काठमाडौँको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस

तत्काल खोप अभियान सञ्चालन गरिँदै

काठमाडौँ, ४ साउन । काठमाडौँको ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) भेटिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको हो । नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको डा. गौतमले बताए ।

वाग्मती र टुकुचा किनारसहित अन्य शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका निम्ति विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा.गौतमले जानकारी दिए ।

सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट (परिवर्तित) भएर हुन सक्ने प्रकारको हो ।

भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौ उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललिपुरमा जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गरिने छ ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई उपत्यकाका घर घरमै पुगेर खोप दिइने डा. गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ ।

नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *