`नियन्त्रण गर्न सकिने क्यान्सर कसरी अनियन्त्रित हुँदैछ ?´

नुवाकोट, १२ असार । नेपालका महिलाहरुमा देखिने क्यान्सरको तथ्यांक हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ । दोस्रो नम्बरमा आउँछ स्तन क्यान्सर ।

अनि, यी दुबै क्यान्सरबाट संक्रमित हुनेहरुको संख्या बर्षेनी बढ्दो छ । बढ्दो मात्रै होइन, नेपालमा यसको मृत्युदर समेत भयावह छ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने बानी नभएको र रोग लागेको थाहा पाउँदा धेरै ढिला भईसक्ने भएकोले मृत्युदर बढी भएको विज्ञहरु बताउँछन् । उनीहरु भन्छन्, `यी दुबै क्यान्सरहरु नियन्त्रण गर्न सकिने क्यान्सर हुन् तर व्यक्ति तथा परिवारले यसबारेमा ध्यान नपुरयाँउदा अवस्था भयावह बनेको हो ।´

हुन पनि समयमै पत्ता लागेर उपचार गर्दा सहज रुपमा निको हुने यी क्यान्सरहरु ढिलो पत्ता लागेकै कारण नियन्त्रण बाहिर गएको छ ।

यही विषयमा केन्द्रीत रही सञ्जीवनी हेल्थ मिडिया प्रालिले मंगलबार नुवाकोटका स्थानीय पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना  छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा विषयबस्तुको महत्व बुझाउँदै पत्रकारहरूलाई क्यान्सरबारेको स्वास्थ्य सचेतनामा लाग्न आग्रह गरियो ।

कार्यक्रममा त्रिशुली अस्पतालका निमित्त मेसु डा. राजेन्द्र लामाले स्तन क्यान्सरबारे प्रस्तुति गर्दै यसको उपचारात्मक उपायबारेमा बताएका थिए । सो क्रममा उनले स्तन तथा पाठेघरको मुखको क्यान्सरको लक्षण, लाग्न नदिन के के गर्ने ? लागि हालेपछि उपचार प्रक्रियाका लागि कहाँ कसरी को संग जाने भन्ने बारेमा प्रस्तुतिकरण गर्दै बृस्तित रुपमा जानकारी दिएका थिए ।

त्यसअघि जनस्वास्थ्य कार्यालय नुवाकोटकी जनस्वास्थ्य अधिकृत समिक्षा बरालले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको बारेमा निरोधात्मक कोणबाट आफ्नो प्रस्तुति दिएकी थिईन् ।

यी दुई क्यान्सरको विश्वव्यापी अवस्था के छ ? नेपालमा के छ ? कुन अवस्थामा जोखिम बढी हुन्छ ? कसरी जाँच गर्ने कहाँ गएर जाँच गर्ने लगायतका विषयमा उनले प्रस्तुति दिएकी थिईन् । उनले स्वास्थ्य सचेतनामा सञ्चार माध्यमको भूमिका ठूलो हुने भन्दै स्वस्थ समाज निर्माणका लागि पनि सञ्चारमाध्यमले विशेष अग्रसरता लिनु पर्ने बताईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुब रावलले स्वास्थ्य बढो संवेदनशील विषय भएको र यसमा पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण हुने भन्दै स्थानीय पत्रकारहरुलाई स्वास्थ्यका विषयमा समाचार लेख्न शीप मुलक तालीमको जरुरी भएको औल्याए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार एवं नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारिता संगै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर न्युनिकरणमा सञ्चारमाध्यमको भूमिकाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा स्थानीय पत्रकारहरुले स्वास्थ्य पत्रकारिताका महत्वपूर्ण विट बन्दै गईरहेकोले यसको प्राविधिक पक्षलाई समेत समेटने गरी पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिताको तालीमको व्यवस्था गर्नुपर्ने माग समेत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *