नाकामा अड्किएका औषधि बिग्रँदै

medicine

काठमाडौँ, १९ कात्तिक-

नाकाबन्दीले गर्दा वीरगन्ज–रक्सौल नाकामा एक महिनाभन्दा अघिदेखि खुल्ला वातावरणमा रहेका ट्रकमा भएका औषधिको गुणस्तर शंकास्पद बनेको छ ।

औषधि व्यवसायी संघको दाबीअनुसार रक्सौल नाकामा औषधि बोकेका करिब साढे तीन सय ट्रक महिना दिनभन्दा बढी समयदेखि मुलुक भित्रिने पर्खाइमा छन् । औषधि व्यवस्था विभागले भने औषधि मात्र बोकेका करिब ८० ट्रक त्यहाँ थन्किएको बताएको छ। विशेषज्ञहरूले यस्ता औषधि मुलुक भित्रिएपछि गुणस्तर सुनिश्चित गरेर मात्र उपयोगमा ल्याउन सरकारलाई सचेत गराएका छन्। ‘कुनै पनि औषधि ४० डिग्रीभन्दा माथिको तापक्रमको सम्पर्कमा आउँदा बिग्रने सम्भावना हुन्छ,’ वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने, ‘केही एन्टिबायोटिक, सुई, झोल औषधि निरन्तर एउटै तापक्रममा रहँदा बिग्रिन सक्छन् ।’

एक महिनाअघि रक्सौलको तापक्रम हालको दाँजोमा धेरै बढिरहेको उल्लेख गर्दै उनले तुसारो र ओसले पनि औषधि बिग्रिने अवगत गराए। ‘पहिले रक्सौल नाकामा औषधि बोकेका चार सय ट्रक थिए। करिब ५० वटा जतिलाई भैरहवा नाका डाइभर्ट गरिएको छ, बाँकी जाममा फसेकाले निस्किने स्थितिसमेत छैन,’ औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने, ‘महिनाभन्दा बढी समयसम्म पालले छोपेर घाममा राखिएकाले गुणस्तर जोखिममा पर्न सक्ने कुरा हामीले औषधि व्यवस्था विभागसमक्ष राखिसकेका छौं।’
उच्च तापक्रमले झोल पदार्थ र आद्र्रताले ठोस पदार्थ बढी बिग्रिने उल्लेख गर्दै औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने, ‘दुवै भए झन् छिट्टै औषधि बिग्रिन्छ।’ निरन्तर ३० डिग्री तापक्रममा खुला ठाउँमा औषधि राख्दा बिग्रिने सम्भावना धेरै हुने उनले बताए। ‘औषधि मात्र होइन, त्यससँगै औषधिको कच्चा पदार्थसमेत बिग्रिने जोखिम छ,’ उनले भने।

विशेषज्ञहरूले औषधि र औषधि कारखानाका लागि आउने कच्चा पदार्थसमेत प्रयोगशाला परीक्षणपछि मात्र प्रयोगमा ल्याउन सुझाएका छन् । ‘यस्ता औषधि मुलुक भित्रिएपछि विभागले अनुगमन गरेर गुणस्तरयुक्त रहेको प्रमाणित गरेर मात्र उपभोक्तासम्म पुग्न दिनुपर्छ,’ हुमागार्इंले भने, ‘कम वा बढी तापक्रममा बिग्रिन सक्ने औषधिहरू भएकाले सर्वसाधारणलाई गुणस्तरमा आश्वस्त पार्नुपर्छ ।’

विभागले भने यस्ता औषधि र कच्चा पदार्थ उपभोक्तासम्म पुग्नुअघि गुणस्तर प्रमाणीकरण नगर्ने जनाएको छ। यस्ता औषधिलाई हामी बजार जानबाट सिधै रोक्ने छैनौं,’ खकुरेलले भने, ‘बिग्रिएको पाइए बजारबाट फिर्ता ल्याउन निर्देशन दिनेछौं।’ उनले निरन्तर अनुगमन भने गर्ने बताए।

 

-आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *