भारतीय नाकाबन्दी असर : ३५ हजार थान ब्लड ब्याग रक्सौलमा अड्कियो

- नेपाली हेल्थ

‘ब्लड ब्याग’ भारतीय सीमानाका रक्सौलमा अड्किएपछि देशभर रक्त संकलन कार्य प्रभावित

काठमाडौं, २१ कात्तिक- 

चीनबाट मगाएको ३५ हजार थान ‘ब्लड ब्याग’ भारतीय सीमानाका रक्सौलमा अड्किएपछि देशभर रक्त संकलन कार्य प्रभावित भएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)सँग भएका केही ‘ब्लड ब्याग’को आयु तीन साताभन्दा कम छ, जबकि संकलित रगतको आयु ३५ दिनसम्म हुन्छ ।

ब्लड बैंकका शाखा अधिकृत ईश्वरी पन्तले रगतको आयु जति ‘ब्लड ब्याग’को आयु नभएपछि संकलन कार्य केही प्रभावित भएको बताए । उनले तत्काल प्रयोग गर्नेगरी कम आयु भएका ‘ब्लड ब्याग’मा छिटोछिटो ‘रिप्लेसमेन्ट’ गरी काम चलाएको जानकारी दिए । ‘अहिले धेरै मौज्दात रहने गरी रगत संकलन गरेका छैनौँ । किनकि ‘ब्लड ब्याग’को आयु नै कम छ । त्यसैले संकलन गरेर धेरै दिन राख्ने अवस्था छैन । तत्काल प्रयोग हुनेहरूका लागि मात्रै दिने गरेका छौँ,’ उनले भने ।

ब्लड बैंकमा भएको रगत अभावलाई सहयोग गर्न तथा आफूकहाँ भएका बिरामीलाई चाहिने रगत परिपूर्ति गर्न भन्दै बिहीबार वीर अस्पतालले सञ्चालन गर्न लागेको बृहत् रक्तदान कार्यक्रम पनि ‘ब्लड ब्याग’ नै नपाएपछि रोकिएको थियो । ‘ब्लड बैंकमा म्याद गुज्रन लागेका ब्याग रहेछ । बाहिर बजारमा खोज्दा कहीँ पाइएन । अन्तत रगत संकलन कार्यक्रम नै स्थगित गर्नुपर्‍यो,’ अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले  भने । उनले ब्लड बैंकमा पनि म्याद सकिन १० दिनभन्दा बढी नभएका ‘ब्लड ब्याग’हरू भए पनि आफूले नल्याएको बताए ।

जिल्लाका रक्तसञ्चार शाखामा पनि केन्द्रबाटै ‘ब्लड ब्याग’ पठाइने भएकाले उपत्यकामा जस्तै जिल्लाहरूमा पनि म्याद गुज्रन लागेका ‘ब्लड ब्याग’मै रगत संकलन गर्नुपर्ने बाध्यता छ । ब्लड बैंकका अधिकृत पन्तले चीनबाट आउँदै गरेको ३५ हजार थान ‘ब्लड ब्याग’ रक्सौल नाकामा थुनिएको भन्दै तत्कालको समस्या टार्न पाँच हजार थान सिंगल ब्याग हवाईमार्गबाट झिकाउन लागिएको बताए । उनले तीन–चार दिनभित्र हवाईमार्गबाट ल्याउन लागिएको ब्यागले दुई महिना टार्न सकिने दाबी गरे ।

आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले लेखेको समाचार 


Facebook Comment


थप समाचार