्रबार नै बृहत बैठक बोलाएर अत्यावश्यकीय औषधि र उपकरण अभाव हुन नदिन सबै खालका उपाय खोज्ने निर्णय गरेको छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने ।

एक साताअघि ९ ठूला सरकारी अस्पतालका निर्देशकले आपूर्तिमन्त्री र स्वास्थ्य सचिवलाई भेटेर सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले लामो समय धान्न सक्ने अवस्था नरहेको भन्दै गम्भीर बन्न ध्यानाकर्षण गराका थिए । आफूहरूले आपूर्ति र पर्याप्त स्टक राख्नुपर्ने भन्दै ६० भन्दा बढी प्रकारका औषधिको सूचीसमेत सरकारलाई बुझाएको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा बसेको बैठकमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएसन नेपाल, नेपाल औषधि बिक्री प्रबन्धक संगठन, नेपाल निजी स्वास्थ्य संस्था संघसहित गृह, उद्योग, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति, रक्षा मन्त्रालयका समेत उच्च अधिकारी सहभागी थिए ।

बैठकले स्वास्थ्यकर्मी तथा उपभोक्ताले साविककै औषधिको सिफारिस र सदुपयोग यथावत राख्न सकिने भन्दै ब्रान्ड विशेषका औषधि अभाव भए सट्टामा सोही प्रकृतिका अनुकूल हुने अन्य सिफारिस गर्न/गराउन पहल गर्नेसमेत निर्णय गरेको विभाग महानिर्देशक खकुरेलले बताए ।

औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारले कम्पनीहरूलाई इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिए औषधि अभाव नहुने बताए । ‘इन्धनमा कम्पनीहरूलाई प्राथमिकता दिनुपर्छ, अहिले नेपाल भित्रिइसकेका केमिकल उत्पादन पनि एक ठाउँबाट अर्को ठाउँमा लान समस्या परेको छ,’ उनले भने, ‘सरकारले त्यतातिर ध्यान दिनुपर्छ ।’

त्यसैगरी न्यून मौज्दात भएका औषधिको उत्पादन तथा आयातका लागि नेपाल सरकारको सहयोग लिन उत्पादन संघ, बिक्रेता संघ र सरकारी आपूर्तिकर्ता सहमत भएका छन् । उनीहरूले आयात उपलब्धता र मौज्दातको सुनिश्चित वितरणका लािग ढुवानी÷सुरक्षा, इन्धन उपलब्धता, यातायात सहजता र हवाई मार्ग प्रयोगमा प्राथमिकता दिने निर्णय गरेको खकुरेलले जानकारी दिए ।

यसअघि बिहीबारै स्वास्थ्य मन्त्रालयले आपूर्तिकर्ता उत्पादकहरूको बैठक राखेर औषधि र उपकरण सहज आपूर्ति गर्न शुक्रबार बृहत बैठक बोलाउने निर्णय गरेको थियो । भारतले गरेको नाकाबन्दीका कारण सुईजन्य तथा गम्भीर रोगका केही विशेष औषधि अभाव सिर्जना भएको छ । कतिपय औषधि प्रयोगकर्ताले अभाव हुने त्रासमा बढी स्टक राखेकाले पनि अभाव बढ्दै गएको बिक्रेताहरूको भनाइ छ ।

चिकित्सकहरू अस्पतालका अनुसार सलाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको स्टक कम छ । बैठकमा बिक्रेताहरूले भने सरकारले बाटो सहज गरेको खण्डमा औषधि अभाव हुन नदिने भन्दै त्यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताएका थिए । अहिले दर्ता भएर भारतबाट ल्याइरहेका औषधि ल्याउन नसकेको अवस्था पनि राम्रा कम्पनीका औषधि दर्ता नभईकन पनि ल्याउन दिनुपर्ने भनाइ बिक्रेताहरूको थियो ।

उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दाहालले नेपालमा हुने कुल औषधि खपतमा नेपाली औषधि उद्योगको हिस्सा ४५ प्रतिशत मात्रै भए पनि अत्यावश्यकीय ‘लाइफसेभिङ’ औषधिमा ७० प्रतिशत आत्मनिर्भर रहेको जानकारी दिए ।

‘हामीले उत्पादन गर्न सक्ने औषधिमा पनि प्याकिङ गर्ने सामग्री र कच्चापदार्थ भन्सारमा रोकिएका छन्,’ दाहालले भने, ‘तर पनि अझै दुई महिना हामी धान्न सक्छौं ।’ उनले अहिलेको अवस्थामा नेपाली कम्पनीले सलाइन उत्पादन गर्न नसकेको भन्दै त्यसका लागि पनि नेपालकै एक कम्पनीले अन्तिम तयारी गरेको जानकारी दिए । ‘शनिबारै मेरो कुरा भएको थियो, हिमालयन प्यारेन्टल भन्ने कम्पनीले यही बीचमा उत्पादन थाल्न सक्छ, उसको कच्चापदार्थ जलेश्वर भन्सारमा आएर रोकिएको छ,’ दाहालले भने, ‘त्यो आउनसाथ सक्छु भनेको छ ।’

दाहालले नेपाली कम्पनीले एन्टिबायोटिक्स, मुटु, डाइबिटिजका औषधि उत्पादन थालिसकेको भए पनि मात्रा केही कम भएको बताए । उनले सलाइनसँगै इन्जेक्टेबल ड्रग र इन्सुलिन बाहिरबाटै मगाउनुपर्ने अवस्था रहेको र त्यसका लागि बिक्रेताले हवाईमार्गबाटै ल्याउने प्रतिबद्धता गरेको बताए । ‘ती औषधि पनि डेढ महिनालाई छ, एउटै ब्रान्डको नभए पनि अर्को दिएर भए पनि औषधि नपाएर कुनै नेपाली मर्ने अवस्था आउन नदिने संयुक्त रूपमा लाग्छा,’ दाहालले भने ।

आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *