अफ द विट : 'बा'का कुरा

मुस्ताङ देखि बटौलीको नुन यात्रा

हाम्रो बुबा विष्णुप्रसाद गौतम अहिले ८७ बर्ष पुग्नु भयो । बुबाको पालामा परिवेश कस्तो थियो ? दैनिक जीवन कसरी चल्दथ्यो ? नुन लिनका लागि कैयौँ दिन लगाएर गरिएका भोटको यात्रा, पछि पछि हुन थालेका बटौलीको यात्रा अहिले सुन्दा साच्चिकै कथा जस्तो लाग्छ । यसै सन्दर्भमा बुबाले हामीसंग गरेका केही कुराहरु यहाँ प्रस्तुत गर्न चाहन्छु । उहाँकै शब्दमा  – डा.  झलक गौतम

– डा. झलक गौतम

त्यसबेला मेरो उमेर १६/१७ मा थियो । सर्लक्क बढेको, हेर्दै खाइलाग्दो शरीर । लाहुरेहरु मलाई शरीर हेर्दा त आर्मीमा भर्ती होला जस्तो छ भन्थे । तर बा आमा भने छोराले बटौली र भोटबाट छिट्टै नुन ल्याउने भयो भन्नुहुन्थ्यो ।

विसं २०१३ सालको मंसिरको कुरा थियो, बाले मलाई नुन ल्याउन भनेर मुस्ताङको घाँसातिर लिएर जानुभयो ।

बासंग  अन्न बोकेर मुस्ताङ गइयो, तीन दिनमा घाँसा पुगियो । ऊ बेला भोटको नुन ल्याएर वा त्यताका खानीबाट निकालेर थकालीहरुले अन्नसँग साट्दा रहेछन् ।

कोदो र चामलसँग साटेर छ पाथी भोटे नुन पोको पारेर डोकोमा हालियो ।

ऊ बेला नुन अन्न सरी (बराबर) थियो । पछि नुन चामलसरी र कोदोको आधा दिइन्थ्यो ।

कालीगण्डकीको किनार भिरको बाटो हिँड्दै बास बस्दै चार दिनमा घर फकियौं । सात दिनको यात्रामा बाटोमा गलगाँड भएका मान्छेहरु प्रशस्तै देखिन्थे ।

भारी बोकेर ओरालो भर्दा खुट्टा काँपे, घर आइपुग्दा सुन्निए । म ‘पन्थे’ थिएँ अर्थात त्यो बाटोमा पहिलो पटक हिंड्ने  नयाँ मान्छे । पन्थेलाई अगुवाले ठाउँ चिनाईदिन्थे ।  पन्थेले उसलाई दस्तुरस्वरुप खाना खुवाउने आदि गर्नु पर्दथ्यो ।  मैले पन्थे दस्तुर स्वरुप एक मोहरको सिगरेट किनेर दिएको थिएँ ।

विसं २०१६ सम्म भोटे नुन लिन गएँ । अन्तिम पटक घाँसा मुनि कोउचे पुगेर ल्याएँ ।

त्यसबेलादेखि टुकुचे मुनिका मान्छेहरुलाई भोटे नुन नदिने कुरा आयो । फेरि भोटतिरभन्दा बटौलीमा नुन सस्तो पर्ने भयो ।

विसं २०१७ को हिउँदमा आयो । फेरि नुन, तेल, कपडा त वर्ष भरलाई चाहियो ।

त्यस वर्ष भने हामी गाउँलेहरुले बाटो बदल्यौँ ।

तत्कालीन कास्की अन्तर्गत पर्ने हाम्रो गाउँ राम्जा वरपरका दाजुभाई, आफन्तको १७/१८ जनाको हुल नुन लिन बटौली जाने भयो ।

बटौलीभन्दा घाँसातिर जान नजिक थियो तर भोटतिर नुन नदिने, कोदो पनि दोब्बर लिने र बटौलीमा सस्तो पर्ने भएपछि गाउँलेहरुले बटौली जाने निधो गरे ।

म घाँसा पुगेर नुनको भारी बोकिसकेको थिएँ । अब पालो आयो बटौली जाने । हुलमा म पनि मिसिएँ ।

राम्जाबाट विहानै हिडियो । पहिलो दिन  स्याङ्जाको सतौं फाँटमा बास बस्न पुगियो ।  दोस्रो रात खयरबास, तेस्रो दिन पाल्पाको प्रबासमा बास बसेर चौंथो दिन बटौली बजार पुगियो ।

ढाक्रेहरु बाटोमा रहेका ठूलाठूला समीका रुख, वरपिपलका चौतारी, बाँसघारी मुनि पानी पाइने ठाउँमा बास बस्नुपथ्र्याे । होटल थिएनन्, त्यत्रा ढाक्रे बास बस्न पुग्ने घर धन्सार, पौवा पनि हुँदैनथे । बाटोघाटो साँघुरा थिए ।

त्यो वर्ष बटौली र वरपर हैजा र टाइफाइड फैलिएको रहेछ ।

पाल्पाको माडीमा पुग्दा ढाक्रे, बटुवा सबैलाई भेला पारेर टाइफाइड र हैजाको खोप दिइँदै रहेछ ।

समातेर पाखुरामा खोप लगाइदिए । मलाई त खोपाएको पाखुरामा दुख्यो अरु केही भएन, बटौली पुगेपछि बा र कान्छाबालाई हन्हनी ज्वरो आयो ।

उहाँहरु आत्तिनुभयो ।

केही वर्ष अगाडि गाउँँकै एकजना आफन्त यसरी नै नुन लिन बटौली जाँदा हैजा लागेर बाटोमैं बितेका थिए । बाटोमै खाल्डो खनेर पुरी सत्गत् गरी सहयात्री ढाक्रेहरु फर्किनुपरेको सम्झना बाहरुलाई ताजै थियो ।

घर छाडेको पाँचौ दिन बटौलीमा किनमेल थालियो । मेरो भागमा नुन पर्‍यो । ११ पाथी नुनको भारी भयो । त्यतिखेर नुनको भाउ एक रुपियाँ पाथी थियो ।

बाले एक टिन मट्टीतेल, ११ जना परिबारका लागि वर्षभरको कपडा, मरमसला पोको पारेर आफ्नो भारी तयार पार्नुभयो । एक टिन मट्टीतेलको भाऊ १४ रुपियाँ थियो ।

घरबाट लगिएको बाटोमा खाने चामल, खट्टे, गुन्द्रुक, पिंडालु, खापे घिउ, पकाउने खाने भाँडाकुँडा र ओढ्ने ओछ्याउने कम्बल बाकै भारीमा परे ।

बटौलीमा चारैतिरका ढाक्रे जम्मा हुन्थे । पहाडबाट लगिएको टिनका टिन घिउ बेच्नेको ताँती हुन्थ्यो । पहाडी गाउँतिरबाट घिउमात्र होइन चामल बेच्न लगिन्थ्यो ।

पाल्पामा त पहाडको चामल खरिदबिक्री अखडा नै थियो । चामल घिउ बेचेको पैसाले नुनतेल, कपडा किन्ने हो ।

चौर, खोला किनार, रुखका फेदमा राति उज्याला बत्ती (लालटीन, मेन्टोल) बालिएका हुन्थे । त्यतिखेर चर्पीको कल्पनै थिएन, तिनाउलगायत खोलाका किनार, बाटोको छेउकुनामा मानिसहरुले दिसापिसाव गरेर फोहोर हुन्थ्यो ।

छैटौं दिन बटौलीबाट भारी बोकेर घर तिर फर्क्यौं । ठुली उकाली सानी उकाली, स्याङ्जाको राम्दी, गल्याङ, भुभ्रे, सेतीदोभान आँधीखोला हुँदै एघारौं दिनमा घर पुगियो ।

बाटोमा भारी बोकेर हिंड्दा खुट्टा सुन्निने, पिठ्युँको छाला खुइलिने, पैतालामा फोका उठ्ने, ओरालामा खुट्टा थरथरी काँप्ने जस्ता समस्या त सामान्य नै हुन्थे । औलो, हैजाबाट जोगिन पाउनु नै ठूलो कुरा थियो ।

ढाक्रेमध्ये कुनै बिरामी परे उसको भारी अरुले खापेर हिड्नु पर्दथ्यो ।

बटौलीको नुन खान थालेपछि स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङतिरका मान्छेमा गलगाँड कम देखिन थाल्यो ।

बटौली जाँदा वा फर्किंदा सकेसम्म पाल्पा प्रवासमा बास बस्न हुँदैन भन्थे । त्यहाँ बसे औल लाग्छ भन्थे । त्यहाँ बस्दा ज्वरो आयो भने चिराइतो र तितेपाती उमालेर पिइयो भने ज्वरो घट्छ भन्थे ।

बटौलीबाट एघार पाथी नुन बोकेर ल्याउनसक्ने भएपछि अब परिवारको भार पनि बोक्नसक्छु जस्तो लाग्यो ।

आमा बिरामी हुनुहुन्थ्यो, बाथरोगका कारण हातखुट्टा चल्दैनथे । बलियो छोरो देखेपछि बालाई पनि ढुक्क भयो ।

मान्छे र बस्तुभाउले पानी खोने एउटै खोबिल्टो थियो, खेतबारीमा मल, उब्जनी र घाँसका भारी बोक्दा कान्लामा उक्लने ओर्लने बाटो/खट्केरी थिएनन् । गाउँको कुवा, बाटो चौतारीहरु बनाउन अग्रसर हुन थालें । डकर्मी सिप त्यही बेला बाहरुबाट सिकें ।

बटौलीबाट नुन बोकेर ठम्ठम्ती हिंडेको देखेर नै यत्तिको केटाले बहिनी पाल्नसक्छ भनेर मलाई जेठानले बहिनी दिन राजेका रहेछन् । नुनको भारी बोक्दा थाहै नपाई बिहे भएको हो मेरो ।

८७ वर्षीय विष्णुप्रसाद गौतम श्रीमतीका साथमा

आजभोलि गाउँगाउँमा अस्पतालहरु, मोटरबाटो पुग्यो, घरघरमा बिजुली बत्ति पुग्यो । अब दाउरा बालेर वा मट्टीतेलको टुकी बालेर उज्यालो बनाउन पर्दैन । ग्यास र विजुलीबाट खाना पकाउन सकिन्छ । आँगनमा पानीको धारा खस्छन् । भान्छामा कराही बसालेर भुटुन किन्न जान सकिनेगरी पसल सुविधा छन् । हातहातमा मोबाइल छन् । यस्तो सुविधा पाइने भएपछि गाउँघर रमाइला हुनुपर्ने हो तर गाउँमा पिंढीमा बसेर आफ्ना दुःख सुखका बातमार्ने मान्छे छैन ।

हामीले बनाएका चौतारीमा बस्ने मान्छे छैनन् । वन,वल्लोपल्लो गाउँ जाने बाटोहरु झाडीले ढाकिएका छन् । उतिखेर हाम्रो कल्पनामैं नरहेको विकास र सुविधा गाउँमा पुग्यो तर युवा शहर वा विदेशतिर पुगेका छन् ।

हामीले बैंशमा सिंगारेको गाउँघर बुढाबुढी हुँदा सम्हालिदिने कोही नपाउँदा भक्कानिनुपरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *