‘विहेबारी २० वर्ष पारी, तोडेमा नियम होला है भारी’
धादिङ १३ असार । मोफसलका सञ्चारकर्मीहरुलाई एउटै बिटमा केन्द्रीत रहेर रिपोर्टिङ गर्ने सुविधा अहिलेसम्म प्राय देखिएको छैन ।उनीहरुले स्वास्थ्य देखि शिक्षा, राजनीति देखि अर्थ लगायतका धेरै विषयहरुको उसै गरी रिपोर्टिङ गर्नु पर्छ ।
सञ्जीवनी हेल्थ मिडिया प्रालिले यसपटक धादिङका सञ्चारकर्मीसंग स्वास्थ्यका विषय संगसंगै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरमा केन्द्रीत रहेर अन्तक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा मुख्य विषयबस्तुमा विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्यकर्मीले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विषयबस्तुमा प्रवेश गराउने क्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिभुकुमार झाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जोखिम, कारक र नियन्त्रणका उपायबारेमा बताएका थिए । प्रस्तुतिकै क्रममा उनले भने ‘सरकारले विहेबारी २० वर्ष पारी भन्न थालेको वर्षौ भईसक्यो तर कुल गर्भवतीमध्ये करीव १४ प्रतिशत गर्भवती किशोरावस्तामै हुँदा रहेछन् । यसको प्रत्यक्ष अप्रत्यक्ष असर प्रजनन स्वास्थ्यमा त हुन्छ नै कहिलेकाँही जटिल रुप लिँदा पाठेघरको मुखको क्यान्सर समेत भईदिन्छ ।’
संगै उनले स्तन क्यान्सरको कारक तत्व र बच्ने उपायबारे समेत बताएका थिए ।
झाले यी दुई क्यान्सरको न्युनिकरणका लागि सञ्चारमाध्यमले खेल्न सक्ने सकारात्मक भूमिकाबारे समेत बताएका थिए ।
सोही कार्यक्रममा धादिङ अस्पतालका एमडीजीपी डाक्टर दिनेश रेग्मीले उपचारात्मक कोणबाट आफ्नो प्रस्तुति दिएका थिए । उनले कुन अवस्था पत्ता लाग्दा के के उपचार हुन सक्छ ? कस्तो लक्षण देखियो भने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हो कि भनेर शंका गर्ने ? यस्तो रोग लाग्न नदिनका लागि उपायहरु के के हुन सक्छन् भन्नेबारेमा समेत बताएका थिए ।
हुन पनि नेपालमा प्रत्येक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको सरकारको तथ्यांक छ । यस्तै यहि रोगको कारण प्रत्येक दिन करीव ४ जनाको ज्यान जाने गरेको छ ।
कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक उपचार सेवा केन्द्रका प्रमुख डा अमूल्य दाहालले खानपान जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोगको जोखिम बढेको भन्दै यसतर्फ प्रत्येक व्यक्तिले ध्यान दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद रिजालले स्थानीय तहले गरेका क्यान्सर स्क्रिनिङ, रोकथाम र उपचारमा गरेका कामबारे जानकारी दिएका थिए ।
यस्तै नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले नसर्ने रोगको जोखिमको अवस्था, स्वास्थ्य सचेतनामा पत्रकारहरुले खेल्न सक्ने र खेल्न पर्ने भूमिकाबारे चर्चा गरेका थिए ।
सो अवसरमा स्थानीय पत्रकारहरुले स्वास्थ्यका विषयलाई आफूहरुले उठाइरहेको बताउँदै स्वास्थ्य पत्रकारिता तालीमको आवश्यकता रहेको बताए । उनीहरुले आफूहरुले जिल्लाबाट सबै विटका समाचार लेख्नुपर्ने बाध्यता रहेको भन्दै स्वास्थ्यमा मात्रै फोकस हुन नसकेको बताएका थिए ।
यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुन सक्छ
- महिनावारीको बीचमा वा महिनावारी रोकिईसकेको महिलाहरुमा फाटफुट रुपमा योनिबाट रगत देखिनु ।
- यौन सम्पक गर्दा दुख्नु, रगत देखिनु ।
- तौल घट्दै जानु ।
- क्यान्सर अरु अंगमा फैलिएको अवस्थामा फैलिएको अंग अनुसार लक्षण देखिन्छ जस्तै , खुट्टा सुन्निनु, ढाड कम्मर दुख्नु, खोकी लाग्नु ।
सम्पर्क इमेल : [email protected]