विपद र डेङ्गी सहितका महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो २४ घण्टे हटलाइन सेवा

काठमाडौँ , १५ साउन । काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुने जनाएको छ ।

नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ ।

यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।

नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत्ति डुवान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पुलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ । यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ ।

बर्खामा फैलिने डेङ्गी र हैजा पनि पानीजन्य समस्या नै हुन् । पिउने पानीमा दिशाजन्य फोहर मिसिए हैजाको जोखिम हुन्छ । खाल्टाखुल्टीमा पानी जमेर ३ दिनभन्दा धेरै रहेमा डेङ्गी फैलाउने लामखुट्टेको जनसंख्या बढ्छ ।

महानगरले जारी गरेको सूचनामा एकै पटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेङ्गी हुने र तारन्तार पातलो दिशा भइ रहेमा हैजा हुन सक्छ भन्दै यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइने बताएको छ । यसका लागि हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न सकिने समेत उल्लेख गरेको छ ।

साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नु पर्ने र यो नम्बरमा फोन गर्दा फोन स्वास्थ्यकर्मीले उठाउने समेत स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *