नेपालमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु
काठमाडौँ, २८ साउन । नेपालमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो ।
केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डेंगी सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगी सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जनामध्ये ८८ जनाको मृत्यु भएको थियो ।
सन् २०२४ जनवरीयता हालसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८४ पुगेको छ ।
यो वर्ष डेंगी संक्रमण मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला ४ जिल्ला बाहेक ७३ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ ।
डेंगी विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरूलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने स्वास्थ्यकर्मीहरूको सल्लाह दिएका छन् ।
डेंगी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगी रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।
सम्पर्क इमेल : [email protected]