बंगलादेशमा पुन: आन्दोलन चर्कियो, आइतबार मात्रै कम्तिमा ९० जनाको मृत्यु
काठमाडौँ २१ साउन । बंगलादेशमा सरकार विरोधी प्रदर्शन पुन: चर्किएको छ । प्रदर्शनका क्रममा आइतबार मात्रै कम्तीमा ९० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ।
सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बंगलादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।
स्थिति नियन्त्रणमा लिन सरकारले आइतबार बेलुका छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ।
गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।
यसअघि लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।
तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनस् कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।
राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ।
बंगलादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बताएका छन्। फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको विवरण आएका छन्।
प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।
प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ।
आइतवारको प्रदर्शनका क्रममा करिब २०० जना मानिसहरू घाइते भएको विवरण आएका छन्।
किन भइरहेको छ आन्दोलन ? अनि के भइरहेको छ ?
सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।
केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।
यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो।
विद्यार्थीहरूको प्रदर्शन नियन्त्रणका लागि पछिल्ला केही साता मात्रै करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीहरूलाई नियन्त्रणका लिइएको थियो।
आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान समेत गरेका थिए।
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्यालीको आयोजना गरेको थियो।
दुवै पक्षको प्रदर्शनका कारण बंगलादेशमा आगामी केही दिनहरू तनावपूर्ण रहने ठानिएको छ।
विपक्षी दलहरूको बहिष्कारकाबीच गत जनवरीमा भएको निर्वाचनबाट हसिना चौथो पटक देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिइरहेका छन्।
को हुन हसिना ?
विगत १६ वर्षदेखि बंगलादेशको सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्।
शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।
पछिल्लो कार्यकाल सकिँदा हसिना ८१ वर्षकी हुने छिन्।
सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।
नेपाली विद्यार्थी सुरक्षित
यसैबीच बंगलादेशमा आन्दोलन चर्किरहँदा त्यहाँ अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीको अवस्थाबारे समेत चिन्ता व्यक्त भएको छ । यद्धपी गत महिना भएको प्रदर्शन पछि नै असुरक्षित ठानिएका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए । अहिलेसम्म नेपाली विद्यार्थी तथा समुदायमा समस्या परेको खबर प्राप्त नभएको बंगलादेशस्थित नेपाली दुतावासले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]