‘हेपाटाइटिस बी र सीबाट प्रतिवर्ष विश्वमा १३ लाख मानिसको ज्यान जान्छ’
काठमाडौँ, १४ साउन । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा हेपाटाइटिस बी र सीको क्रोनिक बिरामी विश्वभर ३० करोड ४ लाख थिए । त्यस वर्ष ४५ प्रतिशत नवजात शिशुले मात्रै जन्मेको २४ घण्टामा हेपाटाइटिसविरुद्धको खोप पाएका थिए । सोही वर्ष हेपाटाइटिस बी र सीबाट ज्यान गुमाउनेको संख्या विश्वभर १३ लाख थियो ।
विश्व हेपाटाइटिस दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय काठमाडौँले पत्रकार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने, ‘विश्वको दोस्रो बढी संक्रामक र खतरनाक भाइरस हो । त्यसैले नियमित स्वास्थ्य जाँच तथा सचेतना आवश्यक छ ।’
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी जनस्वास्थ्य अधिकृत सुलोचना खतिवडाले हेपाटाइटिस के हो ? कति प्रकारका छन् ? र कसरी सर्दछ ? भन्ने बारेमा प्रस्तुतिकरण दिएकी थिईन । उनले बढी देखिने हेपाटाइटिस बी र सीको संक्रमण र त्यसबाट बच्ने उपायका बारेमा समेत विस्तृत रुपमा बताएकी थिईन ।
नेपाल सरकारले सन् २०३० सम्म हेपाटाइटिस अन्त्य गर्ने लक्ष्य लिएको छ। जसअनुसार सन् २०२१ को तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत मानिसहरुमा हेपाटाइटिसको भ्याक्सिन लगाइएको खतिवडाले जानकारी दिइन्।
बयस्कमा जनसंख्यामा ५ प्रतिशतमा यो क्रोनिक देखिएको छ । बच्चामा ९० प्रतिशत बढीलाई यो क्रोनिक देखिएको छ,’ उनले भनिन् ।
यस्तै नेपालमा प्रत्येक वर्ष ०.९ प्रतिशत हेपाटाइटिसका नयाँ बिरामी फेला पर्ने गरेको उनले जानकारी दिइन्।
सरकारले सन् २००५ देखि गर्भवती महिलाहरुले हेपाटाइटिसको परीक्षण गर्नुपर्ने नियम ल्याएको थियो। हेपाटाइटिस हुने विभिन्न कारणहरुमध्ये नेपालमा बढी मात्रामा सुईंका कारणले यसको संक्रमण हुने गरेको छ।
के हो हेपाटाइटिस, कति प्रकारको हुन्छ ?
हेपाटाइटिस ए,बी,सी,डी र ई गरी ५ प्रकारको हुन्छ। विभिन्न प्रकारका हेपाटाइटिसमध्ये ए र ई पानीको माध्यमबाट सर्ने आरएनए भाइरस हो। हेपाटाइटिस बी हुनेलाई डीको संक्रमण हुने सम्भावना बढी हुन्छ।
बयस्कहरुलाई भन्दा बच्चाहरुलाई यो भाइरसले बढी मात्रामा र छिटो संक्रमण गराउँछ। हेपाटाइटिस भाइरसको संक्रमण भई निको भएमा यसले एन्टीबडी बढाउँछ। सामान्यतया ४ सातासम्म निको भइसक्ने यो भाइरस ६ महिनाभन्दा बढी देखिएमा दीर्घकालीन हुने डर हुन्छ।
हेपाटाइटिसको भ्याक्सिन हेपाटाइटिस बी इम्युनो ग्लोबिन र हेपाटाइटिस बी भ्याक्सिन गरी दुई प्रकारको हुने गर्छ। यो भ्याक्सिनको पहिलो मात्रा लगाएको १ महिनामा दोस्रो मात्रा र ५ महिनामा तेस्रो मात्रा लगाउनुपर्ने हुन्छ।
दिवसको अवसरमा शुक्राले गरिदियो निशुल्क परीक्षण
यसैबीच विश्व हेपाटाइटिस दिवसको अवसरमा शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेश सेन्टर महाराजगञ्जले लाइन्स क्लवको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौँमा आइतबार निशुल्क एन्टी एचबीएस परीक्षणको व्यवस्था मिलाएको छ । शुक्राबाट गएको रोजिका प्रधान नेतृत्वको टोलीले स्वास्थ्यकर्मी, कर्मचारी र सञ्चारकर्मीको निशुल्क परीक्षणको व्यवस्था गरेको हो ।
सम्पर्क इमेल : [email protected]