विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा ९१ प्रतिशत बढी उत्तीर्ण
काठमाडौँ, १८ साउन । नेपाल मेडिकल काउन्सिलले हिजो र आज ( १७ र १८ साउनमा) लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार परीक्षामा यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको यो प्रतिशत अहिले सम्मकै बढी हो ।
काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार यसपटकको परीक्षाका लागि कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । छ जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
विशेष परीक्षा उत्तीर्ण गरेपछि विशेषज्ञ चिकित्सकको रुपमा आधिकारिता प्राप्त हुने गर्दछ । यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
रजिष्ट्रार डा. देवले यसपटक फ्रेस विद्यार्थीहरु आएको र डिएमएमसीएचको तयारीमा रहेकाहरु पनि सहभागी भएकोले धेरै संख्यामा पास भएको हुनसक्ने आँकलन गरे । ‘धेरै उत्तीर्ण हुनु त हामी सबैका लागि खुशीको कुरा हो । यसपटक राम्रो नतिजा आयो,’ डा. देवले भने ।
परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]