मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि किन ल्याउन सकिएन ?
काठमाडौँ, २९ असार । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपण गर्न सुरु भएको सात वर्ष नाघ्यो तर त्यसले राम्ररी गति लिन भने सकेको छैन ।
२८ बैशाख २०७४ मा पहिलो पटक भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपण गरिएको थियो ।
त्यस यता अहिलेसम्म मस्तिष्क मृत्यु भएका जम्मा पाँच जनाको मात्रै अङ्ग झिकि प्रत्यारोपण भएको छ ।
मस्तिष्क मृत्युपछि अङ्गदान गर्न मिल्ने कानून बनिसकेको, अङ्गदानका विषयमा चरणवद्ध रुपमा सरोकारवालासंग समेत छलफल गरिसक्दा समेत अपेक्षाकृत नतिजा नआएपछि प्रत्यारोपण केन्द्रले शनिबार पुन: प्रमुख सरोकारवाला पक्षलाई भेला गरी यसबारेमा झक्झक्याएको छ ।
सरकारी तथा निजी विभिन्न अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, प्रत्यारोपण विज्ञ, मुटुरोग विशेषज्ञ, ट्राफिक तथा जनपद प्रहरी तथा सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले फेरी दोहोर्याउँदै प्रश्न गरे, ‘हामी कहाँ चुकिरहेका छौँ ?’
उनले बार्षिक २५ सय बढीको सडक दुर्घटनामा मृत्यु हुने र त्यसमध्ये १ हजार बढी ब्रेन डेथ हुने बताए । आखिर खेर जाने अङ्ग कसैको जीवन बचाउन काम लाग्छ भने त्यसो किन नगर्ने भन्दै यस विषयमा व्यापक जनचेतनाको खाँचो आवश्यक रहेको बताए ।
सो अवसरमा उनले अङ्ग प्रत्यारोपणमा अहिलेको माग र भइरहेको आपूर्तिबीचको खाड्ल पुर्न के गर्न सकिन्छ भनेर समेत अर्थ्याए ।
कार्यक्रममा वीर त्रिवि शिक्षण, पाटन, गंगालाल, मेडिसिटी, काठमाडौँ मेडिकल कलेज लगायतका विभिन्न अस्पतालका विभागीय प्रमुखहरुको उपस्थिति थियो । यस्तै काठमाडौँ तथा ललितपुर प्रहरी, जिल्ला ट्राफिक प्रहरीबाट समेत प्रतिनिधि आएका थिए ।
उनीहरुले मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्न जनचेतनाको खाचो आवश्यक रहेको समेत बताएका थिए ।
सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्युबाट भएका व्यक्तिको अङ्गबाट हुने र अंग नपाएर अङ्ग प्रत्यारोपण बाट बञ्चित हुने कार्यको अन्त्य हुने विस्वास डा श्रेष्ठले राखे ।
मस्तिष्क मृत्युबाट हुने अङ्ग विरतण पारदर्शी बानाउन नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको भन्दै त्यही अनुसार कार्यान्वयन हुने उनले स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थयकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहित अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा मस्तिष्क मृत्युबाट हुने अङ्गदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि विभिन्न सुझाव प्राप्त भएको र संस्थागत रुपमा नीति बनाइ कायान्वयन गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।
सम्पर्क इमेल : [email protected]