दुई सय सहरी स्वास्थ्य केन्द्र थपिने

काठमाडौं, १८ कात्तिक

सरकारले चालू आर्थिक वर्षभित्र दुई सय सहरी स्वास्थ्य केन्द्र थप गर्ने भएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रको संख्या थप गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा थप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । गत मंसिरसम्म घोषणा भएका थप एक सय ३३ वटा नयाँ नगरपालिकामा केन्द्र थप गर्न लागिएको हो । केन्द्रको संख्या थपिएपछि देशभर सहरी स्वास्थ्यकेन्द्रको संख्या तीन सय २९ पुग्नेछ । हालसम्म पुराना ५८ वटा नगरपालिकामा एक सय २९ वटा मात्रै सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।MoHP-Nepal

ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिले स्थ्यचौकीमार्फत नि:शुल्क औषधि तथा अन्य प्राथमिक स्वास्थ्य सेवा पाउने गरे पनि सहरका आमसर्वसाधारण सो सेवाबाट वञ्चित थिए । सोही समस्यालाई ध्यान दिँदै सरकारले जारी गरेको ‘सहरी स्वास्थ्य नीति २०७२’ ले सहरमा सहरी स्वास्थ्य केन्द्रहरूको विस्तार गर्न सुझाव दिएको थियो । ‘सोहीअनुरूप हामीले नयाँ केन्द्रहरू विस्तार गर्न लागेका हौँ,’ स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाका निर्देशक डा. रमेश खरेलले भने ।उनले सहरी स्वास्थ्य केन्द्र नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गर्ने तयारी रहेको बताए । तर, चालू आर्थिक वर्षमा घोषणा गरिएका २६ वटा नयाँ नगरपालिका भने त्यसबाट वञ्चित हुनेछन् । ‘नयाँ नगरपालिकामा पनि क्रमश: केन्द्र सञ्चालनमा ल्याइनेछ,’ डा. खरेलले भने ।

महाशाखाका अधिकृत शिव सुवेदीले सरकारी अस्पताल र स्वास्थ्य संस्था नभएका नगरपालिकालाई केन्द्र स्थापनामा प्राथमिकता दिइने बताए । उनले बिस्तारै सबै नगरपालिकाका हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरिने बताउँदै तर हाल भने प्राथमिकताका आधारमा संस्था सञ्चालन गर्ने बताए । सहरी स्वास्थ्य केन्द्रमा कम्तीमा स्वास्थ्य चौकीसरहको सुविधा हुने सुवेदीको भनाइ छ ।

सोअनुसार हेल्थ असिस्टेन्सको नेतृत्वमा स्टाफ नर्स, अहेव, अनमीलगायतका स्वास्थकर्मी रहनेछन् । ‘सरकारले नि:शुल्क औषधिको घोषणा गरिसक्यो, तर त्यो कहाँबाट लिने भन्ने पनि नगरका बासिन्दालाई समस्या थियो । केन्द्र स्थापना भएपछि त्यो समस्या हट्नेछ,’  सुवेदीले भने, ‘पछि बिस्तारै जनसंख्या र आवश्यकताका आधारमा केन्द्रलाई १५ शय्याको अस्पतालमै स्तरोन्नति गर्न सकिन्छ ।’

हाल देशमा नगरपालिकाको संख्या दुई सय १७ पुगेको छ । तर, नगरपालिकामा बसोबास गर्ने सर्वसाधारणले सरकारी स्वास्थ्य सुविधा गाविसमा बसोबास गर्ने व्यक्तिले जति पनि पाउन सकेका छैनन् ।
-नयाँ पत्रिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *