‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै !

काठमाडौँ, १ साउन । गत २४ जेठको मन्त्रिपरिषद् बैठक सकिएपछि बेलुका तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादवले नेपाल मेडिकल काउन्सिलमा रिक्त छ जना सदस्य पदमा नियुक्त भएको बताएका थिए ।

सोही अनुसार सञ्चारमाध्यमहरुमा समाचार समेत सार्वजनिक भइसकेको थियो । तर त्यो नियुक्ति बीचमै रोकिएको बुझिएको छ ।

त्यसबेला नियुक्त भएका भनिएका प्राडा दिब्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा कुम्भराज जोशीले अहिलेसम्म नियुक्तीको पत्र पाएका छैनन् । नत मेडिकल काउन्सिलमा नै नियुक्ती गरिएको भन्ने पत्र पुगेको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले २४ जेठको मन्त्रिपरिषद् बैठकमा काउन्सिलको सदस्य पदमा नियुक्त भयो रे भन्ने आफूलाई सञ्चारमाध्यममा खबर पढेर थाहा भएको तर त्यसपछि कुनै आधिकारिक जानकारी नआएको बताए ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले पनि प्रधानमन्त्री कार्यालयबाट सदस्य नियुक्त भएको भन्ने कुनै जानकारी नआएको बताए । ‘प्रस्ताव त गएको थियो तर निर्णय भएको भन्ने जानकारी आएको छैन,’ स्वास्थ्य मन्त्रालयका उपसचिव भक्तराज जोशीले भने ।

स्रोतका अनुसार २४ जेठको मन्त्रिपरिषद् बैठकमा सदस्य नियुक्ति सम्वन्धी विषय पेश भई पास गर्ने निर्णय भए पनि माइनुट गर्ने बेलामा रोकिएको हो ।

सदस्यका विषयमा मतभिन्नता देखिएपछि एमालेबाट सरकारको नेतृत्व गरेका तत्कालीन उपप्रधानमन्त्री रघुबीर महासेठले सो प्रस्ताव रोकिदिएका हुन् ।

‘केही सदस्यहरुको नाम परिवर्तन गर्नु गरेर पुन पेश गर्नु भन्ने कुरा आयो तर पछि पेश गरिएन । अहिलेसम्म यत्तिकै छ निर्णय भएको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *