भ्रष्ट्राचारको अभियोगमा मुख्य सचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्धा दर्ता

 

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियारले आज उनीहरु विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो मागदाबी गरेको छ। उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारले माग गरेको छ।

मुद्धा दर्ता भएका अन्य अधिकारीहरुमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही छन् ।

यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मा लगायतविरूद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले दर्ता गरेको अभियोग अनुसार बिगो रकमको २० प्रतिशत भुक्तानी भइसकेको थियो। मुख्यसचिव लगायत केही व्यक्तिहरूलाई पूरै बिगो असुलसहितको मागदाबी गरी मुद्दा दर्ता भएको प्रबक्ता नरहरि घिमिरेले बताए ।

मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल निलम्बनमा परेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्धा दायर भए लगत्तै उनी स्वत निलम्बनमा परेका हुन्। अवकाश हुन तीन दिन बाँकी रहँदा उनलाई ३२ जेठ २०८० का दिन बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिव पदमा नियुक्त गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *