ईडीसीडीको ‘ब्रिफिङ’ लिन विभाग पुगे स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, १७ असार । स्वास्थ्य मन्त्री प्रदीप यादव इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ब्रिफिङ लिन आइतबार विहानै स्वास्थ्य सेवा विभाग परिसर टेकु पुगेका छन् । सो क्रममा मन्त्री यादवले महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका थिए ।

मन्त्री यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगतिका साथै कामका दौरानमा आउने चुनौतीहरूको बारेमा जानकारी लिएका थिए । महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्रीलाई जानकारी गराएका थिए ।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने लगायतका कुरा आफ्नो ब्रिफिङमा प्रस्तुत गरेका थिए । ब्रिफिङ पछि मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको पाएको भन्दै महाशाखा र मातहतका शाखाहरूलाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । साथै, उनले डेंगी नियन्त्रण र रोकथाम, हात्तीपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरूबिरुद्ध जारी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिए ।

सो क्रममा मन्त्री यादवले नेपालमा रेबिजविरुद्धको खोप उत्पादनको सम्भाव्यता अध्ययनकालाई अगाडि बढाउने र रोग नियन्त्रण, रोकथाम तथा अन्य गतिविधिहरूको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औल्याए ।

छलफलमा मन्त्रालयका सचिव हरि प्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता मिश्रालगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *