स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहबीच समन्वय आवश्यक : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, १५ साउन ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले एकीकृत ढंगबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार स्वास्थ्य पत्रकारहरुसंग स्वास्थ्य क्षेत्र सुधारको विषयमा सुझाव लिने क्रममा मन्त्री पौडेलले स्वास्थ्यमा क्षेत्रमा काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयको खाँचो रहेको बताए ।

कतिपय प्रदेश र स्थानीय तहले फरक–फरक राज्य हो जस्तो गरी काम गरेको भन्दै उनले यसरी स्वास्थ्य क्षेत्र सुधार नआउने ठोकुवा गरे ।

मन्त्री पौडेलले संविधानले आधारभुत स्वास्थ्यलाई निःशुल्क र अन्य रोगको उपचारको लागि स्वास्थ्य बीमाबाटै हुनुपर्ने भन्दै यसका लागि आफूले पहल थालेको समेत बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको निरोगी नेपालीको अभियानलाई पुरा गर्न लागि परेको समेत जानकारी दिए ।

एक प्रसंगमा मन्त्री पौडेलले स्वास्थ्यमा सुधार गर्न स्वास्थ्य मन्त्रालयले मात्र चाहेर नहुने भन्दै त्यसमा प्रधानमन्त्री कार्यलय र अर्थ मन्त्रालयको पनि उत्तिकै सहयोग जरुरी रहेको बताए ।

उनले राज्यको श्रोत साधन सिमित रहेकोले देशमा स्वास्थ्यको जनशक्ति थप गर्ने स्थिति नरहेको बताउनुभयो । मन्त्री पौडेलले अहिले भइरहेको जनशक्ति र भौतिक पूर्वाधारलाई अधिकतम उपयोग गरेर स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकारहरुले स्वास्थ्यमन्त्री पौडेललाई जनताले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए । उनीहरुले उपचार सेवालाई प्रभावकारी बनाउन, रोग लाग्नबाट बचाउन, स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै टिकाउन, स्वास्थ्यका खरीद प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *