साउन लागेपछि मन्त्रालय र विभागका उच्च अधिकारीहरुको सरुवा गर्दैछु : स्वास्थ्य मन्त्री यादव
काठमाडौँ, १७ असार । स्वास्थ्य मन्त्री प्रदीप यादवले साउन लागेपछि स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारीमा लागेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले अत्यन्तै आवश्यक भएमा बाहेक सबैको एक चरण जिम्मेवारी फेरवदल गर्ने तयारीमा रहेको बताए ।
‘साउनमा व्यापक सरुवा हुँदैछ । मन्त्रालय तथा विभागमा लामो समय एक ठाउँमा रहेकाहरुलाई परिवर्तन गर्दैछु । किनभने एक व्यक्तिलाई मात्रै सधै भरी एक ठाउँमा अवसर दिनु अरुका लागि न्यायसंगत हुँदेन । त्यसैले अत्यावश्यक र नभै नहुने अवस्था बाहेक सबैको जिम्मेवारी परिवर्तन गर्ने हो । अवसर नपाएकाहरुलाई ती ठाउँमा ल्याउने हो । पेरिफेरीमा बसेकाहरुले पनि मन्त्रालय विभाग, महाशाखा र शाखाको नेतृत्व गर्न पाउनु पर्छ भन्ने मेरो स्पष्ट बुझाई हो,’ उनले भने ।
उनले कोहीलाई दोहोरो जिम्मेवारी र कोहीलाई फाजिलमा राख्ने प्रबृत्ति समेत गलत भन्दै त्यसलाई समेत सच्याउने ठोकुवा गरे ।
आफू अप्राविधिक व्यक्ति भएको र प्राविधिक विषय बुझ्न केही समय लाग्ने भएकोले अहिले आफू अध्ययनकै क्रममा रहेको बताए ।
स्वास्थ्यमा दुई जना सचिव सहित छ जना विशिष्ट श्रेणी (सचिव सरह)का कर्मचारी भएकोमा खुशी व्यक्ति गर्दै भन्दै उनीहरुलाई उपयुक्त जिम्मेवारी दिएर स्वास्थ्य क्षेत्र सुधारका काममा अघि बढ्ने बताए । ‘धेरै जना सचिव वा अतिरिक्त सचिव भन्ने कुरा जो छ, यसमा त हामी झन् खुशी छौँ । अब उहाँहरुको अनुभव र विज्ञतालाई प्रयोगमा ल्याउँछु,’ उनले भने ।
उनले आफू आम सर्वसाधारणले सहज रुपमा गुणस्तरीय उपचार पाउनु पर्छ भन्ने मान्यताका साथ अघि बढेको भन्दै निरन्तर अनुगमन गर्ने र समिति बनाई प्रतिवेदन लिने काम त्यसको तयारी भएको बताए ।
सम्पर्क इमेल : [email protected]