उपत्यकामा बिहान–बेलुका ज्यादा प्रदूषण

pardusan

काठमाडौँ,१८ कात्तिक

ताजा हावा र स्वस्थ वातावरण स्वास्थ्यका लागि उपयोगी हुने ठानेर मर्निङ वाकमा निस्कनेको संख्या उपत्यकामा ठूलो छ । त्यस्तो संख्या इभिनिङ वाकमा निस्कनेको पनि छ । तर, एक अध्ययनले बिहान र बेलुकाको समयमा उपत्यकामा सबैभन्दा बढी वायु प्रदूषण हुने गरेको देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्ष लगाएर गरेको अध्ययनले काठमाडौं उपत्यकामा बिहान ५ देखि मध्याह्न १२ बजेसम्म र बेलुका ५ देखि मध्यरात १२ बजेसम्मको समयमा सबैभन्दा प्रदूषित हावा चल्ने गरेको उल्लेख गरेको छ ।

विज्ञहरूले १ फागुन ०७० देखि ३० माघ ०७१ सम्म काठमाडौंको पुतलीसडक, भक्तपुरको जगाते र ललितपुरको महालक्ष्मीस्थानलाई केन्द्र बनाई उपत्यकाको वायु प्रदूषण परीक्षण गरेका थिए । सो क्रममा दिउँसो १ देखि ४ बजेसम्म मात्रै उपत्यकाको वातावरण प्रदूषित मापदण्डभन्दा कम रहेको देखिएको हो ।

यस्तो छ प्रदूषणको अवस्था
सामान्य अवस्थामा उपत्यकामा धुलोको कण ४० माइक्रोग्राम परक्युबिकमिटर हुनुपर्नेमा बिहान र बेलुका त्यो मात्रा मापदण्डभन्दा झन्डै डेढ गुना बढी हुने गरेको पाइएको छ । परिषद्का अनुसार सामान्यत: वायुमा ४० माइक्रोग्राम परक्युबिकमिटरसम्म हुनुपर्ने कण बिहान ५ देखि ६ बजेसम्म ४६ माइक्रोग्राम परक्युबिकमिटर हुन्छ । ६ देखि ७ बजे बढेर ५८.५ र ८ देखि ९ बजे ८६.६ सम्म पुग्छ ।
त्यसैगरी, बेलुका ४ देखि ५ बजे ४१.४ र त्यसपछि बढ्दै गएको प्रदूषण बेलुका ८ देखि ९ बजेसम्ममा ५९.४ माइक्रोग्राम परक्युबिकमिटरसम्म पुग्ने गरेको छ । साधारण आँखाले नदेखिने मसिनो धुलोमा फोक्सो, मुटु र मिर्गौलासहित शरीरका संवेदनशील अंग बिगार्ने लिड (सिसा) तथा अन्य हानिकारक रसायन हुने विज्ञहरू बताउँछन् ।

स्वास्थ्यमा गम्भीर असर
अनुसन्धानमा सहभागी परिषद्का सदस्यसचिव डा. खेम कार्कीका अनुसार आँखाले नदेखिने रसायनयुक्त कण सीधै फोक्सो र रगतमा पुगी दीर्घकालीन रूपमा स्वास्थ्यसमस्या पार्दछ । ‘यसले श्वासप्रश्वास, दम, मुटु, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायतका रोग गराउँछ,’ डा. कार्कीले भने ।

घरभित्रै व्यायाम गर्नु राम्रो
डा. कार्कीले मर्निङ वाकमा निस्कनुभन्दा घरभित्रै शारीरिक व्यायाम गर्नु लाभदायक हुने सल्लाह दिएका छन् । खुला सडकभन्दा हरियो बगैँचा र चौरमा गएर व्यायाम गर्नु राम्रो हुने उनको भनाइ छ । विज्ञहरूले बिहान–बेलुकाको समयमा बढी प्रदूषण हुनुमा उपत्यकाको भू–बनोट एउटा कारण भएको बताएका छन् । ‘रातिदेखि बिहानसम्मको चिसोले जमिनमाथि रहने प्रदूषित वायु दिउँसोको तापसँगै माथितिर जान्छ । जब प्रदूषित हावा अकासिन्छ, तलको खाली भागमा फ्रेस हावा आउँछ । फ्रेस हावाले धकेलेर प्रदूषित तहलाई साँगाचोक र नगरकोट नाकाबाट बाहिर पठाउँछ । जब चिसो हुँदै जान्छ, उपत्यकामा पुन: प्रदूषित वायुको तह निर्माण हुन्छ,’ डा. कार्कीले भने ।उनका अनुसार उपत्यकामा थानकोट, चोभार र बालाजु साइडबाट फ्रेस हावा छिर्छ र प्रदूषित हावा नगरकोट र साँगा चोकबाट बाहिर जान्छ ।

चार महिना प्रदूषण कम
उपत्यकाको वायु प्रदूषण वर्षमा चार महिना भने कम भएको पाइएको छ । परिषद्का अनुसार असार, साउन, भदौ र असोज महिनामा उपत्यकामा कम प्रदूषण हुने गरेको छ ।
कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत, वैशाख र जेठ महिनामा मापदण्डभन्दा बढी प्रदूषण हुने अनुसन्धानबाट खुलेको छ । त्यसमा पनि मंसिर, पुस, माघ, फागुन र चैत सबैभन्दा बढी प्रदूषण हुने महिनाका रूपमा चिनिएको छ ।
‘यी महिनामा पानी नपर्ने र मौसम सुक्खा हुने भएकाले पनि बढी प्रदूषण भएको पाइएको हो । असार, साउन, भदौ र असोज महिनामा बढी पानी पर्ने हुनाले प्रदूषण कम भएको हो,’ कार्कीले भने ।

मर्निङ वाकमा प्रदूषणको मार
-शरीरलाई स्वस्थ राख्न ताजा हावा पाइने आशाले एकाबिहानै हिाड्ने, दौडनेदेखि सााझ टहलिनेहरूका लागि उपत्यकाको मौसम प्रतिकूल पाइएको छ
-नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षसम्म गरेको अध्ययनले बिहान र बेलुकाकै समयमा उपत्यकामा सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ
-बिहान ५ देखि मध्याह्न १२ बजेसम्म र बेलुका ५ देखि मध्यरात १२ बजेसम्मको समयमा सबैभन्दा प्रदूषित हावा चल्ने गरेको अध्ययनबाट देखिएको छ

नयाँ पत्रिका दैनिकबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *