प्रथम ‘साउथ ईष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स -२०२४’ भदौको पहिलो साता हुँदै

'भर्च्युअल' माध्यममा हुने सम्मेलनका लागि निशुल्क रजिष्ट्रेसनको व्यवस्था

काठमाडौँ, २७ साउन ।  आगामी भदौको पहिलो साता प्रथम ‘साउथ ईष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स-२०२४’ हुने भएको छ ।

नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन ‘साउथ ईष्ट एशिया रिजनल एनसीडी एलायन्स (एसईएआर एनसीडी एलायन्स)’को आयोजनामा आगामी ५ देखि ७ भदौ ( २१ देखि २३ अगष्ट ) सम्म कन्फ्रेन्स हुन लागेको हो ।

‘भर्च्युल’ माध्यममा हुने यो कन्फ्रेन्समा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

दक्षिणपूर्वी एशिया क्षेत्रमा नसर्ने रोगको जोखिम, कारक तत्व, यसको नियन्त्रणका लागि बनेका नीतिहरु आदानप्रदान गर्ने, नसर्ने रोग रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि समग्र र एकीकृत दृष्टिकोण विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगलाई सहज बनाउन तथा सम्वाद र साझेदारीलाई बढावा दिन पनि यो कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गरिएको छ ।

यस्तै यस क्षेत्रका स्वास्थ्यकर्मीहरु, नीति निर्माताहरु, आम जनमानसमा नसर्ने रोगहरुको व्यापकता र प्रभावको बारेमा सचेतना बढाउन तथा क्षेत्रीय र सामुदायिक स्तरमा देखिएको जोखिम तथा कारकहरुलाई सम्वोधन गर्न र यसको रोकथाम र नियन्त्रण गर्नका लागि,  पनि यो सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

सम्मेलनमा मुटुरोग, मधुमेह, सीओपीडी, क्यान्सर, मिर्गौला, मस्तिष्क घात, मानसिक स्वास्थ्य, चोटपटक, न्युरो डेभलपमेन्ट डिसअर्डर लगायतका रोगको विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

सम्मेलनको विषयगत क्षेत्रहरुमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य प्रणालीहरु, हेल्थ फाइनान्सिङ, एनसीडीको लागि सुशासन र बहु क्षेत्रीय सम्लग्नतामा सुधार, जलवायु परिवर्तन र एनसीडीको जोखिम कारक, जीवनशैली लगायत राखिएको छ ।

विश्वमा प्रत्येक दुई सेकण्डमा ७० वर्ष मुनिको एक जना व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको छ । यस्तै नसर्ने रोगबाट हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत न्युन मध्यम आय भएका देशहरुमा हुने गरेको छ । सामाजिक आर्थिक र बातवरणीय कारकहरुले गर्दा उच्च आय भएका देशहरुको तुलनामा न्युन तथा मध्यम आय भएका देशहरुमा जोखिम बढी हुने गरेको हो ।

नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ इष्ट एशिया रिजनल एनसीडी एलायन्स (एसईएआर एनसीडी एलायन्स)मा नेपाल एनसीडी एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिज फोरम, बंगलादेश नेटवर्क फर एनसीडी कन्ट्रोल एण्ड प्रिभेन्सन, हेल्दी इन्डिया एलायन्स, एनसीडीए इन्डोनेसिया र एनसीडी मलेसिया सदस्य रहेका छन् । यस्तै मालदिभ्स एनसीडी एलायन्स, म्यानमार एनसीडी एलायन्स, एनसीडीए लंका र थाइ एनसीडी एलायन्स पनि सदस्य रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *