क्यान्सर स्क्रिनिङ कार्यक्रमको ‘गियर’ बदल्ने बेला भएन ?
हेटौँडा, १४ असार । दीगो विकासको लक्ष्य अनुसार नेपालले सन २०३० सम्म पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ ९० प्रतिशत महिलाहरुमा पुर्याउनु पर्ने छ । अबको एक वर्षसम्ममा यो लक्ष्य ६३ प्रतिशतमा पुर्याउनु पर्छ तर सन् २०२२ को अन्त्यसम्मको नतिजाले हाम्रो प्रगति ११.४ प्रतिशत मै सिमित देखिएको छ ।
लक्ष्य र प्रगति अपेक्षाकृत बढ्न नसकि रहेको बेला सरकारले भने पछिल्ला बर्षहरुका नीति तथा कार्यक्रम र बजेटमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रम तथा ९ देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई दिईने यसविरुद्धको एचपीभी खोप दिने योजनालाई प्राथमिकतामा नै राखेको बताएको छ ।
सञ्जीवनी हेल्थ मिडियाले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा बिहिबार यिनै विषयमा केन्द्रीत रहेर स्थानीय पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा खगेश्वर गेलालले पाठेघर र मुखको क्यान्सरको अवस्था, नियन्त्रणका लागि गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयास र सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारेमा बताएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालय बागमतीका बरिष्ठ जनस्वास्थ्य अधिकृत सतिश विष्ट र अस्पताल नर्सिङ प्रशासक सजना शाखले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको अवस्था, रोग लाग्न नदिनका लागि अपनाउनु पर्ने सावधानी, लक्षणहरुका बारेमा सञ्चारकर्मीलाई प्रस्तुति दिएका थिए । कार्यक्रममा विष्टले दीगो विकास लक्ष्य भेट्टाउनका लागि स्क्रिनिङ गतिको गियर बदल्नु पर्ने बताए । कहाँ निर ग्याप देखिएको छ र राज्यले के के गर्नुपर्छ भनेर मिडियाले पनि निरन्तर झक्झक्याउनु पर्ने बताए ।
यस्तै कार्यक्रममा अस्पताल नर्सिङ प्रशासक शाखले यसअघि नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा भए पनि पछिल्लो समय स्तन क्यान्सर अगाडी देखिएको जानकारी दिईन् । उनले चालु आर्थिक बर्षमा बागमतीमा २०.५ प्रतिशतमा पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको समेत बताईन् ।
कार्यक्रममा नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले नसर्ने रोग र त्यसमा पनि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर न्युनिकरणका लागि सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाको बारेमा प्रस्तुति दिएका थिए । उनले स्थानीय तहका सञ्चारकर्मीहरुले एउटै बिटमा रहेर समाचार लेख्ने सुविधा नभएको भन्दै स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्न स्थानीय तथा प्रदेश तहका स्वास्थ्यका निकायले समेत सञ्चारकर्मीलाई प्रशिक्षण दिनु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले स्वास्थ्यका विषयमा अन्तर्क्रिया गर्न पाउनु स्थानीय पत्रकारका लागि खुशीको कुरा रहेको भन्दै यस्ता विषयमा थप अभिमुखीकरण र तालीमको जरुरी रहेको बताए । उनले स्वास्थ्य विषयमा कलम चलाउँदा सञ्चारकर्मी बढो सम्वेदनशील हुनु पर्नेमा जोड दिए ।
सम्पर्क इमेल : [email protected]