नेपालमा ५६ प्रतिशतले मात्रै गराउँछन् पूर्ण स्तनपान

काठमाडौँ, १५ साउन । नेपालमा पूर्ण स्तनपान गराउनेहरुको संख्या ५६ प्रतिशत रहेको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले आउँदै गरेको स्तनपान सप्ताहको अवसरमा सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। स्तनपान सप्ताह आगामी १७ देखि २३ साउनसम्म मनाईदै छ ।

कार्यक्रममा पोषणशाखा प्रमुख लिलाबिक्रम थापाले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्यांक प्रस्तुत गर्दै शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको बताए । यस्तै उनले शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको जानकारी दिए । थापाका अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ।

पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिए‌को छ। न्यून आय भएकामा ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ। उक्त सर्वेक्षणल नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ। संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञहरु बताउँछन्।

पूर्ण स्तनपान गराउँदा फाइदा

जन्मनेबितिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो,पहेंलो बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकोले यसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘स्तनपानलाई पहिलो खोपका रुपमा समेत लिइन्छ। स्तनपानले बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ। बच्चा जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ। स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा हुन्छ।’

स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकास गराउनुका साथै कुपोषण हुनबाट समेत जोगाउँछ। स्तनपान गराउने आमालाई स्तन तथा पाठेघरको क्यान्सरको जोखिम कम हुन्छ। नियमित स्तनपानले यसरी गर्भावस्थामा बढेको अनावश्यक तौललाई नियन्त्रणमा ल्याउन सहयोग गर्छ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले स्तनपानको महत्वको बारेमा सचेतना जगाउन जरुरी रहेको भन्दै त्यसका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताईन् ।

सो अवसरमा विश्व स्तनपान सप्ताहमा हुने कार्यक्रमबारे जानकारी दिईएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *